
सशस्त्र प्रहरी बलले पानी प्रशोधन तथा वितरण स्थल सञ्चालनमा ल्याएको छ । संगठनका कर्मचारीलाई स्वच्छ पानी खुवाउने उद्देश्यसहित आफ्नै प्लान्ट स्थापना गरेको हो । यससँगै सशस्त्र प्रहरीले मुख्यालयका लागि पानी खरिद नगर्ने भएको छ ।
यसअघि प्लास्टिकका बोतल तथा जारमा पानी खरिद गरी आपूर्ति गर्दै आएको थियो । त्यसलाई निरुत्साहित गर्दै पिउनेपानीको गुणस्तरमा शुद्धता एवं विश्वसनीयता र खर्चमा मितव्ययिता कायम गर्ने अभिप्रायले प्रशोधनस्थलको निर्माण गरी प्रयोगमा ल्याइएको सशस्त्र प्रहरी बलले जनाएको छ । प्रशोधन केन्द्रको सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले मंगलबार उद्घाटन गरेका छन् ।
मुख्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई शुद्ध पिउनेपानीको व्यवस्था मिलाउने उद्देश्यले सञ्चालनमा ल्याइएको नवनिर्मित वाटर ट्रिटमेन्ट प्लान्टले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको शुद्ध पिउनेपानी प्रशोधन गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए । प्रतिघन्टा १५ सयदेखि दुई हजार लिटरसम्म पानी शुद्ध पार्ने क्षमता रहेको वाटर ट्रिटमेन्ट प्लान्टको मासिक रूपमा दक्ष प्राविधिकबाट परीक्षण हुने जनाइएको छ ।