चिपको कमी, उच्च माग र वैश्विक आपूर्तिमा गिरावट आउँदा आन्दोलनअघि नै कारको मूल्य बढ्न थालेको हो
अमेरिकामा यतिवेला कार खरिदकर्ता आन्दोलनको नयाँ चरण ‘स्टिकर सक’मा प्रवेश गरेका छन् । युनाइटेड अटो वर्कर्स (युएडब्लू) ले गरेको यो आन्दोलनले छिटै विश्राम नलिएमा लोकप्रिय कारको आपूर्तिमा संकटको संकेत देखिन थालेको छ ।
जबसम्म यो आन्दोलन जारी रहन्छ, तबसम्म कार उत्पादनमा पनि उत्ति नै कमी आउनेछ । यस्तै, डिलरहरूले बिक्री बढाउन भनेर कार उत्पादक कम्पनीबाट पाउँदै आएको सुविधा पनि गुमाउनेछन् । र, यसको असर आमउपभोक्तामा देखिनेछ ।
केही विशेषज्ञ डिलर लट खाली हुन केही हप्ता लाग्ने बताउँछन् । फोर्ड, जनरल मोटर्स र स्टेलान्टिसले बिहीबार आन्दोलनअघि कारको सूची बनाउँदै युएडब्लूले कम्तीमा अहिलेका लागि तीनवटा प्लानमै आन्दोलन सीमित गर्ने घोषणा गरेका छन् ।
अटो उद्योगबारे जानकारी दिने एडमन्ड्स इन्साइट्सका निर्देशक इभान ड्रुरीका अनुसार अहिलेको कारको सूचीस्तर र बिक्रीको गति हेर्दा धेरैजसो कार खरिदकर्ताले केही महिनासम्म खासै परिवर्तन महसुस गर्नुपर्दैन । एडमन्ड्सको तथ्यांकअनुसार ‘डेट्रोइट थ्री’का सवारीसाधन अगस्टमा बिक्री हुनुअघि औसत ५२ दिन पहिले सूचीकृत थिए । जुन गत वर्षको सुरुवातमा ३१ दिनभन्दा बढी हो ।
युएडब्लूले कम मात्रै कार उत्पादन गर्ने फोर्ड ब्रोनकोस र रेन्जर, जिप र्यांग्लर्स, सेभ्रोलेट (मझौला साइज पिकअप) र जिएमसी भ्यान बनाउने कारखानामा आन्दोलन गर्न सुरु गरेको छ । कारण, व्यापारीसँग यी कारको स्टक पर्याप्त छ । युएडब्लूले फोर्डसँग अर्थपूर्ण छलफल भएको जनाइरहँदा स्टेलेन्टिसले भने युनियनलाई ताजा अवस्थाबारे जानकारी दिएको छ । स्टेलेन्टिसमा उत्तरी अमेरिकाका मुख्य सञ्चालक अधिकृत मार्क स्टेवार्टका अनुसार उनको कम्पनीसँग उपभोक्तामाथि परेको प्रभाव कम गर्न केही आकस्मिक योजना छन् । उनको भनाइमा कम्पनी ग्राहकलाई प्रोत्साहित गर्न चाहन्छ ।
आन्दोलन जारी रहँदासम्म कार उत्पादनमा पनि कमी आउनेछ । यस्तै, डिलरहरूले बिक्री बढाउन भनेर कार उत्पादक कम्पनीबाट पाउँदै आएको सुविधा पनि गुमाउनेछन् । र, यसको असर आमउपभोक्तामा नै देखिनेछ ।
यदि जारी आन्दोलन रोकिएन भने बजारमा कारका केही ब्रान्ड र मोडेलको कमी हुन सक्छ । यसमा पनि ठूला बिक्रेता या सवारीसाधनको आपूर्ति पहिल्यैदेखि कम भइसकेको छ । जसमा सेभ्रोलेट, सिल्भराडो र ताहोई, जिएमसी सिएरा र फोर्डको एफ–सिरिजअन्तर्गतका पिकअप भ्यान पर्छन् । तर, मेक्सिकोमा रहेका कार कम्पनीका प्लान्टले पाटपुर्जाको आपूर्ति हुँदासम्म केही मोडेल भने उत्पादन गर्न सक्छन् ।
