
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ असोजदेखि सञ्चालन गर्न लागेको ‘बस र्यापिड ट्रान्जिट’ (बिआरटी–द्रुत बस) निर्धारित समयमा सञ्चालन हुने सम्भावना कम देखिएको छ । सडक विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले हालसम्म द्रुत बस सेवा सञ्चालन गर्ने डेडिकेटेड लेन र अन्य पूर्वाधारमाथि काम सुरु नै नगर्दा समयमै उक्त बस सेवा सञ्चालन नहुने अवस्थामा पुगेको हो ।
बस सञ्चालनको २० दिन मात्रै बाँकी रहँदा कुन बसलाई द्रुत सेवामा सञ्चालन गर्ने, लेन मार्किङ, बस स्टप, ट्राफिक लाइट, सञ्चालनको समयसीमा, रुट व्यवस्थापन, समयतालिका, भाडादर निर्धारण, ट्राफिकसँग समन्वय गर्ने, सर्वसाधारणलाई सूचनालगायत काम नै सुरु भएको छैन । ४ साउनमा बसेको भौतिकमन्त्रीस्तरीय बैठकले १ असोजदेखि द्रुत बस सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
यसका लागि यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरीलगायतलाई कार्य विभाजन गरिएको थियो । जिम्मेवारीअनुसार विभागले डेडिकेटेड लेनमा मार्किङ गर्ने, ट्राफिक लाइट राख्ने, चिह्नहरू राख्ने, डिभाइडरको व्यवस्था गर्नेलगायत काम बाँकी छन् । पहिलो चरणमा सरकारले भक्तपुरको सूर्यविनायक–रत्नपार्क सडकखण्डमा एक लेनमा यो बस गुड्न सक्ने गरी लेन मार्किङ गर्न सडक विभागलाई जिम्मा दिएको थियो ।
तर, विभागले हालसम्म करिब आठ किमि सडकखण्डमा लेन मार्किङलगायत पूर्वाधार तयारीसम्बन्धी काम थालनी नै गरेको छैन । द्रुत बस सेवा सञ्चालनका लागि समयसीमा तोक्ने, भाडादर तोक्ने, बस कम्पनीसँग सम्झौता गर्ने, स्टप तोक्नेलगायत कार्य यातायात व्यवस्था विभागको भए पनि विभागको काम पनि शून्य अवस्थामा छ । यस्तै, द्रुत बस सेवाबारे जानकारी दिने मोबाइल एपसमेत निर्माण भएको छैन ।
यातायातविज्ञ आशिष गजुरेलका अनुसार १ असोजदेखि सञ्चालनको घोषणा भए पनि तयारी भने झिनो छ । ‘यस्तो बस सेवा सञ्चालन चानचुने विषय होइन, यसमा धेरै गृहकार्य चाहिन्छ, तर हामीकहाँ गृहकार्य भएकै छैन,’ उनले भने ।
बिआरटीअन्तर्गतका बसले ट्राफिक लाइट वा ट्राफिक प्रहरीले रोकेको जाममा रोकिनुपर्दैन । फरक लेनबाट सीमित यात्रु बोकेर बस हुइँकिन्छ । छुट्टै लेन, नियम, टाइम कार्ड, रुटअनुसार चल्ने सुधारिएको बस सेवालाई बिआरटी बस सेवा भनिएको हो । उपत्यकाको ट्राफिक जाम कम गर्न, स्टेसनहरूमा धेरै समय नरोकी यात्रुहरूलाई गन्तव्यमा छिटो पुर्याउन र सार्वजनिक यातायातप्रति सर्वसाधारणको आकर्षण बढाउन बिआरटी बस सेवा सञ्चालन गर्न लागिएको भए पनि सञ्चालनका लागि गृहकार्य नगर्दा समयमै यस्तो बस सेवा सञ्चालन नहुने देखिएको छ ।
जिम्मेवार निकायको बेवास्ता
द्रुत बस सेवा सञ्चालनका लागि यातायात व्यवस्था विभागले कार्ययोजना (एक्सन प्लान) तयार पारी २४ असारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाएको थियो । त्यससँगै ४ साउनमा थप छलफल गर्न बसेको बैठकले द्रुत बस सेवा सञ्चालन गर्ने निर्णय गर्दै आवश्यक तयारी गर्न मातहतका निकायलाई कार्य विभाजनसमेत गरेको थियो । तर, मन्त्रीले नै तोकेको कार्य विभाजनमा सम्बन्धित निकायहरू जिम्मेवार देखिँदैनन् ।
सो बैठकले तत्कालका लागि यो बससेवा अत्यधिक जामको समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन गरिने निर्णय पनि गरेको थियो । कार्ययोजनाअनुसार सुरुमा सूर्यविनायक–रत्नपार्क रुटमा २५ वटा बस बिआरटीअन्तर्गत सञ्चालन गरिनेबारे मन्त्रीस्तरीय बैठकले निर्णय गरेको थियो । यी बसले बढी भाडा लिन पाउनेछैनन् भने यात्रुहरूले तोकिएका स्टपमा मात्रै बस चढ्न र ओर्लन पाउँछन् । तर, कुन कुन बसलाई यो मापदण्डअनुसार सञ्चालन गर्ने भन्नेबारे निक्र्योल हुन मेत बाँकी नै छ ।
यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ असोजदेखि बिआरटी बस सञ्चालन गर्ने भने पनि तयारी सुरु नभएको स्विकारे । ‘हामीले बस कम्पनीहरूलाई बिआरटीको मापदण्डअनुसार सञ्चालन गर्न मौखिक सहमति गरिसकेका छौँ, तर सडक विभागले सडक संरचना तयार पारेको छैन,’ उनले भने, ‘लेन मार्किङ, चिह्न र डेडिकेटेड लेनबारे विभागले काम गरेन ।’ सडक विभागले यी काम सके १ असोजदेखि बिआरटी बस सञ्चालन गर्न सकिने उनको दाबी छ । तर, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले वर्षायाम भएकाले लेन मार्किङलगायत काम गर्न कठिन भएको जानकारी दिए । उनले तोकिएको समयमा बिआरटी बस सञ्चालन हुने दाबी गर्दै अझै धेरै समय बाँकी रहेको बताए ।