उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निजी क्षेत्रको सक्रियताविना आर्थिक विकास सम्भव नभएको बताएका छन्।
शंखमूलस्थित यल दरबारमा शुक्रबार आयोजित ललितपुर उद्योग वाणिज्य संघको ४४औँ वार्षिक साधारणसभामा उनले निजी क्षेत्रको सक्रियता भएको देशमा तीव्र आर्थिक विकास भएको धारणा राख्दै सरकार र निजी क्षेत्रले सहकार्य गरेर जानुको विकल्प नरहेको उल्लेख गरे।
‘सामाजिक उत्तरदायित्वमा ललितपुर उद्योग वाणिज्य संघले पुर्याएको योगदान र खेलेको भूमिकाको प्रशंसा गर्न चाहन्छु। निजी क्षेत्रको सक्रियता भएको देशमा तीव्र आर्थिक विकास भएको छ। निजी क्षेत्रको सक्रियताविना आर्थिक विकास सम्भव छैन। सरकार र निजी क्षेत्र सहकार्य गरेर जानुको विकल्प छैन,’ मन्त्री रिजालले भने।
कार्यक्रममा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले औद्योगिक विकास र हस्तकला क्षेत्रको प्रवर्द्धनका लागि प्रदेश सरकारले आवश्यक काम गरिरहेको बताए।
उनले निजी क्षेत्रलाई बलियो र लगानीमैत्री बनाउने गरी वातावरण तयार गर्नका लागि प्रदेश सरकार नीतिगत तथा कानुनी रूपमा सहयोग गर्न तत्पर रहेको प्रस्ट पारे।