१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
रासस काठमाडौं
२०८० भदौ १५ शुक्रबार १६:२४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भक्तपुरको बाल सुधारगृहको घटना लापरबाही र उदासीनताका कारण : इन्सेक

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
२०८० भदौ १५ शुक्रबार १६:२४:००

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले यही भदौ ३ गते भक्तपुरको बाल सुधारगृहमा भएको घटना लापरबाही र उदासीनताका कारण भएको निष्कर्षसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।

बाल सुधारगृहमा रहेका एक बालकको मृत्यु भएपछि सुधारगृहबाट बालबालिका भागेको तथा प्रहरीसँगको झडपका सम्बन्धमा इन्सेकले स्थलगत अध्ययन गरेको थियो। अध्ययन प्रतिवेदनमा बाल सुधारगृहमा न्यूनतम सुविधा पनि नभएको पाइएको उल्लेख छ । साथै, न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप)को लापरबाही र प्रशासनको उदासीनताका कारण उक्त घटना भएको अध्ययनको निष्कर्ष छ।

प्रतिवेदनमा सुधारगृहमा रहेका १८ वर्षे कमल बस्नेतले होस्टल वार्डेनसँग औषधि मागेको र वार्डेनले निको नामको औषधि दिएर पठाएको उल्लेख छ । साथै बस्नेत भदौ ३ गते बिहान ६ बजेतिर अचेत अवस्थामा फेला परेपछि मध्यपुर थिमी नगरपालिका– ३ गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा लगिएको प्रतिवेदनमा उल्लेख छ ।

ज्वरो र पिलोका कारण बिरामी बस्नेतलाई समयमा नै उपयुक्त उपचारका लागि अस्पताल नलगिएका कारण मृत्यु भएको अध्ययनका क्रममा पाइएको छ । मन्थली नगरपालिका– ३ कठजोरका बस्नेतको यही भदौ ३ गते बिहान ६ बजेतिर मृत्यु भएको थियो।

बस्नेतको मृत्यु भएपछि त्यहाँ रहेका अन्य बालबालिका तथा मृतकका आफन्त आन्दोलित भएका थिए। उनीहरूले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र पीडित पक्षलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै माग गरेका थिए। सोही क्रममा प्रहरीसँगको झडपपछि सुधारगृहभित्र रहेका दुई सय २१ जना बालबालिका सुधारगृहको पछाडिको ढोका फोडेर बाहिर भागेका थिए।

कारागार व्यवस्थापन विभागमातहत रहेको र युसेप नेपालको व्यवस्थापनमा मध्यपुर थिमी नगरपालिका– २ सानोठिमीमा सञ्चालित बाल सुधारगृहमा जिल्ला अदालत रामेछापको ०७७ जेठ २९ गतेको आदेशपछि बस्नेत थुनामा थिए।

‘बाल सुधारगृहका सम्बन्धमा दीर्घकालीन रूपमा बाल सुधारगृह व्यवस्थापनमा संलग्नहरूलाई अनुसन्धानको प्रक्रियामा ल्याउन, सुधारगृहभित्रको आन्तरिक व्यवस्थापनमा सुधार गर्न, भदौ ३ र ४ गतेको घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानबिन गर्न, सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका नराख्ने व्यवस्था गर्न र १८ वर्षभन्दा बढी उमेर पुगेकाहरूलाई सुधारगृहमा बालबालिकासँग नराख्ने व्यवस्था गर्नु जरुरी देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ ।

अध्ययन प्रतिवेदनमा बाल सुधारगृहको सञ्चालनको जिम्मा सरकारले नै लिनुपर्ने र सुधारगृहलाई सुधारगृहकै रूपमा विकास गर्न आवश्यक भएको तथा सुधारगृहभित्र कारागारकै जस्तो भित्री सत्ताको अन्त्य गर्ने र बालमैत्री व्यवस्थापनमा जोड दिनु आवश्यक भएको उल्लेख छ ।

सुधारगृहभित्र रहेका बालबालिकाको स्वास्थ्य परीक्षणको व्यवस्था नगरेको, मानसिक स्वास्थ्यमा हेरचाह नगरेको, खानपिन, खानेपानीको प्रबन्ध नगरेको र वृत्ति विकासका लागि कुनै पहल नगरेको जनाउँदै भदौ ४ गते सुधारगृहका बालबालिका आन्दोलित भएका थिए।

प्रहरीसँगको झडपका क्रममा नेपाल प्रहरीतर्फ ११ जना र सशस्त्र प्रहरीतर्फ आठजना गरी १९ जना र १० जना बालक घाइते भएका थिए। घाइते बालकमध्ये रबरको गोली लागेका (घाइतेका आफन्तको भनाइअनुसार) एकजनाको अवस्था गम्भीर छ । घाइते बालकको राष्ट्रिय ट्रमा सेन्टरको आइसियूमा उपचार भइरहेको छ। घटनापछि बाहिर निस्केका दुई सय २१ बालकमध्ये चारजना अझै सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।