नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समितिका उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’को निधन भएको छ। निमोनियाबाट ग्रसित बडुवाललाई थप उपचारका लागि भारतको लखनउ लैजाने क्रममा बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
पार्टीको तीनमहिने अभियानका क्रममा डोटीमा खटिएका बडुवाल स्वास्थ्यमा समस्या भएपछि केही दिनअघि आफ्नो घर कैलालीको लम्की फर्किएका थिए।
निमोनियाले जटिलता निम्त्याएपछि आफन्तले उनलाई नेपालगन्ज हुँदै काठमाडौं लैजान खोजेका थिए। तर, धेरै उचाइबाट उड्नुपर्ने हुँदा विमानमा थप समस्या हुन सक्ने भएकाले लखनउ लगिएको थियो।
लखनउ लैजाने क्रममा बिहान ३ बजेतिर बडुवालको बाटोमै मृत्यु भएको माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कार्यालयका सचिव उद्धव भट्टराईले बताए। माओवादीका केन्द्रीय सचिव एवं प्रदेश इन्चार्ज डिलाराम आचार्यलगायत नेताहरू श्रद्धाञ्जलीका लागि उनको घर पुगेका छन्।