डेट्रोइटको बिग थ्रीमार्फत कारको आपूर्ति आन्दोलन कति लामो समयसम्म चल्छ र यो अन्य प्लान्टमा कति तीव्रतापूर्वक फैलिन्छ भन्नेमा भर पर्छ । अटो विश्लेषक गारेट नेल्सन उत्पादक कम्पनीले बिक्री बढाउन डिलरलाई दिएको सुविधा खोसिन सक्ने बताउँछन् । उक्त सुविधाले डिलरलाई स्टिकर प्राइस घटाउन सघाउ पुग्नेछ । साथै, उनीहरू प्रायः बिस्तारै बिक्री हुने मोडेलमा केन्द्रित हुन सक्छन् ।
फोर्ड, जिएम र स्टेलेन्टिस र फिएट क्रिसरलका कार पाउन कठिन हुनेछ । यसको प्रभाव बजारमा अवश्य पर्छ । जो उपभोक्तालाई गाडी चाहिन्छ, उनीहरू सम्भवतः टोयोटा, होन्डा र टेस्लाजस्ता प्रतिस्पर्धीतिर आँखा लगाउनेछन् । तर, यी कम्पनीले मौकाको फाइदा उठाउँदै अतिरिक्त शुल्कसमेत लिन सक्छन् ।
अहिले व्यवसाय मात्रै होइन, मूल्य पनि सर्वत्र प्रभावित छ । गत वर्षको उच्चतम तुलनामा प्रयोग गरिएका कारको भ्यालुमा पनि अहिले गिरावट आएको छ । तर, यो फेरि बढ्न सक्छ । कारण, उपभोक्ताले सस्तो मूल्यमा नयाँ विकल्प खोजिरहेका छन् ।
यसैगरी, भाडामा कार लिने उपभोक्ता र अवधिको अन्त्यतिर आउने ग्राहकलाई मर्का पर्ने देखिन्छ । सेकेन्ड ह्यान्ड कारको बजार उच्च हुँदा भाडामा लगाउने कम्पनीले आफ्ना कार फिर्ता लिनुका साथै भाडाको समयावधिसमेत नथप्न सक्छन् । यसले कहीँ न कहीँबाट उपभोक्तालाई नै प्रभावित पार्छ । यसैगरी, अमेरिकामा जसले अहिले नयाँ, सेकेन्ड ह्यान्ड वा भाडामा कार लिन खोजेको छ, उसले उच्च ब्याजदरको सामना गर्नुपर्छ । बैंकरेटका अनुसार यो हप्ता नयाँ सवारी कर्जाको ब्याजदर ७.४६ प्रतिशत छ । त्यसैगरी, सेकेन्ड ह्यान्डका लागि ८.०६ प्रतिशत छ ।
उच्च ब्याजदरले दैनन्दिन जीवनलाई त प्रभावित पारेको छ नै, गाडी किन्न इच्छुक व्यक्तिलाई समेत हतोत्साहित गरेको छ । अमेरिकी केन्द्रीय बैंकले यो महिना सवारी कर्जाको ब्याजदर १४.२ प्रतिशत पुगेको बताएको छ । यो सन् २०१३ देखि बैंकले तथ्यांक राख्न सुरु गरेयताकै सर्वाधिक बढी हो ।
अटो श्रमिकको सम्भावित आन्दोलन सुरु हुनुअघिदेखि नै कारको मूल्य बढ्न थालेको विश्लेषक बताउँछन् । चिपको कमी, वैश्विक आपूर्तिमा गिरावट र उच्च माग हुँदा बजारमूल्य स्वतः बढ्यो । केली ब्लुबुकका अनुसार सन् २०२० मा नयाँ कारको औसत मूल्य ३९ हजार डलर थियो । तर, उक्त मूल्य बढेर यो वर्ष ४८ हजारमाथि पुगेको छ । आन्दोलन छिटै समाप्त भयो भने पनि कार उत्पादक कम्पनीको श्रममूल्य बढ्दा मूल्य नघट्ने निश्चितप्रायः छ ।
यता, युएडब्लूले चार वर्षमा ३६ प्रतिशत तलब वृद्धिको माग राखेको छ । साथै, अन्य माग पनि छन्, जसले कम्पनीको खर्च मात्रै वृद्धि गर्छ । शनिबार मात्रै स्टेलेन्टिसले प्रतिघन्टा तलबमा २१ प्रतिशत ज्याला वृद्धिका लागि नयाँ प्रस्ताव दिएको छ । यो फोर्ड र जिएमको प्रस्ताव भएको बताइएको छ ।
– एपी