१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३१ आइतबार
  • Sunday, 11 May, 2025
२o८o भदौ ३१ आइतबार o८:४५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गत वर्ष नै सक्नुपर्ने गागनखोला पुल ६५% मात्रै सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ३१ आइतबार o८:४५:oo

पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिराहाखण्डको औरही गाउँपालिकामा औरही र दरहैया गाउँको सीमा नदी गागनमा पुल निर्माण सम्पन्न नहुँदा ओहोरदोहोर गर्नेहरू सास्ती भोग्न बाध्य छन् ।

सम्झौता भएको तीन वर्ष सात महिनाको अवधिमा पूर्व र पश्चिमतर्फ पिल्लरसहित एक–एकवटा स्पानको स्ल्याब ढलान भए पनि बीचभागको निर्माण अधुरो रहेकाले यात्रुहरू गागनको करिब तीन फिटसम्म पानीमा हेलिएर ओहोरदोहोर गर्न बाध्य भएका हुन् । 

हिराचन रोशन जेबीमार्फत रोशन कन्स्ट्रक्सनले निर्माण गरिरहेको पुल ८ साउन ०७९ भित्र निर्माण सकिने गरी ८ माघ ०७६ मा सम्झौता भएको थियो । सुस्त गतिमा पुल निर्माणको काम भइरहेकाले गाउँपालिका केन्द्र ओहोरदोहोर गर्नसमेत समस्या हुने गरेको औरही–१ हरट्टी दरहैयाका स्थानीय महेशकुमार यादवले बताए । पुल निर्माण ढिलो हुँदा बर्खामा पैदल, साइकल र मोटरसाइकलमा जोखिमपूर्ण ढंगले गागन वारपार गर्नुको विकल्प नरहेको उनको गुनासो छ । 

हुलाकी सडकअन्तर्गत सिराहा खण्डमा पर्ने पूर्व बलानदेखि पश्चिम कमला नदीसम्मका प्रायः सबै ठाउँका खोला–नदीमा पुल, कलभर्ट बने पनि गागनमा पुल निर्माण सम्पन्न नहुँदा हुलाकी सडक हुँदै दैनिक ओहोरदोहोर गर्ने सर्वसाधारण अप्ठ्यारोमा पर्ने गरेको औरही–४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद यादव बताउँछन् । करिब २० वर्षअघि औरही गाउँको पूर्वपट्टिबाट बग्ने गागनमा पुल निर्माण गरेको १० वर्षपछि बाढीले पुलदेखि करिब तीन सय ५० मिटर उत्तरतिर बाँध भत्काएर खोलाले धार परिवर्तन गरेको थियो । 

बाँध भत्काएर खोला पुरानो पुलभन्दा दुई सय मिटर पूर्वबाट बग्न थालेपछि स्थानीय बासिन्दा खोलाको पानीमा हेलिएर आवतजावत गर्न बाध्य छन् । पुल निर्माणको सम्झौता अवधि सकिएर आगामी पुससम्म म्याद थप हुँदासमेत करिब ६५ प्रतिशत निर्माण सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले जनाएको छ । योजना कार्यालयका साइट इन्जिनियर कौशलकिशोर यादवका अनुसार प्रिस्ट्रेस प्रविधिको एक सय २६ मिटर लम्बाइ र ११ मिटर चौडाइको गागन पुल निर्माणका लागि हिराचन रोशन कन्स्ट्रक्सनले १२ करोड ९२ लाख ४० हजार तीन सय १० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । 

पुलको पिल्लरसहित पूर्व र पश्चिमतर्फ गरी दुईवटा स्पानको स्ल्याब ढलान भइसकेको र आगामी पुससम्म बीचको स्ल्याब ढलान गरी असारसम्म पुल सञ्चालन हुने साइट इन्जिनियर यादवले बताए ।