१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २३ मंगलबार
  • Sunday, 11 May, 2025
टेकराज थामी काठमाडाैं
२o८o असोज २३ मंगलबार o६:११:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

देउराली सहकारीपीडितको सिआइबीमा घुइँचो : २० हजार सर्वसाधारणको एक अर्ब हिनामिना 

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज २३ मंगलबार o६:११:oo

महाराजगन्जस्थित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा देउराली सहकारीविरुद्ध उजुरी दिन भेला भएका सर्वसाधारण । निक्षेपकर्ताको जाहेरीपछि सिआइबीले सहकारीको अध्यक्ष रवीन्द्र चौलागाईंलाई पाँच दिनअघि नै पक्राउ गरेको छ । तर, हालसम्म उनको नाममा रहेको सम्पत्तिको कुनै विवरण फेला परेको छैन । घटनामा संलग्न अन्य अभियुक्त भने फरार रहेको सिआइबीको भनाइ छ । 

मनग्य ब्याज दिने भनेपछि नेपाल प्रहरीका पूर्वएसपी राजेन्द्र थापाले अवकाशपछि प्राप्त भएको सबै रकम लगेर ललितपुर सातदोबाटोस्थित देउराली बहुउद्देश्यीय सहकारीमा जम्मा गरे । सुुरुको केही वर्ष सहकारीले कबुल गरेबमोजिम ब्याज पनि दियो । फुरुंग भएका उनले नजिकका नातेदारलाई समेत रकम सोही सहकारीमा राख्न लगाए । 

तर, पछि सहकारीमा बदमासी यसरी चुलियोे कि निक्षेपकर्ताको ब्याज त के साँवासमेत गुम्ने अवस्था सिर्जना भयो । थापाले सहकारीमा ६० लाख रुपैयाँ जम्मा गरेका थिए । अहिले उनको सबै रकम गुम्ने अवस्थामा पुगेको छ । 

महाराजगन्जस्थित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को कार्यालयमा उजुरी गर्न पुगेका थापा ब्युरो प्रमुख एआइजी किरण बज्राचार्यसँग भन्दै थिए, ‘मनग्य ब्याज दिन्छु भन्यो । जागिरबाट अवकाश भएपछि प्राप्त भएको सबै रकम लगेर सहकारीमा राखेँ । सुरुमा ब्याज पनि दियो । अहिले चुर्लुम्म डुबाइदियो ।’

ललितपुर मनपा–८ का मीनबहादुर थापाले हार्डवेयर पसलबाट कमाएको ५० लाख रुपैयाँ देउराली बहुउद्देश्यीय सहकारीमा जम्मा गरेका थिए । उनलाई सहकारीले १८ प्रतिशत ब्याज दिने प्रलोभन दिएको थियो । सुरुको केही महिना उनले सोही दरमा ब्याज पनि पाए । हौसिएका उनले नजिकका छिमेकीलाई पनि सोही सहकारीमा लगेर रकम जम्मा गर्न भने । 

जाहेरी दिन सिआइबी कार्यालय पुगेका उनले नयाँ पत्रिकासँग भने, ‘मनग्य ब्याज पाउने प्रलोभनमा म फसेँ । भएभरको सबै रकम लगेर सहकारीमा राखेँ । केही महिना त ब्याज प्राप्त भयो । तर, पछि न ब्याज दियो, न सावाँ रकम नै । केही राहत होला कि भनेर जाहेरी बोकेर प्रहरीकहाँ आइपुगेको छु । अब के हुन्छ थाहा छैन ।’

प्युठान जिम्रुक गाउँपालिका–२ की सीता जिसीले पनि ब्याजको लोभमा देउराली सहकारीमा १० लाख रुपैयाँ लगेर राखिन् । वैदेशिक रोजगारीमा गएका भाइसँग ऋण लिएर उनले सहकारीमा उक्त रकम लगेर राखेकी थिइन् । तर, सहकारीका पदाधिकारीले गरेको चरम बदमासीले उनको पनि रकम डुब्न पुग्यो । 

‘१८ प्रतिशत ब्याज दिन्छु भन्यो । वैदेशिक रोजगारीमा गएको भाइसँग ऋण लिएर सहकारीमा १० लाख रुपैयाँ राखेँ । केही महिना ब्याज पनि दियो । तर, पछि न ब्याज पाएँ, न सावाँ नै,’ सिआइबी कार्यालयमै भेटिएकी जिसीले भनिन्, ‘सहकारीका पदाधिकारीबाट भएको बदमासीले म डुबेँ ।’

