माओ त्से तुङ राज्यसत्ता बन्दुकको नालबाट हासिल हुन्छ भन्थे । यसलाई अर्को भाषामा भन्ने हो भने एक नेताको सफलता सैन्यशक्तिलाई नियन्त्रण गर्नुमा निहित हुन्छ । चीनका अहिलेका सुप्रिमो र माओका सच्चा चेला सी जिनपिङले यही सफलताको परिभाषा पछ्याएको देखिन्छ ।
सीले अहिले पाएको अख्तियारी मूलतः अघिल्लो दशकमा उनले चिनियाँ जनमुक्ति सेनामा गरेको आमूल परिवर्तनका कारण सम्भव भएको हो । तर, यी परिवर्तनका बाबजुद जनमुक्ति सेनाका उच्चपदस्थ व्यक्तिलाई किनारा लगाउने कामले सेनाकै क्षमता र सीको नेतृत्वमाथि प्रश्न खडा गरेको छ । यसलाई १४ र १५ सेप्टेम्बरका दिन मार्चमा नियुक्ति पाएका रक्षामन्त्री एवं राज्य पार्षद (चिनियाँ क्याबिनेटका वरिष्ठ सदस्य) जेनरल ली साङ्फुलाई अनुसन्धानका लागि हिरासतमा लिइएको समाचारले थप पेचिलो बनाएको छ । ६५ वर्षीय जनरल ली साङ्फु दुई सातायता सार्वजनिक जीवनमा देखिएका छैनन् र उनलाई ७ र ८ सेप्टेम्बरका दिन भियतनामी रक्षा नेतृत्वसँगको वार्षिक बैठकबाट पनि एकाएक बाहिर राखिएको थियो । चिनियाँ अधिकारी लीको अनुपस्थितिपछाडि उनको ‘अस्वस्थता’ औँल्याउँछन् ।
चिनियाँ सरकारले हालसम्म लीको गिरफ्तारीसम्बन्धी कुनै पनि समाचारलाई पुष्टि गरेको छैन । नियमित ब्रिफिङमा विदेश मन्त्रलायकी प्रवक्ताले यसबारे आफूलाई कुनै जानकारी नभएको बताएकी थिइन् । यदि सतहमा आएको समाचार पुष्टि हुन्छ भने ६ वर्षयता ली चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय सैन्य आयोगका बहालवाला सदस्यका रूपमा हिरासतको नियति व्यहोर्ने पहिलो व्यक्ति हुनेछन् ।
पार्टीको केन्द्रीय सैन्य आयोगले सी नेतृत्वको जनमुक्ति सेनामाथि नियन्त्रण राख्छ । यसबाहेक समाचार पुष्टि भएमा सीको किनारा लगाउने अभियान जनमुक्ति सेनाको परम्परागत एवं आणविक छेप्यास्त्र हेर्ने रकेट बलमा पनि पुगेको देखिन्छ । यही जुलाईमा चिनियाँ अधिकारीले रकेट बलका कमान्डर जनरल ली युचाउ र राजनीतिक कमिसार छु चोङ्बोलाई पनि एकाएक बर्खास्त गरेका थिए । बर्खास्तीको कारण खुलाइएको छैन । तथापि, यी दुई भ्रष्टाचार वा सैन्य गोपनीयता भंग गरेको आरोपमा छानबिनमा परेको अनुमान गरिएको छ ।
सीका अगाडि संगठित चुनौती नभए पनि जनमुक्ति सेनाभित्रको उथलपुथल, आर्थिक मन्दी र बढ्दो स्थानीय ऋणले उनको नेतृत्वमा शंका उत्पन्न गराउँछ
यसबाहेक उल्लिखित अधिकारीभन्दा वरीयतामा तल रहेका जनमुक्ति सेनाको सैन्य अदालतका अध्यक्ष मेजर जनरल चेङ दोङफाङलाई पदासीन भएको आठ महिनामै अस्वाभाविक ढंगले १ सेप्टेम्बरमा बर्खास्त गरियो । यसको पनि कारण खुलाइएन । प्रतिष्ठित पेकिङ विश्वविद्यालय पढेका जनरल चेङले पहिले हङकङको जनमुक्ति सेना सैन्य अड्डाको प्रवक्ता एवं कानुनी विभागका अध्यक्षका हैसियतमा काम गरेका थिए । उल्लिखित चार जनरलको नियुक्ति सीकै तजबिजमा भएको हो । तसर्थ, यी चारैजनाको पतनले सीको निर्णय वा निर्णयको प्रभावकारितामाथि प्रश्न खडा गर्छ । गत डिसेम्बरमा सीले नै नियुक्ति गरेका विदेशमन्त्री क्विन ग्याङको बर्खास्तीपछि पनि सीमाथि यस्तै प्रश्न उठेका थिए । विदेशमन्त्रीलाई हटाउँदा पनि चिनियाँ अधिकारीले अस्वस्थताको कारण अघि सारेका थिए ।
