१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ८ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ८ सोमबार १८:२६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

फार्मेसीका नाममा भइरहेका गैरकानुनी काम रोकिनुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ८ सोमबार १८:२६:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले फार्मेसीका नाममा भइरहेका गैरकानुनी कामहरू बन्द हुनुपर्ने बताएका छन्।

नेपाल फार्मेसी संघले विश्व फार्मेसी दिवसको अवसरमा सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले फार्मेसी नै नपढेका मानिसहरूले फार्मेसी चलाउने गरेको, दर्ता नै नगरी फार्मेसी चलाउने गरेको, नवीकरण नै नगरी फार्मेसी चलाउने गरेको, अर्कैको सर्टिफिकेट राखेर फार्मेसी चलाउनेजस्ता गैरकानुनी काम फार्मेसीको क्षेत्रमा भइरहेकाले यस्ता गतिविधि तत्कालै रोकिनुपर्ने बताएका छन्।

स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागको नेतृत्वमा फार्मेसीहरूको अनुगमन तीव्र पारेको बताउँदै मन्त्री बस्नेतले कानुनविपरीत सञ्चालित फार्मेसीहरूलाई सचेत गराउनेदेखि सिल गर्नेसम्मका कारबाही अगाडि बढाइएको जानकारी दिए।

उनले भने, ‘फर्मासिस्टको तुलनामा फार्मेसीको संख्या बढिरहेको पाइएको छ। यो हुनुहुँदैन। कानुनविपरीत अर्कैको फोटो झुन्ड्याएर फार्मेसी चलाउनेहरूलाई कारबाही गर्छौं।’ देशमा फार्मेसी पढेकाले काम नपाएर बस्नुपर्ने, तर नपढेकाहरूले अर्कैको फोटो झुन्ड्याएकै भरमा फार्मेसी चलाउने प्रवृति अन्त्य गर्नुपर्नेमा मन्त्री बस्नेतको जोड थियो।

स्वास्थ्य क्षेत्र सुधारका लागि आफू दिनरात नभनी लागिपरेको दाबी गर्दै मन्त्री बस्नेतले निजी अस्पतालहरूमा समेत विपन्नका लागि १० प्रतिशत शय्या निःशुल्क गर्न सक्नु, पावरका भरमा काजमा रहेका साढे ८ सय स्वास्थ्यका कर्मचारीको काज फिर्ता गर्न सक्नु र केन्द्रीय अस्पतालहरूका साढे ३ हजार जनरल शय्या विपन्नका लागि निःशुल्क गर्न सक्नु चानचुने कुरा नभएको बताए।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले जनताले गुणस्तरीय औषधिका साथै औषधिका विषयमा सही सूचना प्राप्त गर्नका लागि फार्मेसीमा फर्मासिस्ट हुनैपर्ने बताए। उपभोक्तालाई औषधिका विषयमा सही सूचना प्रदान गर्ने जिम्मेवारी पनि फर्मासिस्टको भएको महानिर्देशक ढकालले बताए।

नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष प्रज्ज्वलजंग पाण्डेले औषधि क्षेत्रको विकासमा फार्मेसी र फर्मासिस्टहरूको अहम् भूमिका रहेको स्मरण गरे। फर्मासिस्ट औषधि पसले मात्र हो भन्ने मनसायबाट फर्मासिस्ट गाइडेड हुनुनपर्नेमा पाण्डेको जोड थियो।

कार्यक्रममा नेपाल फार्मेसी संघका अध्यक्ष किरण ढकालले फार्मेसी र फर्मासिस्ट एउटै सिक्काका दुई पाटो भएकाले यसको विकासमा सरकारले पनि ध्यान दिनुपर्ने बताए। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संघकी उपाध्यक्ष मीना भट्टले नेपालमा सहायक स्तरमा फर्मासिस्टको संख्या १२ हजार र ६ हजार फर्मासिस्ट गरी कुल १८ हजार फर्मासिस्ट भएको जानकारी दिइन्।