सुरक्षित प्रसूतिका लागि नेपाल सरकारले देशभर स्वास्थ्य केन्द्र र चौकीहरूमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ। बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाका लागि प्रोत्साहन भत्ताकोसमेत व्यवस्था छ। घरमै सुत्केरी हुने चलनलाई शून्यमा झार्ने सरकारको नीति भए पनि जुम्ला जिल्लाका विकट ग्रामीण भेगका महिला घरमै असुरक्षित सुत्केरी भइरहेको अवस्था छ। यसले आमा र शिशुको स्वास्थ्य र जीवन नै जोखिममा छ।
पातारासी गाउँपालिका– ३ महरी गाउँकी लालकली बुढाले घरमै बच्चा जन्माउँदा जन्मेको सात दिन मात्रै बाँचेर बच्चा खेर गयो। आफ्नो कोखमा बसेर घरमै जन्मिएको बच्चा त्यसरी खेर गएको घटनाले लालकलीलाई अझै पनि पिरोलिरहेको छ।
‘स्वास्थ्यचौकी गएर सुत्केरी हुन पाएको भए त्यो बच्चा बाँची हाल्थ्यो कि! बच्चाले वेलैमा औषधि उपचार पनि पाउँथ्यो होला। तर, अहिले पनि स्वास्थ्यचौकी गएर गर्भ जाँच गराउने र सुरक्षित सुत्केरी हुने पारिवारिक र सामाजिक वातावरण छैन,’ उनले भनिन्, ‘आधारभूत भौतिक पूर्वाधार पनि बनाइएको छैन। बर्थिङ सेन्टर पुग्न पैदल आउजाउ गर्न ६ घण्टा समय लाग्छ। स्वास्थ्यचौकी टाढा भएकाले पनि घरमै सुत्केरी हुनुपर्छ।’
२४० घरधुरी भएको महरी गाउँमा स्वास्थ्य स्वयंसेविकाकै बुहारीहरू पनि घरमै सुत्केरी हुने गरेका छन्। घरमै बच्चा जन्माएकी महरीकै सरिता बुढा यसको मनोवैज्ञानिक जरो खुलाउँदै भन्छिन्, ‘गर्भवतीले स्वास्थ्यचौकी जाने ठाउँमा भुइयार लाग्छ भन्नेछ। भुइयार भन्ने भूतप्रेत हो। त्यसैको डरले हामी घरमै सुत्केरी हुन्छौँ।’ महरी गाउँकै २५ वर्षकी निर्मला बुढा पनि सोही कुरामा सहमति जनाउँदै भन्छिन्, ‘बाटोमा खोला तर्नुपर्छ। देउता लाग्छन् भन्ने डर पनि लाग्छ। त्यही भएर घरमै सुत्केरी हुन्छौँ।’ सरिता र निर्मलाका अनुसार गाउँघरदेखि स्वास्थ्यचौकी जानलाई गाडी गुड्ने बाटो पनि छैन। गर्भवती हुँदा हिँडेर जान सकिँदैन, टाढा छ।
पातारासी गाउँपालिका– ३ हुरी गाउँकी पुन्नकली बुढा पनि लामो बाटो हिँड्नुपर्ने भएकै कारण आफूहरू घरमै सुत्केरी हुने गरेको बताउँछिन्। उनले भनिन्, ‘बर्थिङ सेन्टरसम्म आउजाउ गर्न ६ घण्टा हिँड्नुपर्छ। स्वास्थ्यचौकी टाढा भएकाले पनि घरमै सुत्केरी हुन्छौँ। हुरी गाउँमा कुल ५२० घरधुरी रहेका छन्।
अन्धविश्वासका कारण भूतप्रेतसँग सम्बन्धित डरसँगै धामी, झाँक्रीमाथिको परम्परागत निर्भरतालाई चिरेर अप्ठ्यारो लामो बाटो पार गरी सुत्केरी हुने वेला बर्थिङ सेन्टर जान सक्ने अवस्था पनि नभएका कारण हुरी र महरी गाउँमा घरमै सुत्केरी हुने चलन हट्न सकेको छैन।
