केन्द्रीय समिति बैठकअघि आज शेखर–गगन समूहकोे भेला, शर्मा र पौडेललाई समेट्ने प्रयास
महाधिवेशनका लागि उम्मेदवारी घोषणा गर्ने वेला भइनसकेको बताउँदै आएका कांग्रेस नेता डा. शेखर कोइराला महाधिवेशनकेन्द्रित रणनीति निर्माणमा जुटेका छन् । ४ असोजमा तय केन्द्रीय समिति बैठकअघि डा. कोइरालाले इतरको भूमिका सशक्त बनाउने र आफ्नो समूह निर्माण गर्ने रणनीतिअनुसार काम थालिसकेका छन् ।
कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेल समेतलाई समेटेर यसको तयारी थालेका हुन् । यसैको तयारीस्वरूप कोइरालाले आज महामन्त्री शर्मा र युवा नेता पौडेलसमेतलाई बोलाएर इतर समूहको भेला बोलाएका छन् । कोइरालाले पहिलोपटक शर्मा र पौडेलसहितको भेला राखेका हुन् ।
कोइरालाका स्वकियसचिव दिनेशचन्द्र थपलियाका अनुसार मंगलबार (आज) २ बजे कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बोलाइएको भेलामा केन्द्रीय समिति बैठककेन्द्रित छलफल हुने र सामूहिक धारणा बनाइने बताए । ‘समसामयिक राजनीतिक र केन्द्रीय समिति बैठकको विषयमा सामूहिक धारणा बनाउन छलफलका लागि बोलाउनुभएको हो,’ थपलियाले भने, ‘छलफलमा इतर समूहका पदाधिकारी, केन्द्रीय सदस्य र प्रदेश सभापतिलाई आमन्त्रण गरिएको छ । महामन्त्री विश्वकप्रकाश शर्मा र प्रदीप पौडेललाई पनि छलफलमा बोलाइएको छ ।’
६ पुसमा संसदीय दलको निर्वाचनपछि १७ भदौमा कांग्रेसइतर समूहको भेलामा महामन्त्री शर्मा र युवा नेता पौडेल सहभागी भए । संसदीय दलको निर्वाचनपछि इतरसमूहका भेला र छलफलमा देखानपरेका महामन्त्री शर्मा र पौडेल पहिलोपटक शेखर–गगन समूहका नेतासँग बसेका थिए । पूर्वसहमहामन्त्री तथा इतरसमूहका नेता अर्जुन नरसिंह केसी र केन्द्रीय सदस्य बलबहादुर केसीको पहलमा अर्जुन केसीनिवास बुढानीलकण्ठमा नेताहरू जुटेका थिए ।
केन्द्रीय समिति बैठकअघि कोइराला–गगन समूहले महामन्त्री शर्मा र नेता पौडेलसहितका नेता एकै ठाउँमा रहेको सन्देश दिन चाहेको छ
उक्त भेलामा महामन्त्री थापा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरू केसी र दिलेन्द्र बडूसहित इतरसमूहका नेता सहभागी थिए । नेता कोइराला आफँै भने सहभागी भएका थिएनन् । कोइरालाले उक्त छलफलमा आफूलाई जानकारी नभएको बताएका थिए । सो दिन कोइराला तनहुँको कार्यक्रममा थिए ।
त्यसयता महामन्त्री शर्मा र नेता पौडेल इतरसमूहसँग नियमित सम्पर्कमा छन् । भ्रातृ संस्था, संसदीय दल र पार्टीमा आफ्नो समूहको भूमिका बेवास्ता गरेको इतरको निष्कर्ष छ । केन्द्रीय समिति बैठकअघि यो समूहले महामन्त्री शर्मा र नेता पौडेलसहित एकै ठाउँमा रहेको सन्देश दिन चाहेको छ । १७ भदौको भेलापछिको अवस्थाबारे एक पदाधिकारी भन्छन, ‘यसले कांग्रेसमा हलचल ल्याएको छ । तर, परिणाम नै देखिने अवस्था आइसकेको छैन ।’
१० साउनको केन्द्रीय समिति बैठकपछि शेखरको सक्रियता
२ देखि १० साउनसम्म बसेकोे केन्द्रीय समिति बैठकमा इतरको भूमिका कमजोर बनाएको र महामन्त्री थापाको प्रतिरक्षा नगरेको आरोप लागेका कोइरालाले पछिल्लो समय सक्रियता बढाएका हुन् । बैठकअघि उनीमाथि देउवासँग निकट भएको आरोप थियो । तर, उनले कुनै प्रतिक्रिया दिएका थिएनन् ।
बैठकपछि कोइरालाले आफूमाथि लागेका आरोपको स्पष्टीकरण दिनुप¥यो । १८ साउनमा कोइरालाले सभापतिसँग नजिकिएको र महामन्त्री थापासँग टाढिएको विषयमा सत्यता नरहेको स्पष्टीकरण दिएका थिए । उनले त्यसवेला १४औँ महाधिवेशनमा ४० प्रतिशत भोट पाएको र कसरी ६० देखि ७० प्रतिशत बनाउने भन्नेबारे सोच्नुपर्ने बताएका थिए ।
त्यसयता उनी आफ्नो समूह मिलाउन सक्रिय देखिन्छन् । इतरसमूहबाट सरकारमा मन्त्रीको नाम पठाउने अन्तिम समयमा जानकारी नदिई बुझाएको भन्दै महामन्त्री थापा कोइरालासँग रुष्ट थिए । इतरले पाएका तीन मन्त्रीको नाम कोइरालाले नै देउवालाई बुझाएका थिए । मन्त्री बनाउने समयमा तीन मन्त्री माग गरेकोमा दुई मात्रलाई देउवाले मन्त्री बनाएका थिए । पछिल्लो समय कोइराला जिल्ला जाँदा पनि महाधिवेशनकेन्द्रित ‘मुभ’ गरिरहेका छन् । त्यसक्रममा उनले दुवै पक्षका नेता कार्यकतासँग भेटघाट गर्ने गरेका छन् ।
बिपी साहित्य महोत्सवको समापन ३ असोजमा
बिपी साहित्य महोत्सवको समापन सत्रका कार्यक्रम ३ असोजका लागि तय भएका छन् । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको असामयिक निधनका कारण २६ भदौको महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित भएका थिए । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार संविधान दिवसको दिन महोत्सव यसअघि समापन सत्रका कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
समापन सत्रको कार्यक्रममा प्राध्यापक केदारभक्त माथेमाको ‘बिपीको समाजवादमा शिक्षा कस्तो हुन्थ्यो होला ?’ विषयमा ‘की नोट स्पिच’, समावेशिता, सामाजिक रूपान्तरण र बिपी, समय र सबाल्टर्न, बिपीका आख्यानमा नारी र परिवारले बुझेका बिपी गरी चार सत्र रहनेछन् । यसअघि राखिएका सांगीतिक साँझ भने यसपटक समावेश नगरिएको कांग्रेसले जनाएको छ । कार्यक्रम बिहान साँढे दशदेखि साँझ पाँच बजेसम्म हुनेछ ।
२४ भदौमा ११०औँ बिपी जन्मजयन्तीमा पहिलोपटक महोत्सवको आयोजना गरेको थियो । महोत्सव कांग्रेसको आयोजना, नेपाली लेखक संघको संयोजन र निरन्तर शनिबार, नेपाल सांस्कृतिक संघ र फाइन आर्टको सहयोगमा आयोजना भएको हो । १० साउनमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले बिपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो । संस्थापक नेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्मदिन २४ भदौलाई कांग्रेसले हरेक वर्ष बिपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ ।