१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ११ बिहीबार
  • Saturday, 28 September, 2024
नवीन अर्याल काठमाडाैं
२o८o असोज ११ बिहीबार o६:२९:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

पर्यटन क्षेत्रमा नेवानिले भित्र्यायो सबैभन्दा धेरै विदेशी मुद्रा

साढे आठ करोड डलर भित्र्याएर नेवानि पहिलो, साढे ५० लाख डलर भित्र्याएर म्यारिएट होटेल दोस्रो

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज ११ बिहीबार o६:२९:oo

देशमा सबैभन्दा धेरै विदेशी मुद्रा भित्र्याउनेमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) पहिलो बनेर सम्मानित भएको छ । नेवानिले एक वर्षमा आठ करोड ४५ लाख १० हजार अमेरिकी डलर भित्र्याएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय पर्यटन दिवसको अवसरमा १ अगस्ट २०२२ देखि ३१ अगस्टसम्म सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको हो ।

५० लाख ४१ हजार अमेरिकी डलर भित्र्याई पाँचतारे होटेल म्यारिएट दोस्रो बनेको छ । होटेल तथा रिसोर्टतर्फ म्यारिएट सबैभन्दा धेरै विदेशी मुद्रा भित्र्याउने होटेल बनेर सम्मानित भएको हो । यो होटेल व्यावसायिक घराना एमएस ग्रुपअन्तर्गतको एभरेस्ट हस्पिटालिटी एन्ड होटेल लिमिटेडले सञ्चालन गरेको हो । यही ग्रुपले ठमेलमा तीनतारे फेयरफिल्ड म्यारिएट होटेल पनि सञ्चालनमा ल्याएको छ । कोभिडपछि अन्तर्राष्ट्रिय चेन होटेल र क्यासिनोको व्यापार राम्रो भइरहेको एमएस ग्रुपका प्रबन्ध निर्देशक शशीकान्त अग्रवालले बताए । 

पर्वतारोहण र ट्रेकिङतर्फ सेभेन समिट ट्रेक्स प्रालि सबैभन्दा धेरै डलर भित्र्याउने कम्पनी बनेको छ । एक वर्षमा सेभेन समिटले ४३ लाख २२ हजार अमेरिकी डलर भित्र्याई पर्यटन मन्त्रालयबाट सम्मानित भएको हो । सेभेन समिट सर्वोच्च शिखर सगरमाथासहित अग्ला हिमाल आरोहणका लागि विदेशबाट सबैभन्दा धेरै आरोही ल्याउने कम्पनी हो ।

ट्राभल तथा टुर्सतर्फ सीता वल्र्ड ट्राभल नेपाल प्रालिले ३६ लाख ६१ हजार अमेरिकी डलर भित्र्याएर सम्मानित भएको छ । यस्तै, साहसिक मनोरञ्जनात्मक खेलतर्फ पोखरा अल्ट्रालाइट प्रालिले सबैभन्दा धेरै ४४ हजार तीन सय ८८ डलर आर्जन गरेको छ । 

२२ बिघा क्षेत्रफलमा कृषि फार्म र तीन बिघामा रिसोर्ट सञ्चालन गरी स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने, आफ्नै रिसोर्ट परिसरमा उत्पादित माछा, तरकारी, सागपात, कुखुरापालन गरी एग्रो टुरिजमलाई समेत विकास तथा प्रवद्र्धन गरेको भन्दै कपिलवस्तुको लुम्बिनी ग्रिन रिसोर्टलाई पर्यटन मन्त्रालयले सम्मान गरेको छ । संस्कृति संरक्षण, पर्यापर्यटन ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्न योगदान गरेकोमा कावासोती– १५ नवलपरासीको अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे सम्मानित भएको छ । 

पर्वतारोहीतर्फ विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल ९२ दिनमा आरोहण गरी कीर्तिमान कायम गर्न सफल नर्वेजियन क्रिस्टिन हरिला र नेपाली लामा तेन्जन शेर्पा सम्मानित भएका छन् । 

सगरमाथाबाट पाराग्लाइडिङ गर्ने तयारी 
साहसिक पर्यटक आकर्षण गर्न सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटरमाथिबाट पाराग्लाइडिङ सुरु गरिने पर्यटनमन्त्री सुदन किराँतीले बताएका छन् । विश्व पर्यटन दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले  पाराग्लाइडिङ गराउन नियमावलीको काम अन्तिम चरणमा पुगेको बताए ।

‘हामीले पर्यटन प्रवद्र्धन गर्नुपर्छ भन्छौँ, तर यसका लागि कस्तो नीति बनाएका छौँ भन्नेतिर ध्यान दिन सकेका छैनौँ,’ मन्त्री किराँतीले भने, ‘हामीले पर्यटक आकर्षण गर्न विभिन्न योजना बनाइरहेका छौँ, आठ हजार मिटरमाथिबाट पाराग्लाइडिङ गराउन नियमावली अन्तिम चरणमा छ । अब क्याबिनेटबाट पारित हुनेबित्तिकै लागू हुन्छ ।’ 

सरकारले छिट्टै जहाज किन्ने निर्णय गर्न लागेको पनि मन्त्री किराँतीले जानकारी दिए । ‘हामी जहाज किन्ने निर्णय गर्दै छौँ, सस्तोदरमा मानिसले आवतजावत गर्न सकेको अवस्थामा पनि हाम्रो पर्यटनमा ठूलो योगदान गर्नेछ,’ उनले भने । सरकार बदलिरहने प्रवृत्तिले दीर्घकालीन योजनाका काम नहुँदा समस्या भएको उनको भनाइ थियो । 

अन्तर्क्रिया कार्यक्रममा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भने, ‘हामीले जहाज ल्याउन सकेका छैनौँ, चीन र भारतबाट मात्रै पर्यटक ल्याउन सक्यौँ भने पनि हामी पर्यटन विकासलाई सार्थक बनाउन सक्छौँ ।’ कार्यक्रम आयोजक संस्था ‘साथसाथै’का अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनको सबैभन्दा विनाशकारी असर पर्यटन व्यवसायमा परेको बताइन् । उनले भनिन् ‘एकातिर पर्यटन क्षेत्रमा थुप्रै पूर्वाधार निर्माण गर्नुछ भने अर्काेतिर भएका पूर्वाधार जोगाउने चुनौती छ अनि अबका पूर्वाधार जलवायु परिवर्तनमैत्री बनाउनु छ ।’