
कारागार कार्यालय रामेछापमा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गर्दै आएका एक कैदीबन्दीको ज्यान गएको छ।
जिल्लाको उमाकुण्ड गाउँपालिका– ६ रोटेका वर्ष ८४ का पदमबहादुर श्रेष्ठको गएराति ज्यान गएको हो। कारागारमा कैद भुक्तान गर्दै गरेका श्रेष्ठ बाथरुम जाँदा लडेर घाइते भएका थिए।
घाइते श्रेष्ठलाई कारागार कार्यालय रामेछापले उपचारका लागि तत्कालै जिल्ला अस्पताल रामेछाप भर्ना गरेको थियो। उनको उपचारको क्रममा गएराति मृत्यु भएको कारागार कार्यालय रामेछापका प्रमुख रूपलाल तामाङले जानकारी दिए।
कैदीबन्दी श्रेष्ठ प्यारालाइसिस र प्रेसरका बिरामी थिए। उनले नियमित रूपमा प्रेसरको औषधि सेवन गर्दै आएका थिए।
जबर्जस्ती करणी मुद्दामा श्रेष्ठलाई जिल्ला अदालत रामेछापले जन्मकैदको फैसला सुनाएको थियो। अदालतको फैसलाअनुसार उनलाई २८ असार ०७७ मा कारागार रामेछापमा चलान गरिएको थियो।