१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o८:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेम्वाङले साधारणसभामा अविश्वास प्रस्ताव सामना गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:३४:oo

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङले आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव २३ कात्तिकमा हेटौँडामा हुने साधारणसभामा सामना गर्ने भएका छन् । बुधबार बसेको एन्फाको आपत्कालीन बैठकबाट ४० प्रतिशत सदस्यले नेतृत्वविरुद्ध दिएको अविश्वासको प्रस्ताव विधानसम्मत रहेको जनाउँदै विशेष साधारणसभामा पेस गर्ने निर्णय भएको छ । 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको एन्फाको बैठक विवादमुक्त भने रहन सकेन । बिहान ११ बजे बोलाइएको बैठक २१ सदस्यीय कार्यसमितिका ११ सदस्यले बहिष्कार गरेपछि साढे ४ बजेपछि मात्रै सुरु भयो । अपराह्न ४ बजे सदस्य मनीष जोशी उपस्थित भएपछि संस्थापन पक्षले बैठक अगाडि बढाएको थियो । बिहानदेखि ४ बजेसम्म संस्थापनइतर पक्षलाई बहुमत पुर्‍याउन साथ दिएका जोशी अन्तिममा एन्फा मुख्यालय सुटुक्क पुगेर संस्थापन पक्षमा खुलेका थिए । 

सोही बैठकबाट नेम्वाङले ८६ साधारणसभाका सदस्यमध्ये ४९ सदस्यले २५ भदौमा बुझाएको अविश्वास प्रस्ताव सामना गर्ने निर्णय गरेका हुन् । यद्यपि, ४९ सदस्यले महासचिव राईविरुद्ध पनि बर्खास्तीको प्रस्ताव दर्ता गराएका थिए । पहिलोपटक एन्फामा अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । आपत्कालीन बैठकले महासचिवको बर्खास्ती निर्णय अध्यक्षको प्रस्तावमा मात्रै कार्यसमितिले निर्णय गर्ने अधिकार रहेको ठहर गरेको छ । साथै, महासचिवको बर्खास्ती प्रस्ताव साधारणसभामा पेस हुँदा संघको विधान उल्लंघन हुने दाबी गरेको छ । 

‘४० प्रतिशत सदस्यले अध्यक्ष र महासचिवको बर्खास्तीको प्रस्तावउपर छलफल गर्दा सदस्य संस्थाहरूको मागबमोजिम हेटौँडामा विशेष साधारणसभा आयोजना गरी एक मात्र विषय सूची अध्यक्षको बर्खास्ती सम्बन्धमा निर्णयार्थ पेस गर्ने निर्णय भएको छ,’ एन्फाको निर्णयमा भनिएको छ । ‘महासचिव किरण राईको बर्खास्तीको प्रस्तावका सम्बन्धमा एन्फाको विधानअनुरूप महासचिवको नियुक्ति र बर्खास्तीको सम्बन्धमा अध्यक्षको प्रस्तावमा मात्र कार्यसमितिले निर्णय गर्ने अधिकार क्षेत्रभित्र पर्ने भएको हुँदा महासचिवको बर्खास्तीको प्रस्ताव पेस हुँदा संघको विधान उल्लंघन हुने भएकाले उक्त प्रस्तावलाई विशेष साधारणसभामा प्रस्तुत नगर्ने निर्णय भएको छ,’ एन्फाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि बैठकका लागि बिहान ११ बजे २१ सदस्यीय कार्यसमितिका १० जना एन्फा मुख्यालयमा उपस्थित भएका थिए । तर, बहुमतका लागि एक सदस्य नपुग्दा १ बजेसम्म बैठक बस्न सकेन । यसपछि नेतृत्वले एएफसी फुटसल एसियन कप छनोट खेल्न मंगोलिया प्रस्थान गर्ने टोलीको बिदाई गरेको थियो । बिदाई कार्यक्रम सकिएपछि पुनः नेतृत्वले कोरम पु¥याउन कसरत गरेको हो, जसमा नेतृत्व सफल भयो । बैठकमा अध्यक्ष नेम्वाङसहित दुई उपाध्यक्ष दीपक खतिवडा र दावा लामा तथा सदस्यहरू महेन्द्र क्षेत्री, विकास श्रेष्ठ, पुरुषोत्तम थापा, भरत बुढथापा, टीका लामा, सरिला श्रेष्ठ, दीपेन्द्र धिमाल र जोशी सहभागी भए । 

पहिलोपटक संस्थापन पक्षबाट अलग्गिएका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, दुई उपाध्यक्ष विराटजंग शाही र दीर्घबहादुर केसीसँगै सदस्यहरू रूपेश अधिकारी, रवीन्द्र चन्द, अनिल मल्ल, भोजराज शाही, रमेश व्यञ्जनकार, मणिराज विष्ट र पेमा लामा भने बैठकमा सहभागी भएनन् ।

ad
ad