
मनीष डाँगीको उत्कृष्ट फिनिसिङमा लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप २०२६ को एसियातर्फ छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ।
लाओसको घरेलु मैदानमा खेलको ५३औँ मिनेटमा अञ्जन विष्टको असिस्टमा मनीषले सानदार फिनिसिङ दिए।
यसअघि गत साता काठमाडौंमा भएको पहिलो लेगमा १–१ को बराबरी खेलेको नेपाल समग्रमा २–१ को जितका साथ दोस्रो चरणमा प्रवेश गरेको हो।
अब नेपालले अब दोस्रो चरणमा युएई, बहराइन र यमनको समूहमा प्रतिस्पर्धा गर्नेछ। यस समूहमा युएई, बहराइन र यमनसँग होम एन्ड अवे गरी नेपालले ६ खेल खेल्न पाउनेछ। यसअघि नै भएको दोस्रो चरणको ‘ड्र’ मा यसै समूहमा युएई र बहराइन थिए। यमनले श्रीलंकालाई समग्रमा ४–१ ले पराजित गर्दै दोस्रो चरणमा पुगेको हो।
लाओसको घरेलु मैदानमा मंगलबार नेपालले पहिलो हाफमा सुस्त प्रदर्शन गरेको थियो। मध्यान्तरपछि खेलमा सुधार गर्दै नेपालले लाओसमाथि दबाब राख्यो। नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले दोस्रो लेगमा तीन खेलाडी परिवर्तन गरेका थिए।
पहिलो हाफको अन्त्यतिर नेपालले अग्रता लिने अर्को अवसर गुमाएको थियो। दिनेशको क्रसमा अनन्त तामाङले गरेको प्रहार पोस्टको ६ यार्ड बक्सभित्र अन्य नेपाली खेलाडीले छुन सकेनन्।