महरी र हुरी गाउँको बीचमा एउटा सामुदायिक स्वास्थ्य इकाइ छ। पातारासी गाउँपालिकास्थित स्वास्थ्य शाखाका प्रमुख रतन बुढथापाका अनुसार त्यहाँ अरू समस्या हुँदा उपचारको लागि महिलाहरू आउने गरेको पाइए पनि गर्भावस्थामा आउँदैनन्। यसको मूल कारण धामीझाँक्री प्रथा र भूतप्रेतप्रतिको अन्धविश्वास रहेको छ। उनले भने, ‘हुरी र महरी गाउँमा जकडिएर बसेको धामीझाँक्री प्रथा र भूतप्रेतप्रतिको अन्धविश्वासका कारण अहिले पनि गर्भवती हुँदा गर्भको जाँच गराउन महिलाहरू स्वास्थ्य संस्थामा आउँदैनन्।’
पातारासी स्वास्थ्य शाखाका प्रमुख रतनका अनुसार आर्थिक वर्ष ०७८-७९ मा १२६ महिला स्वास्थ्य संस्थामा सुत्केरी भए। आर्थिक वर्ष ०७९-८० मा १४५ जना सुत्केरी भए। उनले भने, ‘हुरी र महरी गाउँका महिला घरमै सुत्केरी हुन्छन्। त्यहाँको व्यवहारमा महिला स्वास्थ्य स्वयंसेविकाले पनि परिवर्तन ल्याउन सकेका छैनन्।’ यस्तो अवस्थामा गाउँमा प्रभावकारी तरिकाले सचेतना फैलाउनुपर्ने हुन्छ। तर, अभिमुखीकरण गर्नका लागि बजेट नै नभएको उनको गुनासो छ।
पातारासी मात्र होइन गुठीचौर, कनकासुन्दरी र तिला गाउँपालिकास्थित केही गाउँको अवस्था पनि लगभग उस्तै छ। त्यहाँका अधिकांश महिला सुत्केरी हुनका लागि स्वास्थ्य संस्था पुग्ने गरेका छैनन्। गुठीचौर गाउँपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख सुस्मिता थापाको बुझाइमा उनीहरू सुत्केरी हुँदा ‘खोला तर्नुहुँदैन, बाटामा भूतप्रेत लाग्न सक्छ’ भन्ने अन्धविश्वासले घरमै सुत्केरी हुने गरेका हुन्। उनले भनिन्, ‘त्यहाँ बाजागारे भूत लाग्छ भनेर घरमै सुत्केरी हुन्छन्।’
गुठीचौर स्वास्थ्य शाखाका प्रमुख बालकराम नेपालीका अनुसार गर्भवती हुँदा पुल र नदी तर्नुहुँदैन भन्ने गलत मान्यता यहाँका गाउँमा छ। ‘अन्धविश्वासका कारण झाजुवाला गाउँ र फोई गाउँका गर्भवतीहरू गाउँपालिकाको कार्यालयसँगै जोडिएको स्वास्थ्यचौकीमा गर्भको जाँच गराउनसमेत आउँदैनन्,’ उनले भने।
कनकासुन्दरी गाउँपालिका स्वास्थ्यचौकीका अहेब नेत्रबहादुर खत्रीको बुझाइ भने यो विषय सहज बाटोघाटो र अन्धविश्वास दुबैसँग जोडिएको छ। त्यहाँको रिया, सिप्टी र मर्खन गाउँका गर्भवती महिला पनि स्वास्थ्य संस्थामा नआउने गरेको उनले बताए। ‘एक त भौगोलिक हिसाबले टाढा भएको पनि हो। अर्को, त्यहाँ धेरै देवता लाग्ने, पुलपुलेसा तर्न हुन्न भन्ने मान्यताले पनि स्वास्थ्य संस्थामा सुत्केरी हुन नआएका हुन्।’ रिया गाउँमा कुल ४४, सिप्टी गाउँमा २३ र मर्खन गाउँमा कुल ३४ घरधुरी रहेका छन्।
