एन्टिबायोटिक रेसिस्टेन्सको चुनौती विकासोन्मुख देशमा भयावह
‘एन्टिबायोटिक’ ब्याक्टेरिया मार्ने औषधि हो । पछिल्लो समय संसारभर नै ब्याक्टेरियाविरुद्ध लड्ने एन्टिबायोटिकको क्षमतामा ह्रास आइरहेको छ । यस्तो अवस्थालाई मेडिकल भाषामा ‘एन्टिबायोटिक रेसिस्टेन्स’ भनिन्छ । जथाभावी प्रयोगका कारणले गर्दा एन्टिबायोटिकले काम गर्न छाडेको देखिन्छ । जसले गर्दा एन्टिबायोटिक रेसिस्टेन्स संसारभर अहिले चुनौतीको विषय बनेको छ । एन्टिबायोटिक रेसिस्टेन्सको चुनौती विकसित देशमा भन्दा पनि विकासोन्मुख देशमा अझ भयावह छ ।
एन्टिबायोटिक औषधि स्वास्थ्य संस्था र मेडिकलमा सजिलै उपलब्ध हुन्छन् । यसको प्रयोगमा राज्यको निगरानी देखिँदैन । जसले गर्दा अनावश्यक प्रयोग बढेको हो । चिकित्सककहाँ आइपुग्दासम्म बिरामीले आफूखुसी खरिद गरेर एन्टिबायोटिक सेवन गरिसकेका हुन्छन् ।
नेपाल, भारतलगायत मुलुकमा ८० प्रतिशत बिरामीले औषधि पसलबाट एन्टिबायोटिकको प्रयोग गरेको पाइन्छ । सामान्य बिरामी भइहाल्यो भने चिकित्सकको परामर्शविना एन्टिबायोटिक दिइन्छ ।
एन्टिबायोटिक औषधि एक सयभन्दा बढी किसिमका हुन्छन्, तर संक्रमण रोक्न थोरै किसिमका यस्ता औषधि मात्र प्रयोगमा ल्याइन्छ । निमोनिया, पिसाबमा संक्रमण, घाँटीको संक्रमण, पेटमा संक्रमणलगायत विभिन्न समस्याको निवारणमा यस्ता औषधि प्रयोग गरिन्छ । संक्रमणको किसिम, अवस्थालगायत विभिन्न आधारमा फरक खालका एन्टिबायोटिक प्रयोग गरिन्छ । अर्थात्, बिरामीको जाँच गरेर मात्र औषधि सेवन गर्नुपर्ने हुन्छ ।
एन्टिबायोटिकको क्षमता कम हुनुका कारण
जथाभावी एन्टिबायोटिक प्रयोगले बिरामीमा नकारात्मक असर परिरहेको हुन्छ । सामान्य बिरामी तथा रोग लाग्यो भने चिकित्सककहाँ जानुको सट्टा मेडिकलमा गएर एन्टिबायोटिक खाने चलन छ । जसले गर्दा शरीरमा नकारात्मक असर पुगिरहेको हुन्छ ।
तसर्थ, चिकित्सकसँग परामर्श गरेर मात्रै औषधि किन्नुपर्छ । विशेषगरी मिर्गाैलाका बिरामीले पनि औषधि सेवन गर्दा ध्यान दिनुपर्छ । कतिपय अवस्थामा एन्टिबायोटिक औषधिको प्रयोग घातक पनि हुन सक्छ । जस्तै, गर्भावस्थामा एन्टिबायोटिक औषधि प्रयोग गर्दा यसले नकारात्मक परिणाम दिन्छ । त्यसैले चिकित्सकले सिफारिस नगरी आफैँ औषधि प्रयोग गर्नुहुँदैन । त्यस्तै, आफूले प्रयोग गरेर बाँकी रहेको एन्टिबायोटिक अरूलाई प्रयोग गर्न पनि दिनुहुँदैन ।
बिरामीले डोजअनुसार औषधि प्रयोग नगर्दा थप अन्य समस्या निम्तिन सक्छ र लामो समय निको नहुन सक्छ । त्यस्तै, यसको जभाभावी सेवन गर्दा मानिसमा दीर्घकालीन असर पर्छ । बिरामी हुँदा सामान्य एन्टिबायोटिकले काम गर्न सक्दैन ।
चिकित्सकले सिफारिस गरेको पूरा औषधि नखाँदा, पसलेले बिरामीको उमेर र तौलको अनुपातमा एन्टिबायोटिकको मात्रा मिलाएर नदिँदा, कीटाणुको जाँच नगरी नै औषधि दिँदा एन्टिबायोटिकको गलत प्रयोग हुन सक्छ । जसले गर्दा औषधिले काम गर्न छोड्छ ।
नेपालजस्ता विकासोन्मुख देशमा एन्टिबायोटिकको अधिक प्रयोग भइरहेको हुन्छ । बिरामीले औषधिको पूरा डोज नलिँदा तत्काल रोग निको भए पनि स्वास्थ्यमा नकारात्मक असर परिरहेको हुन्छ । त्यस्तै, कहिलेकाहीँ रोग निको नभएर मानिसमा एक किसिमको डर बढ्दै जान्छ । जसले गर्दा भयावह अवस्था सिर्जना हुन सक्छ । उपचारमा लामो समय लाग्ने हुँदा खर्चिलो हुन्छ । जसले गर्दा आर्थिक भार बढ्दै जान्छ । शरीरमा एन्टिबायोटिकले काम गर्न छाड्नुको प्रमुख कारण पनि यसको जथाभावी प्रयोग नै हो ।
शरीरमा एन्टिबायोटिक आवश्यक नभएको अवस्थामा पनि यसको प्रयोग गर्दा क्षमता घट्दै जाने गर्छ । जस्तो, भाइरल इन्फेक्सन अर्थात् रुघाखोकी सामान्यतया केही दिनमा आफैँ निको हुने गर्छ, तर यसका लागि समेत एन्टिबायोटिकको प्रयोग गर्ने गरिन्छ ।
रोकथाम
एन्टिबायोटिक औषधि विभिन्न किसिमका हुने भएकाले सम्बन्धित रोगको परीक्षणविना प्रयोग गर्नुहुँदैन । सबै एन्टिबायोटिक औषधि सबैका लागि उपयुक्त नहुन सक्छ । बच्चामा पनि एन्टिबायोटिक औषधिले असर पार्ने भएकाले निकै ख्याल गर्नुपर्ने हुन्छ । कसरी सेवन गर्ने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु राम्रो हो । तसर्थ, संक्रमणबाट बच्न सतर्क रहनुपर्छ । नियमित हात धुने, सरसफाइमा ध्यान दिने, स्वस्थ खानपान गर्ने, बिरामीसँग दूरी कायम राख्ने, आवश्यकताअनुसार खोपहरू लगाउनेलगायत उपायले विभिन्न संक्रमणबाट बच्न सकिन्छ ।
नियन्त्रणका केही उपाय
- सार्वजनिक जनचेता
- स्वस्थ खानपान अभ्यास
- नियन्त्रित फार्मेसी
- प्रभावकारी पहिचान र उपचार
- एन्टिबायोटिकको अधिक र गलत प्रयोगलाई निरुत्साहन
- कुखुरा÷बाख्रालगायत जनावर तथा तरकारीमा एन्टिबायोटिकको प्रयोग कम गर्ने ।