Skip This
महत्वपूर्ण खनिजबारे गम्भीर हुनुपर्छ युरोप
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १ सोमबार
  • Monday, 17 June, 2024
वर्नर होयर
२o८o असोज १ सोमबार १o:५३:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

महत्वपूर्ण खनिजबारे गम्भीर हुनुपर्छ युरोप

Read Time : > 2 मिनेट
वर्नर होयर
नयाँ पत्रिका
२o८o असोज १ सोमबार १o:५३:oo

मानव इतिहासभर कच्चा पदार्थले आर्थिक विकास, अन्तर्राष्ट्रिय सम्बन्धका साथै सम्पूर्ण राष्ट्र र सभ्यताको भाग्यमा महत्वपूर्ण भूमिका खेली आएको छ । बहुमूल्य धातु (सुन, चाँदी) तथा कृषि वस्तु (चिनी, रबर, रेशम, मसला) देखि तेल र ग्यासजस्ता ऊर्जा स्रोतसम्मका कमोडिटीको मागमा प्राविधिक विकासक्रम प्रेरित परिवर्तनले विश्व व्यापारका ढाँचालाई पुनर्लेखन गरेको छ, समृद्धिलाई परिवर्तन गरेको छ र अक्सर द्वन्द्व र शोषणलाई बढवा दिएको छ ।

सन् २०२० को दशकमा लिथियम, ग्यालियम र जर्मेनियमजस्ता दुर्लभ खनिज पदार्थ (रेअर अर्थ एलिमेन्ट्स)सहितको नयाँ सेटका महत्वपूर्ण कच्चा पदार्थमाथिको हाम्रो निर्भरता बढ्दो क्रममा छ । यी धातु सौर्य प्यानल, ब्याट्री तथा वायु ऊर्जाका टर्बाइनदेखि रक्षा उद्योग तथा उद्योग क्षेत्रका लागि अपरिहार्य कम्प्युटर चिप्स निर्माणसम्मका लागि नभई हुँदैनन् । यो उपयोगिताले यी वस्तुलाई हरित एवं डिजिटल संक्रमणका लागि महत्वपूर्ण बनाएको छ । अब, यी कमोडिटीले यो ग्रहमा हाम्रो भविष्य निर्धारण गर्नेछन् ।

युरोप रेअर अर्थ इलिमेन्ट्स (आरइई) वा लिथियमको आफनो मागलाई घरेलु रूपमा कहिल्यै पूरा गर्न सक्षम हुनेछैन । यो उसको लक्ष्य पनि हुनुहुँदैन । यसको उद्देश्य बरु महत्वपूर्ण कच्चा पदार्थमा पहुँच सुरक्षित गर्नु हुनुपर्छ ताकि हामी यस्ता खनिजलाई हतियारीकरण गर्न खोज्नेहरूको फन्दामा नपरौँ । जसरी पछिल्लो समय क्रेमलिनले हाइड्रोकार्बनलाई हतियारीकरण गरेको छ । यस्ता सामग्रीको आपूर्ति सुनिश्चितता हाम्रो रणनीतिक स्वायत्ततालाई बलियो बनाउन, प्रतिस्पर्धात्मक क्षममतालाई कायम राख्न र हाम्रा जलवायु लक्ष्य पूरा गर्न निकै महत्वपूर्ण हुनेछन् ।

तर, यो लक्ष्य प्राप्त गर्न हामीले विगतका गल्तीबाट बच्नुपर्छ । कमसेकम एकल आपूर्तिकर्तामा अति निर्भर रहनुहुँदैन । कोभिड–१९ महामारी र युक्रेनमाथिको रुसी आक्रमणजस्ता हालैका घटनाक्रमले सबै आर्थिक क्षेत्रमा सुरक्षित आपूर्ति शृंखलाको महत्वलाई उजागर गरेको छ । ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका)लगायत विश्वका ठूला उदीयमान अर्थतन्त्रको प्रभावलाई पनि यी संकटले पर्याप्त उजागर गरेका छन् । महत्वपूर्ण कच्चा पदार्थलगायत थुप्रै विश्वव्यापी आपूर्ति शृंखलामा यी मुलुकको प्रभुत्व छ ।

हामीले डि–कार्बाेनाइजेसन र विद्युतीकरणको प्रयास जारी राखिरहँदा धातु एवं खनिजअझ महत्वपूर्ण हुँदै जानेछन् । सन् २०३० सम्ममा रेअर अर्थ इलिमेन्ट्सको मात्रै पनि विश्वव्यापी माग पाँच गुणाले बढ्ने अनुमान गरिएको छ । तर, यी वस्तुको आपूर्तिका लागि बजारमा एउटै देश हावी छ । लगभग ९० प्रतिशत आरइई, र विश्वको ६० प्रतिशत लिथियम चीनमा प्रशोधन गरिन्छ । युरोपेली संघ लगभग अधिकांश आयातीत आरइईका लागि चीन निर्भर छ ।

सामरिक रूपमा महत्वपूर्ण कच्चा मालवस्तुमा पहुँच इतिहासभर नै आर्थिक समृद्धि र विकासको एक प्रमुख निर्धारक रहिआएको छ । युरोपले आफ्नो रणनीतिक स्वायत्तता हासिल गर्न, आर्थिक प्रतिस्पर्धा कायम राख्न र जलवायु उद्देश्य पूरा गर्न यस शताब्दीका नयाँ कमोडिटीको आपूर्ति सुरक्षित नगरी हुँदैन । 
 

