
नेपाल उद्योग परिसंघले नेपालमा लगानी एवं व्यावसायिक सम्बन्ध विस्तार गर्न चीनलाई आग्रह गरेको छ । परिसंघले मंगलबार नेपालका लागि चिनियाँ राजदूत चेन सोङलाई भेटेर यस्तो आग्रह गरेको हो । परिसंघ अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले राजदूत सोङसँग भेट गरी लगानी एवं व्यावसायिक सम्बन्ध विस्तारका विषयमा छलफल गरेको हो ।
अध्यक्ष अग्रवालले नेपालका लागि चीन विकासको महत्वपूर्ण साझेदार रहेको भन्दै पूर्वाधार क्षेत्रमा सहकार्य गर्न आवश्यक रहेको बताए । उनले पूर्वाधार, प्रविधि हस्तान्तरण, सीप, पर्यटनलगायतका क्षेत्रमा चिनियाँ लगानी एवं सहकार्यलाई उच्च प्राथमिकता दिन राजदूतलाई आग्रह गरे ।
विद्युतीय व्यापारका माध्यमबाट नेपाली वस्तु चिनियाँ बजारमा पुर्याउन सहयोग गर्न पनि उनले आग्रह गरे । त्यस्तै, परिसंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी)बीचको सहकार्यमा नेपालमा देखिने गरी काम गर्न लागेको समेत राजदूत सोङलाई जानकारी गराए ।
सो अवसरमा चिनियाँ राजदूत सोङले चीन र भारतको बीचमा भएर सानो देखिए तापनि नेपाल सानो मुलुक नभएको बताए । नेपालसँग भएको आफ्नो ऊर्जा र स्रोतमार्फत विकास गर्न सक्ने भन्दै उनले दीर्घकालीन विकास रणनीति आवश्यक रहेकोमा जोड दिए । राजदूत सोङले ऊर्जा क्षेत्रलाई प्राथमिकता दिँदै नेपालले विद्युतीय प्रयोग बढाउनुपर्ने सुझाव दिए । त्यसले आयात प्रतिस्थापनमा सहयोग गर्ने उनको भनाइ थियो । नेपालको औद्योगिक विकासका लागि चीनले सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका विषयमा समेत छलफल भएको थियो ।