
नेपालगन्जमा जारी अनिश्चितकालीन निषेधाज्ञा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्मका लागि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले निषेधाज्ञा खुकुलो गर्ने निर्णयपछि जिल्ला प्रशासन कार्यालय बाँकेले बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म निषेधाज्ञा हटाएको हो ।
बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म भने निषेधाज्ञा जारी रहने बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निषेधाज्ञा हटाइए पनि नेपालन्जको चार किल्लाभित्र सभा, सम्मेलन, प्रदर्शन गर्न र पर्चा, पम्प्लेट छर्न निषेध गरिएको छ ।
सामाजिक तथा धार्मिक सदभाव भड्किने संकेत देखिएपछि बाँके प्रशासनले गत मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा लगाएको थियो । ‘१८ असोज बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म नेपालगन्ज क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाउने र १८ गते साँझ ८ बजेदेखि १९ गते बिहान ६ बजेसम्म निषेधाज्ञा जारी रहनेछ,’ सिडिओ आचार्यले जारी गरेको सूचनामा भनिएको छ, ‘निषेधाज्ञा हटे पनि पाँचजनाभन्दा बढी भेला हुन नपाइने व्यवस्था गरिएको छ ।’ बाँके प्रशासनले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्नका लागि सबैसँग अपिलसमेत गरेको छ ।