एसियाडमा आउने मोह सबैकाे हुन्छ। चीनको हाङझाउमा ४५ राष्ट्रका विभिन्न खेलका सयौँ पदाधिकारी छन्। विकसित देशले आधिकारिक अफिसियल मात्र हाङझाउमा पठाएका छन्। अविकसित र आर्थिक रूपमा कमजोर राष्ट्रका खेल संघहरूका पदाधिकारीहरू भने आफ्नो नाम आफैँले सिफरिस गरी १९औँ एसियाडको मजा लिइरहेका छन्। यसको एउटा उदाहरण नेपाल हो।
पछिल्लो समय एसियाडमा असम्बन्धित खेलका पदाधिकारी पनि आएको चर्चा थियो। दुई खेल संघका अध्यक्षले आफ्नो नाम आफैँले सिफारिस गरेर हाङझाउ आएकाे पाइएको छ। यी दुवै पदाधिकारी निर्णायकको कोटामा एसियाडमा आएका हुन्।
नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम र हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मा निर्णायकका रूपमा आएका हुन्। यसपटक यी दुवै खेलले सहभागिता जनाएका छैनन्। तैपनि अध्यक्षद्वय निर्णायक बनेर आएकाे बताइएको छ।
खेलको निर्णायक बन्न एसियाडको आयोजकले ओलम्पिक काउन्सिल एसिया (ओसिए)लाई जिम्मा दिएको छ । ओसिएले खेल संघलाई नै अफिसियल छान्ने अधिकार दिएको छ। नेपालमा हक्की र बुद्धिचालका अध्यक्षले प्रतियोगितामा आफ्नै नाम सिफारिस गरेका हुन्।
बुद्धिचालका अध्यक्ष गौतम कसरी चीन पुगे भन्ने सम्बन्धमा यस खेलका पदाधिकारी नै अचम्ममा परेका छन्। हालै मात्र हेटौँडामा भएको निर्वाचनबाट गौतम निर्वाचित भएका थिए।
‘अध्यक्षज्यू कसरी एसियाडमा जानुभयो, त्यो अचम्मको विषय हो। अझ उहाँ आफनो नाम आफूले नै सिफारिस गरी जानुभएको रहेछ,’ संघका एक पदाधिकारीले भने, ‘यसबारेमा हामीलाई आधिकारिक रूपमा जानकारी नै छैन।’ उनका अनुसार १९औँ एसियाडमा अन्य प्राविधिकलाई पठाउने तयारी थियो।
यता, आर्थिक समस्याका कारण बुद्धिचाल संघले एसियाडका खेलाडी पठाएको छैन। प्रतियोगिताअघि नै नेपाल ओलम्पिक कमिटी (एनओसी)ले १९औँ एसियाडमा बुद्धिचालमा सहभागिता जनाउन बारम्बार पत्र लेखेको थियो। तर, संघले ओलम्पिक कमिटीले काटेको पत्रको प्रतिक्रिया दिएन। ‘बुद्धिचाललाई पनि एसियाडमा समावेश गराउने लक्ष्य थियो। तर, उहाँहरूले यस सम्बन्धमा खासै वास्ता नै गर्नुभएन,’ एनओसीका एक पदाधिकारीले भने।
बुद्धिचालकै जस्तो अवस्था हक्कीको पनि छ । गत महिना मात्र अध्यक्ष बनेका शर्मा अफिसियलकै हैसियतमा यहाँ छन्। संघका पदाधिकारीले निर्णायकको कोटामा अध्यक्ष एसियाड पुग्दा लाज लागेको बताए।
‘अरूलाई अवसर दिनुपर्ने वेलामा उहाँ आफैँ जानुभएको रहेछ। आधिकारिक रूपमा हामीलाई यसबारेमा केही जानकारी छैन,’ उनले भने, ‘भर्खरै अध्यक्ष बन्नुभएको व्यक्तिले अरूलाई मौका दिनुपर्ने थियो।’