
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सेवाग्राहीका लागि मुख्य राजमार्गदेखि कार्यालयसम्म पुग्नका लागि निःशुल्क अटोरिक्सा सञ्चालनमा ल्याएको छ।
नगरपालिकाले सिद्धार्थ राजमार्गको शंकपुरदेखि तिलोत्तमा नगरपालिकाको कार्यालयसम्म आउने–जाने सेवाग्राहीहरूका लागि सोमबारदेखि निःशुल्क अल्टो रिक्सा सञ्चालनमा ल्याएको हो।
नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले अटोरिक्साचालक इन्द्रकला श्रेष्ठलाई चाबी हस्तारन्तरण गरेर सो कार्यको शुभारम्भ गरेका हुन्। कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले नगरवासीलाई सहज सेवा दिन निःशुल्क अटोरिक्सा सञ्चालन गरिएको बताए।
नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिकाले नगरवासीहरूका लागि प्रदान गर्ने सेवा सहज होस् भन्नेतर्फ ध्यान दिँदै अगाडि बढ्ने धारणा राखेका थिए। अटोरिक्सा सिट भरिएपछि वा ढिलोमा १५ मिनेटमा सञ्चालन हुने बताइएको छ।