यी सबै जनरलको रकेट बलसँग जोडिनुका कारण अहिलेको परिस्थिति निम्तिएको हो भन्न सकिने ठाउँ छ । चीनको आणविक हतियारसमेत निरीक्षण गर्ने भएकाले यो बलको बजेटमा वृद्धि भएको छ । अहिलेसम्म भ्रष्टाचारको कुनै संकेत नदेखिए पनि ठूलो सैन्य बजेटले भ्रष्टाचार र कोषको दुरुपयोगलाई प्रोत्साहन गर्छ ।
रकेट बलको नेतृत्वका लागि सीले गरेका नयाँ छनोटले उनले बलभित्रको संरक्षणकारी सञ्जाल भत्काउन खोजिरहेका प्रतित हुन्छ, अर्थात् यसले विगतमा भ्रष्टाचार हुने गरेको संकेत देखिन्छ । बलका नयाँ कमान्डर जनरल वाङ हौबिन एक व्यावसायिक नौसेना अधिकारी हुन् । बलका नयाँ राजनीतिक कमिसार जनरल सु सिसेङले वायुसेनामा काम गरिसकेका छन् ।
भ्रष्टाचार जोखिमका लागि चिनिने हतियार विकास र खरिदमा दशकौँ लामो भूमिका पनि जनरल ली साङ्फुको हालको अवस्थाको अर्को सम्भावित कारक हुन सक्छ । इन्जिनियरका रूपमा प्रशिक्षित साङ्फुले चीनको मुख्य उपग्रह प्रक्षेपण केन्द्रमा ३० वर्ष काम गरेका थिए र अन्ततः यसको निर्देशक पनि बने । सन् २०१७ देखि २०२२ सम्म उनले केन्द्रीय सैन्य आयोगको उपकरण विकास विभागको नेतृत्व गरेका थिए जसमा २०१८ मा रुसी उपकरण खरिद गर्दा लागेको अमेरिकी प्रतिबन्धको सामना पनि पर्छ । यस वर्षको जुलाईमा विभागले सन् २०१७ यताका भ्रष्टाचारविरुद्ध नयाँ भ्रष्टाचारविरोधी अभियान सुरु गरेको छ ।
अन्य कारकमा राष्ट्रपति सीको अवज्ञा वा सैन्य अनुशासन उल्लंघन पनि हुन सक्छ । रक्षामन्त्रीका रूपमा जनरल लीले मुख्य रूपमा सैन्य कूटनीति सम्हाल्छन् न कि सैन्य कारबाहीलाई । तसर्थ, उनको सम्भावित बर्खास्तीले जनमुक्ति सेनाको सैन्य सामथ्र्यलाई तुरुन्तै असर नगर्न सक्छ । यद्यपि, यसले जनमुक्ति सेनाको मनोबल र विश्वव्यापी छविलाई उल्लेखनीय रूपमा क्षति पु¥याउन सक्छ । पहिलेका मुद्दाका लागि पूर्ववर्तीलाई दोष दिन सकिएला । तर, सीका मौजुदा चुनौतीमा अमेरिकाविरुद्ध सम्भावित ताइवान युद्धका लागि जनमुक्ति सेनालाई सक्षम शक्ति बनाउनु रहेको छ ।
सीका अगाडि कुनै संगठित चुनौती नभए पनि जनमुक्ति सेनाभित्रको उथलपुथल, आर्थिक मन्दी, बढ्दो स्थानीय ऋण, र वृद्ध जनसांख्यिकीय वृद्धिले उनको नेतृत्वमा शंका उत्पन्न गराउँछ । मौजुदा किनारा अभियानले विदेशीमाझ चीनको प्रणाली पश्चिमा लोकतन्त्रको स्थिर विकल्प हो भन्ने सीको प्रयासको झल्को दिन्छ । जापानका लागि अमेरिकी राजदूत रहम इमानुएलले गत साता ‘एक्स’मा चिनियाँ सरकारलाई अगाथा क्रिस्टीको उपन्यास ‘एन्ड देअर वेयर नन’सँग तुलना गरेका थिए । जनरल लीसँग सम्बन्धित समाचार आएपछिको सो पोस्टमा इमानुएलले ‘दालमे कुछ काला है’ भन्ने आशय व्यक्त गरेका थिए ।
(द इकोनोमिस्टबाट)