सिआइबीका अनुसार सहकारीमा २० हजारभन्दा धेरै निक्षेपकर्ताको खाता छ । उनीहरूले एक अर्ब रुपैयाँभन्दा धेरै रकम जम्मा गरेका थिए । उक्त सबै रकम हिनामिना भएको सिआइबीको भनाइ छ । जसमध्ये ११ वटा निवेदनमा करिब सय निक्षेपकर्ताले ११ करोड रुपैयाँ बिगोदाबी गर्दै जाहेरी दिएको सिआइबीका एसएसपी दिनेश आचार्यले बताए । 

‘देउराली बहुउद्देश्यीय सहकारीका पीडितबाट जाहेरी आउने क्रम जारी छ । हालसम्म ११ वटा निवेदन परेका छन् । जसमा पीडित हुनेहरूको संख्या ठूलो छ । अहिलेसम्म करिब ११ करोड रुपैयाँको बिगोदाबी पेस भएको छ । जाहेरी आउने क्रम जारी छ । त्योसँगै बिगोदाबी पनि बढ्दै जाला,’ एसएसपी आचार्यले भने ।

सिआइबीका अनुसार ठगीका मुख्य नाइके काभ्रे चौरी–देउराली गाउँपालिका–६ का ३८ वर्षीय रवीन्द्र चौलागार्इं हुन् । उनी सहकारीको अध्यक्षसमेत हुन् । उनकै योजनामा सहकारीले भक्तपुरको सूर्यविनायक र काठमाडौंको न्युरोडमा शाखा कार्यालय विस्तार गरेको थियो । प्रत्येक शाखा कार्यालयबाट अनेक आश्वासन बाँडेर निक्षेपकर्ताबाट रकम संकलन भएको थियो । 

संकलित रकम अध्यक्ष चौलागाईंले जग्गामा लगानी गरेका थिए । सोही जग्गा विभिन्न बैंकमा राखेर पाँच अर्ब रुपैयाँभन्दा धेरै ऋण लिएका थिए । ऋण लिएको सबै रकम उनले अपचलन गरेको प्रहरीले जनाएको छ । उनलाई यो धन्दामा सघाउने काम भने सहकारीमातहत शिक्षा उपसमितिकी संयोजक ३६ वर्षीया पूजा खत्री, सचिव ३५ वर्षीय महेश देउला, कोषाध्यक्ष ३४ वर्षीय मनोज भण्डारी, सदस्यहरू ३८ वर्षीय मनोहर बस्नेत, ६५ वर्षीय आशालाल महर्जन, ४५ वर्षीय सुमन महर्जन र ऋण उपसमितिको संयोजक राजेन्द्र खत्रीले गरेको पीडितहरूको भनाइ छ । 

‘यिनीहरूले निक्षेपकर्ताको एक अर्बभन्दा धेरै रकम संकलन गरे । सोही रकमले जग्गा खरिद गरे । जग्गा बैंकमा राखे । बैंकबाट पाँच अर्ब रुपैयाँभन्दा धेरै रकम ऋण लिए । ऋणबापतको उक्त रकम यिनीहरूले कहाँ, कसरी खर्च गरे, यसको कुनै विवरण खुल्न सकेको छैन,’ पीडितमध्येका एक ललितपुरका मीनबहादुर थापाले भने ।

निक्षेपकर्ताको जाहेरीपछि सिआइबीले सहकारीको अध्यक्ष चौलागाईंलाई पाँच दिनअघि नै पक्राउ गरेको छ । सिआइबीले घटनाको अनुसन्धान गरेको छ । तर, हालसम्म उनको नाममा रहेको सम्पत्तिको कुनै विवरण फेला परेको छैन । घटनामा संलग्न अन्य अभियुक्त भने फरार रहेको सिआइबीको भनाइ छ । 

सिआइबी स्रोतले भन्यो, ‘यिनीहरूले जनताबाट रकम संकलन गरे । जग्गा खरिद गरे । सोही जग्गा बैंकमा राखेर लोन लिए । तर, लोनबापतको उक्त रकम कहाँ लगानी गरे ? त्यसको विवरण फेला परेको छैन । चौलागार्ईंको नाममा पनि सम्पत्ति रहेको देखिएको छैन । यसैको खोजीमा सिआइबी जुटेको छ । तथ्य पक्कै क्रमशः खुल्दै जाला ।’