
भारतले अस्ट्रेलियाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला एक खेलअगावै आफ्नो पक्षमा पारेको छ । वर्षाले प्रभावित खेलमा अस्ट्रेलियालाई ९९ रनले हराउँदै भारतले तीन खेलको शृंखलामा २–० को अग्रता लिएको हो । पहिलो खेलमा भारत ५ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।
तीन सय १७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २८.२ ओभरमा सबै विकेट गुमाउँदा मात्र दुई सय १७ रन बनाउन सक्यो । वर्षाले खेल बाधक बन्दा अस्ट्रेलियाले ३३ ओभरमा उक्त लक्ष्य प्राप्त गरेको हो । अस्ट्रेलियाका सेन एबोटले सर्वाधिक ५४ रन बनाएका थिए । सेनले ३६ बलमा ४ चौका र ५ छक्का प्रहार गरेका हुन् । डेविड वार्नरले ३९ बलमा ७ चौका र १ छक्काको मद्दतमा ५३ रनको योगदान गरे ।
मार्नस लाबुसेनले २७, जोस हैजलउडले २३, क्यामरुन ग्रिनले १९ र एलेक्स केरीले १४ रन जोडेका थिए । तेस्रो विकेटका लागि वार्नर र लाबुसेनले ८० रनको साझेदारी गरेका हुन् । भारतका लागि रवीन्द्र जडेजा र रविचन्द्रन आश्विनले समान तीन विकेट हात पारेका थिए ।
प्रसिद्ध कृष्णाले २ र मोहम्मद सामीले १ विकेट लिए । यसअघि, इन्दोरस्थित होल्कर क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै तीन सय ९९ रनको विशाल योगफल तयार पारेको थियो । भारतका श्रेयस अयर र सुभमन गिलले शतक बनाए ।
९० बलमा ११ चौका र ३ छक्कासहित श्रेयसले एक सय ५ रन बनाएका हुन् । गिलले ९७ बलमा ६ चौका र चार छक्काको मद्दतमा एक सय ४ रनको योगदान गरे । सूर्यकुमार यादवले ३७ बलमा समान ६ चौका र छक्काको मद्दतले अविजित ७२, कप्तान केएल राहुलले ३८ बलमा समान ३ चौका र छक्काको मद्दतले ५२, ईशान किसनले ३१ र रवीन्द्र जडेजाले अविजित १३ रन बनाएका हुन् ।
दोस्रो विकेटका लागि श्रेयस र गिलले २ सय तथा राहुलले चौथो विकेटका लागि किसनसँग ५९ रनको साझेदारी गरेका हुन् । अस्ट्रेलियाका लागि क्यामरुन ग्रिनले दुई तथा जोस हेजलउड, सेन एबोट र एडम जाम्पाले समान एक विकेट लिएका थिए ।