
अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)ले वर्तमान समयमा देखिएको आर्थिक शिथिलतालाई सुधार गर्न नेपाल सरकारबाट तत्काल कदम उठाउनुपर्ने बताएको छ । आइएमएफको मुख्यालयबाट टिडिआन किन्दाको नेतृत्वमा नेपाल आएको टोलीले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)सँगको भेटवार्तामा यस्तो बताएका हुन् ।
विश्व अर्थतन्त्रमै शिथिलता छाइरहेको सन्दर्भमा नेपालको अर्थतन्त्रमा पनि संकुचन देखिनु स्वाभाविक भए तापनि सुधारका लागि काम गर्नुपर्ने उनीहरूको भनाइ छ । नेपालजस्तो सुन्दर, प्राकृतिक सम्पदा र युवा जनशक्तिले भरिपूर्ण देशले आर्थिक उन्नतिको लय समात्न नसक्नुका कारण, नेपालले आर्थिक सुधारका लागि तत्काल पहलकदमी लिनुपर्ने मुख्य विषय र साझेदार संस्थाहरूको सम्भावित भूमिकाका विषयमा जिज्ञासा व्यक्त गरेका थिए ।
मिसन टोलीको जिज्ञासा मेट्दै सिबिफिनका अध्यक्ष पवन गोल्यानले नेपालको कृषि, वनपैदावर, ऊर्जा, पयर्टनलगायतका क्षेत्रहरूमा देखिएका अथाह सम्भावनालाई ध्यान दिँदै नेपाल सरकार तथा मातहतका नियामक निकायहरूले मैत्रीपूर्ण नीति र वातावरण बनाई समग्र निजी क्षेत्रमा उत्साह जगाउनुपर्ने बताए । साथै, पुँजीगत खर्च प्रणालीमा व्यापक सुधार गर्नुपर्ने, पूर्वाधारको विकासमा विशेष जोड दिइनुपर्ने, उत्पादनमूलक, रोजगारमूलक र निर्यातमूलक क्षेत्रलाई प्रोत्साहनसहित प्राथमिकता दिइनुपर्ने उनको भनाइ छ ।