१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ११ बिहीबार
  • Wednesday, 03 July, 2024
२o८o असोज ११ बिहीबार ११:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

पर्यटक लोभ्याउँदै गुरुङ होमस्टे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ११ बिहीबार ११:२६:oo

झुरुप्प १६ घर । कतिपय भूकम्पपछि बनेका नयाँ घर छन् । केहीले भूकम्पले ढाल्न नसकेका ढुंगामाटोको पुरानो घरलाई लिपपोत गरी चिटिक्क पारिएका छन् । हेर्दा उस्तै देखिने सबै घर सफा, चिरिच्याँट्ट छन् । आँगन र बाटोमा छापिएका ढुंगाले गाउँको मौलिकता झल्काएको छ । 

बाटोमा रंगीबिरंगी विभिन्न प्रजातिका ढकमक्क फूल, कफी तथा फलफूलको मगमग बास्नाले पर्यटकलाई लोभ्याउँछ । धादिङको गंगाजमुना गाउँपालिका–३ अम्बोटेमा रहेको गुरुङ गाउँ नमुना होमस्टे अहिले पर्यटकको रोजाइको गन्तव्य बनेको छ । यहाँ पुग्न सदरमुकाम धादिङबेँसीदेखि ३५ किलोमिटर उत्तरतर्फ लाग्नुपर्छ । 

गुरुङ समुदायले सुरु गरेको यो होमस्टेमा मौलिक खानपानको स्वाद लिन पाइन्छ । पाहुनालाई फलफूल, खाद्यान्न तथा मदिरासमेत स्थानीयले खुवाउँछन् । भुटेको मकै, विभिन्न फलफूलबाट तयार पारिएका लस्सीको स्वाद बिर्सिनसक्नुको छ । लोकल कुखुराको झोलसँग स्थानीय चामलको भात पाहुनाहरूको रोजाइमा पर्छ । विभिन्न जातजातिका कला, संस्कृति, भेषभूषा परम्परा, रीतिरिवाजले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ । होमस्टे व्यवसायले समाज रूपान्तरण र यस्ता संस्कृतिको पुस्तान्तरणमा टेवा पुगेको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले बताए । पछिल्लो समय मानिसहरू सहर तथा विदेशकेन्द्रित भइरहँदा होमस्टेले एकपटक गाउँ पुगौँ न भन्ने वातावरण बनेको छ । उनले भने, ‘जो होमस्टे पुग्छन्, गाउँले जीवनलाई राम्रोसँग बुझ्न, विभिन्न जातिजातिको संस्कृति र पहिचान थाहा पाउन तथा अर्गानिक उत्पादनको स्वाद लिन पाउँछन् । होमस्टेमा साँच्चै रमाइलो र आनन्दमा हराउन सक्छन् । यसले स्थानीयको आर्थिक अवस्था सुधारसँगै गाउँकै विकासमा पनि सहयोग पुग्छ ।’ 

होमस्टे सञ्चालित घरका करेसामा कागती, अम्बा, भोगटे, कफीलगायतका फल फलिरहेका छन् । मौसमअनुसारका फलफूल सबै घरका करेसामा पाइन्छन् । वातावरण हेरेर पर्यटकहरू रम्ने गरेका छन् । दिनभरि कहिले फूलसँग त कहिले फलफूलका बोट हेर्र्दै सुस्केरा मार्दै मस्त रमाएर साँझ परेपछि घाटु, चुड्का र दोहोरीमा छमछमी नाच्न पाइन्छ । पाहुनाको मनोरञ्जनका लागि स्थानीय महिला र पुरुषले गाउने घाटु, चुड्का र दोहोरी गुरुङ गाउँ नमुना होमस्टेको अर्काे विशेषता हो ।

अन्यत्रबाट होमस्टे पुग्ने पाहुनालाई यहाँका गुरुङ जातिले फूलका गुच्छा र मालाले गेटैमा स्वागत गर्छन् । गाउँका १६ घरका नौ घरमा भूतपूर्व सैनिक छन् भने चार घरका बहालवाला सैनिक हुन् । त्यस्तै, एक घरका सदस्य निजामती सेवामा कार्यरत छन् । सेनामा छँदा गरेको मिहिनेत र अनुशासनलाई आपूmहरूले होमस्टेमा प्रयोग गरेको मानबहादुर गुरुङ बताउँछन् । ‘निकै संघर्ष गरेर लाहुरे भइयो, त्यहाँ सरसफाइ र अनुशासनबारे सिक्ने मौका मिल्यो । जागिरको वेला ब्यारेकभित्र सिकेको ज्ञान अहिले गाउँमा लागू गरिरहेका छौँ,’ उनले भने । 

देश–विदेश घुमेर आफ्नो पुख्र्यौली थलो फर्किएका लाहुरेहरूले सुरु गरेको सरसफाइ अभियान पछिल्लो समयमा होमस्टेको रूपमा परिणत भएको स्थानीय यतनबहादुर गुरुङ बताउँछन् । होमस्टे हेर्न छिमेकी गाउँबाट पनि आइपुग्छन् । उनले भने, ‘गुरुङ समुदायको आत्मीयता, एकता, संस्कार र संस्कृति देश–विदेशमा चिनाउने लक्ष्य छ । मिहिनेत गर्दै छौँ, भविष्यमा अझै राम्रो बनाउने योजनासहित अघि बढेका छौँ ।’

ad
ad
ad
ad