१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १२ शुक्रबार
  • Sunday, 11 May, 2025
नवीन अर्याल काठमाडाैं
२o८o असोज १२ शुक्रबार ११:५९:oo
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय उडान ८५ प्रतिशत ‘रिकभर’

कोभिडपछि आन्तरिक उडानतर्फ ‘फ्लाइट मुभमेन्ट’ र यात्रु संख्यामा उत्साहप्रद वृद्धि

Read Time : > 4 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज १२ शुक्रबार ११:५९:oo

विश्वव्यापी फैलिएको कोभिड महामारीले अवरुद्ध बनेको नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क करिब लयमा फर्किएको छ । कोभिडअघि सन् २०१९ को तुलनामा अहिले अन्तर्राष्ट्रिय ‘फ्लाइट मुभमेन्ट’ र यात्रु संख्या करिब ८५–९० प्रतिशतसम्म ‘रिकभर’ भइसकेको त्रिभुवन विमानस्थल कार्यालयको आँकडाले देखाउँछ । आन्तरिकर्फ भने ‘फ्लाइट मुभमेन्ट’ र यात्रुको संख्यामा उत्साहप्रद वृद्धि भएको छ । 

सन् २०२० को सुरुवातमै चीनबाट विश्वव्यापी फैलिन थालेको कोभिड भाइरस मार्चतिर नेपाल भित्रिसककेको थियो । कोभिड संक्रमण फैलिन नदिन भन्दै ११ चैत ०७६ देखि नेपालमा पनि लकडाउन घोषणा गरियो । त्यसपछि नेपालको विश्वभर नियमित (राहत तथा उद्धारबाहेक) हवाई सम्पर्क टुटेको थियो । कोभिडअघि नेपालमा उडान गर्ने अधिकांश अन्तर्राष्ट्रिय वायुसेवाले अहिले उडान सुचारु गरिसकेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले बताए । 
सन् २०१९ मा चार्टरसहित विभिन्न देशका ३६ भन्दा बढी अन्तर्राष्ट्रिय वायुसेवाले नेपालमा उडान गर्न थालेका थिए ।

महामारी कम हुँदै गएपछि अगस्ट २०२३ मा नेपाल उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाको संख्या ३४ नाघिसकेको छ । अन्तर्राष्ट्रिय यात्रु संख्या सन् २०१९ मा ४१ लाख ३९ हजार रहेकोमा सन् २०२३ को पहिलो आठ महिनामा साढे २८ लाख पुगेको छ । ‘कोभिडअघि आन्तरिक र अन्तर्राष्ट्रिय गरी सवा ७३ लाख यात्रु पुगेका थिए, यो वर्ष ८५ लाख पुग्ने अनुमान छ,’ महाप्रबन्धक तिवारीले भने, ‘फ्लाइट मुभमेन्ट र यात्रुहरूको संख्या बढ्दो ट्रेन्डमा छ, अन्तर्राष्ट्रिय वायुसेवाले पनि बिस्तारै उडान बढाउँदै लगिरहेका छन् ।’

नेपालमा उडान सुचारु गरे पनि कतिपय अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले अझै पुरानै संख्यामा उडान पु¥याएका छैनन् । खासगरी चिनियाँ वायुसेवा कम्पनीले अझै उडान फ्रिक्वेन्सी नबढाएको महाप्रबन्धक तिवारीले बताए । अहिले चीनबाट एयर चाइना, चाइना साउदर्न, चाइना इस्टर्न, सिचुवान र टिबेट एयरलाइन्सले नेपाल उडान थालेका छन् । यस्तै, नेपालकै निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पनि चीनका विभिन्न सहरमा उडान सुरु गरेको छ । उनले भने, ‘तर, चिनियाँ वायुसेवाले कोभिडअघिकै संख्यामा उडान भने पु¥याइसकेका छैनन् ।’

कोभिडअघि चीनबाट दैनिक ८–१० वटासम्म उडान हुने गर्थे । अहिले दैनिक तीन–चारवटा मात्र चीन–नेपाल उडान भइरहेका छन् । महामारीपछि चीनले सीमित मात्रामा अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । कोभिडअघि काठमाडौंबाट चीनका विभिन्न सहर हुँदै युरोप अमेरिकासम्म कनेक्टिङ फ्लाइट हुन्थ्यो । जसले गर्दा हवाई भाडा पनि तुलनात्मक रूपमा सस्तो हुने गथ्र्यो । अहिले चिनियाँ उडान कम हुँदा अन्तर्राष्ट्रिय हवाई भाडासमेत महँगो भएको ट्राभल व्यवसायीको भनाइ छ ।

नेपालमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय उडान हुने भारतबाट हो । भारततर्फको फ्लाइट मुभमेन्ट र यात्रु संख्या करिब पुरानै अवस्थामा फर्किसकेको त्रिभुवन विमानस्थलको तथ्यांकले देखाउँछ । भारतबाट एयर इन्डिया, इन्डिगो र भिस्टारा एयरलाइन्सले नेपालमा उडान गर्छन् भने नेपालबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र बुद्ध एयरले नियमित उडान गर्दै आएका छन् । अहिले भारतमा दैनिक १३ वटा उडान हुँदै आइरहेको छ, जसमध्ये १० उडान नयाँदिल्लीमा मात्रै हुन्छन् । 

एयर इन्डियाले कोलकाता–काठमाडौं र इन्डिगोले मुम्बई–काठमाडौं पनि उडान गरिरहेका छन् । यस्तै, निगमले सातामा तीन–तीन दिन मुम्बई तथा बैंग्लोर र बुद्ध एयरले सातामा तीन दिन काठमाडौं–वाराणसी उडान गर्छ । एयर इन्डिया र इन्डिगोले काठमाडौंमा दैनिक चार–चारवटासम्म उडान गर्दै आएका छन् ।

दिनमै एयर अरेबियाले सारजाँह र अबुधाबीबाट दुईवटा, एयर इन्डियाले चारवटा, भुटान एयरलाइन्सले दुईवटा, फ्लाई दुबईले पाँचवटा, हिमालयले ६ वटा, इन्डिगोले चारवटा, कुवेत एयरवेजले दुईवटा, मलेसियन एयरलाइन्सले दुईवटा, कतार एयरवेजले चारवटा, नेपाल एयरलाइन्सले आठवटा उडान गरेको त्रिभुवन विमानस्थलको २५ सेप्टेम्बरको दैनिक फ्लाइट मुभमेन्ट सेड्युलले देखाउँछ । यस्तै, टाटा एसिया एयरलाइन्स (भिस्टारा)ले पनि दैनिक दुईवटा दिल्ली–काठमाडौं उडान गर्ने अनुमति पाएको छ । 

अहिले कोरियन एयरले सातामा चारवटा उडान गर्छ । विमान बंगलादेश, ड्रुक एयर, सिचुवान एयर, एयर चाइना, चाइना साउदर्न, बुद्ध एयर, जजिरा, सलाम, सिचुवान, सिंगापुर, श्रीलंकन, थाई स्माइल, टर्किस, इत्तिहाद, क्याथे ड्रागन, जेट एयरवेज, मालिन्दो, सिल्क, टिबेट, थाई एयरवेजलगायतले नेपालमा उडान गर्छन् । 

साथै, जजिरा एयरवेज र नेपाल एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गर्छन् । पछिल्लो समय भैरहवामा रोकिएको जजिराको उडान छिट्टै सुचारु हुने बताइएको छ । यस्तै, पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि भुटानको ड्रुक एयरले तयारी थालिसकेको छ । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल कोभिडपछि सञ्चालनमा आएका हुन् । 

अन्तर्राष्ट्रिय उडान र यात्रु संख्या 
नेपालको पर्यटन इतिहासमै सन् २०१९ मा अहिलेसम्मकै धेरै ११ लाख ९७ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए । उक्त वर्ष त्रिभुवन विमानस्थल भएर ४१ लाख ३९ हजार यात्रु स्वदेश तथा विदेशमा आवतजावत गरेको तथ्यांक छ, जुन यात्रु बोक्न साढे ३२ हजार उडान–अवतरण भएका थिए । सो वर्ष २२ लाख २९ हजार यात्रु विभिन्न देशमाक गएका थिए भने १८ लाख ९३ हजार यात्रु नेपाल भित्रिएका थिए ।

सन् २०२० मार्चदेखि नेपालमा कोभिड संक्रमण देखिन थालिसकेको थियो । सरकारले महामारी फैलिन नदिन भन्दै अन्तर्राष्ट्रिय उडान र यात्रुको आवतजावतमा समेत कडाइ ग¥यो । सन् २०२० मा उडान–अवतरण १० हजार दुई सय ४६ र यात्रु संख्या ११ लाख पाँच हजारमा खुम्चियो । सन् २०२१ मा महामारी उत्कर्षमा पुगेको थियो, सो वर्ष ११ हजार सात सय ६० उडान–अवतरणमार्फत १४ लाख ७३ हजारले अन्तर्राष्ट्रिय यात्रा गरेका थिए ।

