१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १० बुधबार
  • Wednesday, 26 June, 2024
२o८o असोज १० बुधबार o६:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

संखुवासभाको दुर्गम भोटखोला गाउँपालिकामा विद्युतकाे राष्ट्रिय प्रसारणलाइन जोडियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १० बुधबार o६:३२:oo

चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका–४, गोलाबजारमा मंगलबारबाट राष्ट्रिय प्रसारणलाइनको बिजुली बत्ती बालिएको छ । १० स्थानीय तह रहेको संखुवासभामा अन्य स्थानीय तहमा राष्ट्रिय प्रसारणलाइन जोडिए पनि भोटखोला गाउँपालिमा जडान हुन सकेको थिएन ।

निकै लामो संघर्षपछि गोलाबजारमा बिजुली बत्ती बाल्न सफल भएको नेपाल विद्युत् प्राधिकरण संखुवासभाका प्रमुख सञ्जीव कर्णले बताए । निरन्तरको प्रयासपछि अहिले ५० केभिएको ट्रान्सफर्मर राखेर बत्ती बाल्न सफल भएको उनको भनाइ छ । ‘जिल्लाको सुगम र दुर्गम सबै ठाउँमा राष्ट्रियस्तरका विद्युतीकरण पुर्‍याउने लक्ष्य हो । गत वर्ष जिल्लाको दुर्गम नै रहेको सिलिचोङ गाउँपालिकासम्म विद्युत् पुर्‍याइएको थियो, यो वर्ष भोटखोलाको मुख्य बजारमा विद्युतीकरण गर्न सफल भयौँ,’ कार्यालय प्रमुख कर्णले भने ।अहिले भोटखोला गाउँपालिकाको गोलाबजारसम्म बिजुली बत्ती पुगेको र पुस–माघसम्म गाउँपालिकाको केन्द्र हटियासम्म बत्ती बाल्ने लक्ष्य रहेको उनले बताए । 

जिल्लाको मकालु र सिलिचोङ गाउँपालिकाको केन्द्रसम्म विद्युतीकरण भए पनि वडा र गाउँस्तरसम्म भने विस्तार हुन बाँकी रहेको विद्युत् प्राधिकरणले जनाएको छ । खाँदबारी, चैनपुर, मादी, पाँचखपन र धर्मदेवी नगरपालिकाका साथै सभापोखरी र चिचिला गाउँपालिकामा राष्ट्रिय लाइनको विद्युत्तीकरण विस्तार भएको छ ।

स्थानीय लघु जलविद्युत् र पेल्टिसेटबाट विद्युत् उत्पादन गरी केही गाउँमा बत्ती बालिरहेका छन् । तर, केन्द्रीय प्रसारणलाइनजस्तो भरपर्दो नहुने गोलाका स्थानीय मनोज गुरुङले बताए । यसअघि गोलाबजारमा स्थानीय खोलाबाट लघु जलविद्युत्बाट बत्ती बाल्दै आइरहेका थिए ।

 संखुवासभामा २२ मेगावाट उत्पादन,खपत बढीमा पाँच मेगावाट
संखुवासभमा पाँचवटा ठूला हाइड्रो प्रोजेक्टबाट २२ मेगावाट विद्युत् उत्पादन हुनछ । जसमा दीपेश्वरी हाइड्रोपावर चार मेगावाट, वरुण हाइड्रोपावरबाट साढे ४.४ मेगाावाट, अरुण भ्याल्ली पिलुवा हाइड्रोपावर ३ मेघावाट, सुगम हाइड्रोपावर (लोहर पिलुवा)बाट साढे १ मेगावाट र अपर हेवा हाइड्रो साढे आठ विद्युत उत्पादन हुने गरेको नेपाल विद्युत् प्राधिकरण संखुवासभाका कार्यालय प्रमुख कर्णले बताए ।

उनले जिल्लामा उत्पादन भएको करिब २२ मेगावाट विद्युत् नै संखुवासभाको मागभन्दा धेरे बढी रहेको बताए । ‘जिल्लामा करिब बिहान–बेलुकी पिकआवरमा करिब चार देखि दश मेगावाट जति विद्युत् खपत हुने गर्छ,’ उनले भने, ‘यसअगाडि चारवटा मात्रै हाइड्रो थियो । अपर हेवा थपिएर पाँचवटा पुगेको छ । अपर हेवा करिब एक महिनाअगाडि चैत पहिलो सातादेखि मात्रै सञ्चालनमा आएको हो ।’

यी पाँचवटा नै हाइड्रोपावर केन्द्रीय प्रसारणलाइनमा आबद्ध भइसकेका छन् । हिउँदमा पानीको सतह घटेर करिब ५० प्रतिशत मात्रै विद्युत् उत्पादन हुने नेपाल विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रको भनाइ छ । निगुरे जलविद्युत् आयोजना लामो समयदेखि बिग्रिएर बन्द रहेको छ । यो आयोजना जिल्लाका तीनवटा क्याम्पस वरुण बहुमुखी, संखुवासभा बहुमुखी र मादी बहुमुखी क्याम्पसले संयुक्त रूपमा सञ्चालन गरेको हो । 

जिल्लामा उत्पादित विद्युत् पिलुवा सबस्टेसनबाट धनकुटा, धरान हुँदै दुहबीबाट केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ । दुहबी—वसन्तपुर—बानेश्वर हुदैं तुम्लिङटारसम्म २२० केभी विद्युत्को राष्ट्रिय प्रसारणलाइन जोडिएको छ । विद्युत्को कोशी करिडोर सञ्चालनमा आएपछि जिल्लामा उत्पादन भएको विद्युत् चुहावट समस्या समाधान भएको छ भने विगतमा भन्दा नियमित रूपमा विद्युत् सेवा दिन सजिलो हुने बताइएको छ ।

ad
ad
ad
ad