
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्ट्रोफिट भइरहेको सिंहदरबारको पश्चिमखण्डको काम छिटो सम्पन्न निर्देशन दिएका छन् । रेक्ट्रोफिट भइरहेको भवनको बिहीबार स्थलगत अनुगमन गर्दै उनले छिटो काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भूकम्पले क्षति पुर्याएको सिंहदरबारलाई रेक्ट्रोफिट गरेर पुनः पुरानै अवस्थामा पुनर्निर्माण गर्नु सुखद भएको बताए । केन्द्रीय आयोजना कार्यान्वयन इकाइ भवन र निर्माणमा संलग्न शर्मा न्यू टेक्निकल जेभीका प्रतिनिधिसँग छलफल गर्दै उनले पुनर्निर्माण सम्पन्नपश्चात देखिने बाहिरी र भित्री कक्षहरूको थ्रिडी एनिमेसनको अवलोकन पनि गरे ।
सहरी विकासमन्त्री सीता गुरुडले रेक्ट्रोफिटको काम सम्पन्न हुने चरणमा पुगेको बताउँदै इन्टेरियरको काम पनि अघि बढाउने बताइन् । उनले पुनर्निर्माण भइरहेको पश्चिमखण्डमा प्रधानमन्त्री र मुख्यसचिवको कार्यकक्ष रहने गरी गृहकार्य गरिएको जानकारी दिइन् ।
सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ भवनले सिंहदरबार पश्चिमखण्डको रेक्ट्रोफिटको काम गरिरहेको छ । ०७६ बाट सुरु भएको रेक्ट्रोफिटको काम ९५ प्रतिशत सम्पन्न भएको छ । करिब ४२ करोड लगानीमा पश्चिमखण्डको रेक्ट्रोफिटको काम भइरहेको हो ।
त्यसक्रममा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ भवनका निर्देशक कोषनाथ अधिकारीले प्रधानमन्त्री प्रचण्डलाई रेक्ट्रोफिटकोे काम सम्पन्न गरेर इन्टिरियरको ठेक्का पनि तत्काल लगाउने प्रक्रिया अघि बढाएको जानकारी गराए । उनका अनुसार पश्चिमीखण्डमा रहेको पोखरी र पार्क सौन्दर्यकरणको काम पनि अगाडि बढाउन लागिएको छ ।