Skip This
घरजग्गाको मूल्यवृद्धि मापन रोकियो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २९ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ २९ शुक्रबार o६:१७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

घरजग्गाको मूल्यवृद्धि मापन रोकियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ २९ शुक्रबार o६:१७:oo

नेपाल राष्ट्र बैंकले घरजग्गाको मूल्य सर्वेक्षण स्थगित गरेको छ । घरजग्गाको मूल्य सूचकांक निर्माण गर्ने उद्देश्य राखिएको यस्तो सर्वेक्षण रोकिएको हो । नेपालमा घरजग्गाको मूल्य निर्धारण व्यवस्थित नभएकाले मूल्यमा अस्वाभाविक उतारचढाव आउने कारण सूचकांक तयार गर्न कठिन भएको नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले बताए । घरजग्गा मूल्य सूचकांक तयार गर्न वस्तु तथा सेवाको मूल्य सूचकांकजस्तो सहज नहुने उनको भनाइ छ । उनले भने, ‘नेपालमा घरजग्गाको मूल्य निर्धारण व्यवस्थित नभएकाले मूल्यमा अस्वाभाविक उतारचढाव देखियो । यसले गर्दा सूचकांक तयार गर्न कठिन भइरहेको छ ।’

खासगरी घरजग्गाको बजारमा एकरूपता नहुने र मूल्यमा पनि अत्यधिक मोलमोलाइ हुनुका साथै मूल्य निर्धारणमा कुनै स्तरीय विधिसमेत नभएको उनको भनाइ छ ।  कतिपय अवस्थामा पुँजीगत लाभकरका कारण वास्तविक मूल्यभन्दा न्यून मूल्यमा कारोबार हुने गरेकाले घरजग्गाको मूल्य सूचकांक निर्माण कठिनाइ बन्दै गइरहेको छ । घरजग्गाको कारोबार नियमित नहुने र मूल्यमा समेत स्थान, क्षेत्रफल तथा उपलब्ध सुविधाले असर गर्ने उनले बताए । 

राष्ट्र बैंकले ०७८ मा भव्य कार्यक्रममार्फत पहिलोपटक यो सर्वेक्षण सार्वजनिक गरेको थियो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तोे प्रतिवेदन प्रत्येक त्रैमासमा सार्वजनिक गर्ने घोषणासमेत गरेका थिए । तर, जग्गाको मूल्यमा अस्वाभाविक उतारचढावको तथ्य आउन थालेपछि केन्द्रीय बैंकले प्रतिवेदन प्रकाशन नै स्थगित गरेको छ । 

केन्द्रीय बैंकले वाणिज्य बैंकको मूल्यांकन र मालपोत कार्यालयको मूल्यलाई आधार बनाएर मूल्य सर्वेक्षण ल्याएको थियो । त्यसलाई थप प्रभावकारी बनाउन घरजग्गा व्यवसायीबाट समेत मूल्य लिने प्रयासमा राष्ट्र बैंक थियो । तर, चलनचल्तीको मूल्यमै ठूलो अन्तर देखिएपछि केन्द्रीय बैंकले तत्कालका लागि यो सर्वेक्षण अगाडि बढाउन सकेको छैन ।

नेपालमा पहिलोपटक घरजग्गा मूल्य सर्वेक्षण गरिएको हुँदा अन्य देशले जस्तो जग्गाको क्षेत्र, आकार, मुख्य सडकसम्मको पहुँच, बाटोको साइज, मोहडा, व्यापारिक तथा आवासीयजस्ता पक्षलाई सूचकांकमा समावेश गर्न सकेको थिएन । त्यसमा पनि सहरी क्षेत्रको मात्रै समेट्दा देशभरको घरजग्गाको मूल्यलाई समेट्न सकेन । भारतीय रिजर्भ बैंकले २०१०–११ लाई आधार मानेर त्रैमासिक रूपमा घरजग्गाको मूल्य सूचकांक सार्वजनिक गर्दै आएको छ । उक्त बैंकले भारतका १० मुख्य सहरलाई नमुनाका रूपमा लिएर घरजग्गाको सूचकांक सार्वजनिक गर्दै आएको छ ।

केन्द्रीय बैंकले आर्थिक वर्ष ०७८/७९ र ०७९/८० को पहिलो दुई त्रैमासमा मूल्यवृद्धि अपेक्षा सर्वेक्षण गरेको थियो । तर, बजारमा त्यसको गलत अर्थ लगाएर मूल्यवृद्धि बढ्ने जोखिम बढेपछि केन्द्रीय बैंक यस्तो सर्वेक्षणबाट पछि हट्ने देखिएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासयता राष्ट्र बैंकले सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छैन । राष्ट्र बैंकले मूल्यवृद्धिलाई लक्षित सीमाभित्र राख्न यस्तो सर्वेक्षणको पनि सहायता लिने प्रयास गरेको थियो । संसारका धेरै केन्द्रीय बैंकहरूले मूल्यवृद्धिको अपेक्षा सर्वेक्षण गरिरहेका हुन्छन् । यसमा मानिसहरूको बुझाइमा भविष्यमा कतिसम्म महँगी पुग्छ भन्ने सर्वेक्षणमार्फत तथ्यांक संकलन गरिन्छ ।