महामारी कम हुँदै गएपछि अन्तर्राष्ट्रिय यात्रा पनि सहज हुँदै गयो । उडान रोकेका वायुसेवा कम्पनीले धमाधम उडान गर्न थाले । सन् २०२२ मा चार्टरसहित ३२ भन्दा बढी अन्तर्राष्ट्रिय वायुसेवाले २४ हजार तीन सय १२ पटक उडान–अवतरण गरी ३४ लाख ८८ हजार यात्रुलाई सेवा दिएको त्रिभुवन विमानस्थलको तथ्यांक छ । सन् २०२३ को पहिलो आठ महिनामै फ्लाइट मुभमेन्ट २० हजार ३० र यात्रु संख्या २८ लाख ५१ हजार पुगेका छन् । अन्तर्राष्ट्रिय वायुसेवाको संख्या पनि ३४ नाघिसकेको छ ।

आन्तरिक उडान पूरै रिकभर 
बसमा घन्टौँ यात्रा गर्दा कोभिडबाट संक्रमित हुने डरले यात्रुहरू जहाज चढ्न थालेपछि कोभिडपछि आन्तरिक यात्रुको वृद्धि उत्साहजनक देखियो । महामारीका कारण घटेको आन्तरिक उडान सन् २०२२ मै रिकभर भइसकेको छ । यात्रुमा कोभिड संक्रमित हुने भयसँगै खराब राजमार्गका कारण पनि हवाई यात्रा गर्ने ह्वात्तै बढेका हुन् । सडक विस्तार तथा स्तरोन्नतिको नाममा प्रमुख राजमार्गहरू भत्काउँदा काठमाडौंबाट पोखरा र बुटवल पुग्न १२ घन्टाभन्दा बढी लाग्ने गरेको छ । मुग्लिन–नारायणगढ सडकखण्ड पहिरोले अवरुद्ध भइरहँदा चार–पाँच घन्टामा बसमै यात्रा गर्न सकिने ठाउँमा पनि यात्रुले जहाज चढ्न थालेका छन् । 

कोभिड सुरु हुनुअघि सन् २०१९ मा त्रिभुवन विमानस्थलबाट करिब ९२ हजार उडान–अवतरणमार्फत ३१ लाख ८८ हजार यात्रुहरूले आन्तरिक हवाई यात्रा गरेका थिए । जबकि, सन् २०२२ मा फ्लाइट मुभमेन्ट बढेर एक लाख आठ हजार र यात्रु संख्या ४४ लाख ६६ हजार पुगेको थियो ।

सन् २०२३ को पहिलो आठ महिनामै त्रिभुवन विमानस्थल भएर आन्तरिक यात्रा गर्ने यात्रुको संख्या २६ लाख नौ हजार पुगेका छन्, जुन यात्रु बोक्न ६० हजार चार सय ३५ उडान–अवतण भएका छन् । यो संख्यामा मोफसलबाट हुने प्रादेशिक तथा स्टल उडानका यात्रु जोडिएका छैनन् । कोभिडपछि बुद्ध एयरले पोखरालाई बेस बनाएर धनगढी, नेपालगन्ज, भैरहवा, चितवन, सिमरा, जनकपुरलगायत गन्तव्यमा उडान गर्दै आइरहेको छ । यस्तै, तारा, सीता, समिटलगायत वायुसेवाले पोखरा, नेपालगन्ज, सुर्खेतलगायतबाट दुर्गममा स्टल उडान गर्छन् ।

सन् २०२३ को पहिलो आठ महिनामा त्रिभुवन विमानस्थलमा ३० हजार दुई सय २६ उडान र ३० हजार २०९ अवतरण भएका छन् । यो अवधिमा १२ लाख ९२ हजार यात्रु काठमाडौंबाट देशका विभिन्न गन्तव्यतर्फ लागेका छन् भने १३ लाख १७ हजार यात्रु जहाज चढेर काठमाडौं आएका छन् । यस वर्ष गुल्मीलगायतका केही विमानस्थलमा उडान सुरु भएको छ । 

यस वर्ष हवाई यात्रु ८५ लाख पुग्ने अपेक्षा छ
प्रताप तिवारी, महाप्रबन्धक, त्रिभुवन विमानस्थल

कोभिड महामारीअघि सन् २०१९ मा आन्तरिक र अन्तर्राष्ट्रिय गरी ७३ लाख २७ हजारभन्दा बढी यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गरेका थिए । यो वर्ष ८५ लाख पुग्ने अनुमान छ ।