
नियमित दाँत माझ्ने : बच्चालाई नियमित रूपमा कम्तीमा दुईपटक दाँत माझ्न लगाउनुपर्छ । फ्लोराइडयुक्त मञ्जन मात्रै प्रयोग गर्नुपर्छ । बच्चाले नरम खाले ब्रस प्रयोग गर्नु राम्रो हुन्छ । जबसम्म बच्चाले राम्ररी दाँत माझ्न सिक्दैनन्, त्यतिवेलासम्म उनीहरूलाई अभिभावकले आफ्नो निगरानीमा राखेर दाँत माझ्न लगाउनुपर्छ । ६–७ वर्ष पुगेपछि उनीहरूले आफैँ दाँत माझ्न सिक्छन् ।
दैनिक कुल्ला गर्ने : बच्चालाई दिनमा कम्तीमा एकपटक कुल्ला गर्न लगाउनुपर्छ । राम्ररी कुल्ला गर्दा दाँत र गिजामा अड्किएका खानाका टुक्राहरू बाहिर निस्कन्छन् । ब्रस नपुग्ने ठाउँ पनि सफा हुन्छ ।
सन्तुलित आहार : फलफूल, दूधजन्य पदार्थ, हरियो सागसब्जी, अन्नलगायत क्याल्सियमयुक्त खानपानले दाँत बलियो बनाउँछ । चिनी धेरै भएका खानेकुरा कम खानुपर्छ । बच्चालाई पनि बजारमा पाइने जंकफुड र गुलिया खानेकुराबाट टाढा राख्नुपर्छ । उनीहरूलाई पानी प्रशस्तै पिउन दिनुपर्छ ।
चेकजाँच : कम्तीमा ६ महिनामा एकपटक बच्चालाई दन्तचिकित्सककहाँ चेकजाँचका लागि लैजानुस् । दाँतसम्बन्धी समस्यालाई जति चाँडो पहिचान गर्न सक्यो, उति नै चाँडो उपचार सम्भव हुन्छ ।
उदाहरण बन्नुस् : बच्चाले आफ्ना आमा–बुबाबाट धेरै सिकिरहेका हुन्छन् । त्यसैले उनीहरूको राम्रो रोलमोडल बन्नुस् । दाँत सफा राख्ने विधिबारे उनीहरूलाई बुझाउनुस् । उनीहरूसँगै बसेर दाँत माझ्नुस् । यसले बच्चासँगको तपाईंको सम्बन्धलाई पनि थप सुदृढ राख्छ ।