
सार्वजनिक शान्ति विरुद्धको मुद्दामा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासलाई बिहीवार साँझ रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले उनीमाथि बुधवार सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता गरेको थियो ।
बिहीवार जिल्ला प्रशासन कार्यालय धनुषाले आचार्य श्रीनिवासलाई पाँच सय जरिवाना तिराएर रिहा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन आवले जानकारी दिए । थुनाबाट रिहा भएलगत्तै जानकी मन्दिरका छोटा महन्थ रोशन दाससहितका साधुसन्तहरु आचार्यलाई स्वागत गरि जानकी मन्दिरमा ल्याएका छन् ।
गत असोज १२ गते जनकपुरधाममा निकालिएको एक र्यालीमा धर्मगुरु आचार्यले उत्तेचित अभिव्यक्ति र खुकुरी प्रदर्शन गरेका थिए । सोही घटनालाई लिएर उनी माथि जिल्ला प्रशासन कार्यालय धनुषाले शान्ति सुरक्षा विरुद्धको मुद्दा दर्ता गराएको थियो ।
आचार्यलाई बुधवार नै धनुषा ल्याएको थियो । आचार्यले आवेगमा आफुले यस्तो अभिव्यक्ति दिएको, आफुबाट गल्ती भएको र अब उपरान्त यस्ता अभिव्यक्ति नदिने भनेर प्रहरी समक्ष बयान समेत दिएको प्रहरी नायव उपरीक्षक आवले जानकारी दिए । यता, जनकपुरधामका साधुसन्त समाजले आचार्य श्रीनिवासलाई बिना शर्त रिहाईको माग गर्दै बिहीवार दिउँसो जुलुस प्रदर्शन गरेका थिए ।