एकपटक एउटा बालक पुतलीको बच्चा कोकुनबाट बाहिर निस्किन खोजेको मोहक दृश्य हेरिरहेको थियो । तर, त्यो सानो पुतलीले कोकुन फुटाउन सकेन र कोकुनमै अड्किरह्यो ।पुतलीको अवस्था देखेर त्यो बालक निकै दुःखी भयो ।
उसले पुतलीलाई असर नपर्ने गरी आफैँले त्यो कोकुन फुटाइदियो । उसको प्रयासपछि कोकुन फुट्यो र त्यो सानो पुतली पनि बाहिर निस्क्यो । यो देख्दा ऊ निकै खुसी भयो । उसले पुतलीलाई घरमा लगेर सुरक्षित राख्यो । ऊ व्यग्रतापूर्वक पुतली उड्ने दिनको पर्खाइमा बस्यो ।
तर अफशोच, त्यो सानो पुतलीका पखेटै पलाएनन् । परिणामतः ऊ कहिल्यै उड्न सकेन, घस्रिएरै यताउता हिँडिरह्यो । वास्तवमा सो बालकले पुतलीको पीडा देख्न नसकेर उसलाई सजिलो र राम्रो जीवन दिने प्रयास गर्यो । तर, उसैका कारण उडेर संसार चहार्नुपर्ने पुतलीको जीवन घस्रिएरै बित्यो ।
पुतलीले कोकुनबाट निस्किनुअघि आफ्नै संघर्षबाट पखेटा निकाल्छ, सो कोकुन फुटाउँछ र रमाउँदै उड्छ । बालकले कोकुनबाट बाहिर निकालिदिएपछि उसले पखेटा उमार्ने मौका पनि पाएन र उड्न पनि सिक्न सकेन ।
हामी सबै सजिलो खोज्छौँ । आफ्ना बालबालिकालाई हरसम्भव सजिलो वातावरण दिन चाहन्छौँ । पखेटा फिँजाएर उड्ने क्षमता भएका सन्तानलाई हामी परजीवी बनाउँदै छौँ । परिणामतः सो पुतलीजस्तै हाम्रा सन्तान पनि पखेटा उम्रिन नसकी घस्रिरहेका छन् । हामीचाहिँ उनीहरूलाई सुविधा जुटाइदिएकोमा मख्ख छौँ ।