उनका अनुसार आर्थिक वर्ष ०७९-८० देखि हालसम्म रिया र मार्फन गाउँका स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाको संख्या शून्य छ भने सिप्टी गाउँकी एक गर्भवती मात्र स्वास्थ्य संस्थामा सुत्केरी भएको देखिन्छ। अहेब खत्रीले भने, ‘रिया, सिप्टी र मार्फन गाउँका गर्भवतीलाई सुत्केरी हुनका लागि काब्रामा रहेको बुम्रामाडिचौर स्वास्थ्य संस्थामा पुग्नुपर्छ। त्यहाँ पुग्नका लागि रिया गाउँ र मार्फन गाउँबाट पैदल तीन घण्टा लाग्छ भने सिप्टी गाउँबाट एक घण्टा लाग्छ।’
पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाका अनुसार हुरी र महरी गाउँका गर्भवतीहरूलाई स्वास्थ्य संस्थामा सुत्केरी गराउनको लागि सचेतनाका कार्यक्रम गर्ने योजना बनाइएको छ। उनले भनिन्, ‘अझै पनि समाजमा अन्धविश्वासले जरा गाडेको छ। यसको निराकरणका लागि हामी सचेतना जगाउने खालका विभिन्न कार्यक्रम बनाएर अगाडि बढ्ने छौँ।’
स्थानीय तहले अन्धविश्वासलाई चिर्नका लागि गाउँबस्तीका महिला तथा जेष्ठ नागरिकलाई जनचेतना जगाउनुका साथै कानुनी सचेतनाको अभियान सञ्चालन गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बताए।
जुम्लामा कुल २९ वटा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन्। तीमध्ये चन्दननाथ नगरपालिकामा एउटा, गुठीचौर र हिमा गाउँपालिकामा तीन–तीनवटा, पातारासी, तातोपानी र सिंजा गाउँपालिकामा चार–चारवटा तथा तिला र कनकासुन्दरी गाउँपालिकामा पाँच–पाँचवटा बर्थिङ सेन्टर रहेको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार आर्थिक वर्ष ०७९-८० मा जुम्लामा एक हजार ७४२ जना गर्भवती स्वास्थ्य संस्थामा गएर सुत्केरी भए। तीमध्ये ७१ जना घरमै सुत्केरी हुनुपर्यो।
चन्दननाथ नगरपालिकामा ८५२ जना सुत्केरी भएकामध्ये सातजनाले घरमै सुत्केरी भए। तिला गाउँपालिकामा १४४ सुत्केरीमध्ये २२ जना घरमै सुत्केरी भएको देखिन्छ। हिमा गाउँपालिकामा पनि कुल १६० जना सुत्केरी भएकामध्ये ४२ जनाले घरमै सुत्केरी गराएका देखिन्छ।
तातोपानी गाउँपालिकामा ९३ जना गर्भवतीले स्वास्थ्य संस्थामा गएर सुत्केरी भए भने गुठीचौर गाउँपालिकामा ७८ जना गर्भवतीले स्वास्थ्य संस्थामा गएर सुत्केरी भए। तातोपानी र गुठीचौर गाउँपालिकामा घरमा सुत्केरी भएका महिलाको तथ्यांक भने उपलब्ध छैन। यस्तै, सिंजा गाउँपालिकामा १४९ जना सुत्केरी भए भने कनकासुन्दरी गाउँपालिकामा १६४ जना सुत्केरी भए। सिंजा र कनकासुन्दरीमा पनि घरमा सुत्केरी भएका महिलाको तथ्यांक देखाइएको छैन। यस अवधिमा पातारासी गाउँपालिकामा १४५ जना सुत्केरी भए। त्यहाँ पनि घरमा सुत्केरी भएका महिलाको संख्या उपलब्ध छैन।