सकेन सुन तस्कर र कर्मचारीबीचको सम्बन्ध स्थापित गर्न
हवाई कार्गाेमार्फत हङकङबाट नेपालमा सुन तस्करी गर्ने गिरोह र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबीचको सेटिङ खोतल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) असफल भएको छ । यद्यपि, भन्सार कर्मचारीले अप्रत्यक्ष रूपमा सुन तस्करीमा सघाएको भन्दै सिआइबीले केही कर्मचारीविरुद्ध भने मुद्दा दायर गर्न सिफारिस गरेको छ ।
बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा सिआइबीले चिनियाँ नेतृत्वको समुहले पटक–पटक गरी तीन सय ६२ किलो सात सय १६ ग्राम सुन ल्याएको दाबी छ । जसमा भन्सार जाँचपासमा संलग्न केही कर्मचारीले सघाएको भन्दै प्रहरीले पक्राउ पनि गरेको छ । तर, सुन तस्कर र कर्मचारीबीचको सम्बन्ध स्थापित गर्न प्रहरीले सकेको छैन ।
सुन छुटाउन सुन तस्करहरूले भन्सार एजेन्ट खटाएको र उनीहरूमार्फत नै कर्मचारीलाई प्रभावमा पारेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । कर्मचारी र भन्सार एजेन्ट सुन छुटाउनकै लागि भएको कुराकानी तथा लेनदेनजस्ता प्रमाण प्रहरीको अनुसन्धान प्रतिवेदनमा छैन ।
हालसम्मको अनुसन्धानमा विमानस्थलका अन्य निकायसँगको सेटिङ पनि नदेखिएको र यस विषयमा थप अनुसन्धान भइरहेको सिआइबीका अधिकारीको दाबी छ । सिआइबीले भन्सारका आठजना कर्मचारीलाई पक्राउ गरेकोमा उनीहरूमध्ये पाँचजनालाई भने मुद्दा चलाउन सिफारिस गरेको छ ।
सुन किन्नेहरू पत्ता लागेनन्
नेपाल प्रहरीका ४२ जना दक्ष अधिकृतहरू अनुसन्धानमा खटिए पनि तस्करीको सुनका खरिदकर्ता भने पत्ता लागेका छैनन् । साथै, उनीहरूलाई संरक्षण गरेका आशंका गरेका व्यक्तिमाथि पनि अनुसन्धान फितलो भएको छ । सुन तस्करीमा मिल्ने नेपाली व्यवसायी पनि पत्ता लागेका छैनन् ।
चिनियाँ गिरोहसँग मिलेर तस्करीको सुन खरिद–बिक्री गर्नेमध्ये रुपन्देहीमा सुमन खरेल र बाराका शिव सर्राफलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूबीच सात किलो सुन मात्र खरिद–बिक्री भएको छ । सर्राफले सुन भारतमा बिक्री गर्ने गरेको दाबी छ । तस्करीको आधाजसो सुन नेपालकै सुन पसलमा बिक्री हुने गरेको सूचना पाए पनि सुन पसलेहरू पक्राउ परेका छैनन् । अर्काेतर्फ यसअघि तस्करी भएको सुन पनि प्रहरीले बरामद गर्न सकेन ।
अर्काेतर्फ, सुन तस्करीका लागि सहजकर्ता नेपाल बस्दै आएका चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङसँग निकटता रहेका व्यक्तिहरूमाथि पनि सूक्ष्म अनुसन्धान हुन सकेको देखिन्न । पहुँचवाला शंकित व्यक्तिहरूले पुरानो मोबाइल लुकाएर नयाँ मोबाइल डिजिटल जाँचमा पठाएकाले पनि धेरै कुरा खुल्न सकेको स्रोत बताउँछ । तर, कतिपयलाई भने च्याटकै भरमा पनि प्रतिवादी बनाउन सिफारिस गरिएको छ ।
दावासँग निकटता देखिएका अछामका जीवन चलाउनेलाई गत २३ भदौमा सिआइबीले बोलाएर बयान कागज गराएको थियो । तर, त्यो बयान कागज हटाएर बुधबार मात्र पक्राउ पूर्जी जारी गराई उनलाई प्रतिवादी बनाइएको छ । यस्तै दावासँग सुनकै विषयमा कुराकानी गर्ने अन्य धेरैजनामाथि भने दोस्रो चरणमा अनुसन्धान हुने बताइएको छ । जसकारण अनुसन्धान फितलो हुन पुगेको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्यले अहिले अभियोजन भएपछि पनि अनुसन्धान जारी रहेन बताएकी छिन् । सरकारी वकिल कार्यालयले भने प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा आइतबार जिल्ला अदालतमा मुद्दा दायरको तयारी गरेको छ । प्रहरीले भन्सार ऐन २०६४, संगठित अपराध निवारण ऐन २०७० र नेपाल राष्ट्र बैंक ऐनअनुसारको कसुरमा अभियोजनको माग गरिएको छ । सुन तस्करीको लेनदेन क्रिप्टोमार्फत भएकाले नेपाल राष्ट्र बैंक आकर्षित भएको हो । सिआइबीले ५० जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ ।