यस्तो निर्भरताको जोखिम कति गम्भीर हुन्छ भन्ने कुरा हामीले हालैको अनुभवबाट थाहा पाइसकेकै छाैँ । यी व्यवधानबाट बच्न युरोपले आफ्नो आपूर्ति शृंखलालाई विविधीकरण र जोखिममुक्त बनाउनु आवश्यक छ । तर, यो समस्याको अचुक औषधि छैन । यो समस्याको हल युरोपेली खानीमा लगानी गरेर मात्र समाधान हुनेछैन, न त यसले कुनै आर्थिक अर्थ राख्नेछ । यसको सट्टा, हामीले विश्वभरका हाम्रा विचार मिल्ने साझेदारहरूको उत्खनन तथा प्रशोधन क्षमता बढाउन उनीहरूसँग मिलेर काम गर्न आवश्यक छ । युरोपभित्रका उत्खनन परियोजनाको सन्दर्भमा पनि केही कठिन निर्णय लिनुपर्नेछ । हामीले शून्य उत्सर्जन अर्थ–व्यवस्थाको आधारशिला तयार गर्न आफ्ना रिफाइनरी र प्रशोधन प्लान्टमा थप लगानी गर्नुपर्नेछ । तर, यी विशाल उपक्रमहरू हुन । यसका लागि ठूलो र दिगो लगानीको आवश्यकता पर्छ ।

विगतका ‘ब्याट्री एलायन्स २०१७’ जस्ता पहलकदमीले हामी एकजुट हुँदा हामी सफल हुन सक्छौँ भन्ने देखाएका छन् । युरोप अहिले उन्नत हरित (सफा) ब्याट्रीका गिगाफ्याक्ट्रीमध्ये एकको घर हो । चाँडै, युरोपले आफ्ना विद्युतीय वाहन र ऊर्जा भण्डारणका लागि आवश्यक दुईतिहाइ लिथियम–आयन ब्याट्री उत्पादन गर्न थाल्नेछ ।

सफलताको कथा दोहोर्‍याउन हामीले महत्वपूर्ण कमोडिटीको यो चुनौतीलाई अलग्गै राखेर हेर्नु हुँदैन । सुरक्षित आपूर्ति सुनिश्चित गर्न सम्बन्धित सबै पहलकदमीलाई एउटै व्यापक नीतिभित्र एकीकृत गर्नुपर्छ । हामीले जलवायु परिवर्तनविरुद्धको लडाइँमा पनि यही गरेका छौँ । यस्तो दृष्टिकोण अपनाउँदा, हामी युरोपको विदेश नीतिबारेमा भने स्पष्ट हुनुपर्छ । हामीले रणनीतिक साझेदारीलाई गहिर्‍याउने र युरोप र अन्य साझेदार देशमा लगानी बढाउने लक्ष्य राख्नुपर्छ ।
यही वर्ष आएको इयू क्रिटिकल रअ मेटरियल्स एक्टले आवश्यक नीतिगत परिवर्तन गरिसकेको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले यही महिना आफ्नो स्टेट अफ द युनियनको सम्बोधनमा विश्वका अधिकांश देश विश्वव्यापी आपूर्ति शृंखलालाई सुरक्षित गर्न मिलेर काम गर्न आतुर रहेको उल्लेख गरेकी थिइन् । कुरा स्पष्ट छ, युरोपले महत्वपूर्ण खनिज तथा वस्तुको आपूर्तिमा आफ्नो पहुँच सुनिश्चित गर्न धेरै काम गर्नु आवश्यक छ । युरोपियन इन्भेस्टमेन्ट बैंक समूह (इआइबी गु्रप)ले विगत सात वर्षमा कच्चा वस्तुको आपूर्ति शृंखलालाई सुदृढ गर्न तीन अर्ब युरो (३.२ अर्ब डलर) प्रदान गरिसकेको छ ।

यद्यपि, युरोपको टुलबक्स अपर्याप्त रहेको कुरा हामी स्वीकार गर्छाैँ । इआइबी समूहले महत्वपूर्ण कच्चा पदार्थ वा माल वस्तुहरूको आपूर्ति शृंखलामा पहुँच सुनिश्चित गर्ने पहलमा काम गरिरहेको छ र हामी अरूलाई पनि यस्तै गर्न प्रोत्साहित गर्दै छौँ । हामी नियमनदेखि विशिष्ट र ठोस परियोजनासम्ममा काम गरिरहेका छौँ । सामरिक रूपमा महत्वपूर्ण कच्चा पदार्थमा पहुँच इतिहासभर नै आर्थिक समृद्धि र विकासको निर्धारक रही आएको छ । भविष्य सुरक्षित गर्न हामीले यस शताब्दीका नयाँ महत्वपूर्ण कमोडिटीमा आफ्नो पहुँचको सुनिश्चिततालाई उच्च प्राथमिकतामा राख्नुपर्छ । 
– प्रोजेक्ट सिन्डिकेटबाट
 

ad
ad
ad
ad