तीन सय दुई किलो सुन तस्करी हुँदा भन्सार जाँचपासमा संलग्न अन्य ३६ जना कर्मचारीसँग पनि प्रहरीले सोधपुछ गरेको थियो । उनीहरूलाई पनि प्रतिवादी बनाउने तयारीमा रहेको प्रहरी भन्सार कर्मचारीको आन्दोलनले पछि हटेको छ । तीन सय ६२ केजीकै मागदाबी लिए पनि बरामद भएको ६० केजी सुन जाँचपासमा संलग्नलाई मात्र प्रतिवादी बनाउन सिफारिस गरिएको छ । संयोग कस्तो भने प्रहरीले उनीहरूलाई मुद्दा चलाउन नपर्ने भनेर सिफारिस गरेलगत्तै भन्सार कर्मचारीले आन्दोलन फिर्ता लिएका छन् ।
अनुसन्धानका नाममा प्रहरीले फसाउन खोजेको भन्दै गत आइतबारदेखि भन्सार कर्मचारीले सामूहिक राजीनामा दिनेदेखि भन्सार जाँचपास रोक्नेसम्मका चेतावनी दिएका थिए । दबाबकै भरमा कर्मचारीमाथिको मुद्दा प्रक्रिया रोकिएको सिआइबी स्रोत बताउँछ । प्रहरीले सेटिङको प्रमाण नभेटेपनि पटक–पटक सुन तस्करी हुँदा पनि भन्सार कर्मचारीले थाहा नपाउनु भने आश्चर्यजनक छ । ‘भन्सार एजेन्टमार्फत भन्सारका कर्मचारीले केही लाभ लिएको त देखिन्छ,’ अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारी भन्छन्, ‘तर, त्यो पैसा सुन पास गराएबापतकै हो भनेर पुष्टि गर्न सकेका छैनौँ । तर, भन्सार कर्मचारी निर्दाेष छन् भन्ने अवस्था पनि छैन ।’ प्रहरीले सुन तस्करीमा पहिलो चरणको अनुसन्धान सकेर बुधबार मात्र जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
दुई महिना थुनेपछि निर्दोष
सुन तस्करी गिरोहलाई सघाएको आरोपमा पक्राउ परेका केही व्यक्ति करिब दुई महिना थुनामा बसेपछि निर्दाेष देखिएका छन् । तर, अझै उनीहरू छुटेका छैनन् । सिआइबीले अनुसन्धान गरेकामध्ये ट्याक्सीचालक अशोक लामासहित सातजनालाई थुनामा राख्न नपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिललाई दिएको छ । ट्याक्सीचालक लामासहित कार्गाे सञ्चालक राजन श्रेष्ठ, चिनियाँ भाषा अनुवादक नरेश तामाङ, भन्सार एजेन्ट रुक्मिना सुब्बा तथा भन्सारका कर्मचारीहरू पुष्पा जोशी, कमल परियार र श्रीधर टन्डनलाई मुद्दा चलाउन नपर्ने निष्कर्ष छ ।
ट्याक्सीचालक लामा २ साउनदेखि नै पक्राउ परेका हुन् । चिनियाँलाई सटर खोजिदिने नरेश तामाङ ३ साउनदेखि थुनामा छन् । कार्गाे व्यवसायी श्रेष्ठ पनि थुनामा परेको ५० दिन भइसकेको छ । भन्सार एजेन्ट सुब्बालाई भने स्वास्थ्य अवस्थाका कारण थुनामुक्त गरिएको थियो । अन्य तीनजना भन्सार कर्मचारी भने गत साता मात्र पक्राउ परेका हुन् ।
प्रहरीको विशिष्टीकृत अनुसन्धान निकायले यसरी आशंकाकै भरमा दुई महिनासम्म थुनामा राखेर अहिले निर्दाेष भनेर सिफारिस गर्नु गलत भएको प्रहरीकै अधिकारी बताउँछन् । नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुबेर कडायत अनुसन्धानको क्रममा कोही व्यक्ति निर्दाेष देखिएमा अनुसन्धान अधिकृतले जिम्मामा लगाएर थुनामुक्त गर्न सक्ने बताउँछन् । तर, सुन तस्करी घटनाको अनुसन्धान प्रतिवेदनबारे आफूलाई विस्तृत जानकारी नभएको बताउँछन् । अपराध अनुसन्धानका क्रममा पहिला ‘थुन्ने अनि मात्र सुुन्ने’ प्रहरी नीति सुधार नहुँदा धेरै निर्दाेष व्यक्तिहरू फस्ने गरेका छन् ।
धेरै अनुसन्धान बाँकी नै छन् : किरण बज्राचार्य, निर्देशक, सिआइबी
अनुसन्धानको हदम्यादका कारण अहिले हामीले रेडी ट्रेडमार्फत तस्करी भएको सुनको मात्र मुद्दा प्रक्रिया अघि बढाएका छौँ । चिनियाँ समूहले अन्य पाँचवटा कम्पनीमार्फत पनि सुन ल्याएको देखिन्छ । त्यसमा विस्तृत अनुसन्धान गरी पूरक अभियोग लैजान्छौँ । विश्वका ठूला माफिया समूहकै शैलीमा संगठित रूपमा सुन तस्करी भएको छ । अपराधमा चिनियाँ मात्र होइन, ताइवान, मकाउमा रहेका व्यक्तिहरूको समेत संलग्नता देखिएको छ । चेक ब्रेक हुने गरी अत्याधुनिक प्रविधिको प्रयोग गरी अपराध गरेकाले अनुसन्धानमा समय लाग्छ । विस्तृत अनुसन्धान बाँकी नै छ । अन्य देशसँग पनि समन्वय गरी अनुसन्धान गरिरहेका छौँ । तस्कर समूहसँग सम्पर्क देखिएका व्यक्तिहरूमाथि गहिराइमै पुगेर छानबिन हुन्छ ।