१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ४ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ४ सोमबार २१:३२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनकाण्डमा जोडिएका विमानस्थलका एक्सरे टेक्निसियन ढकाल भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ४ सोमबार २१:३२:oo

अवैध सुन पैठारी प्रकरणमा समेत जोडिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक्सरे टेक्निसियन राजकुमार ढकाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। उनले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भनी दायर मुद्दामा विशेष अदालतले सोमबार उनलाई कसुरदार कायम गरेको हो। 

मुद्दा दायर भएको तीन वर्षपछि नायब सुब्बा ढकाल दोषी ठहर भएका हुन्। उनलाई चार महिना कैद र जरिवाना हुने सजाय सुनाइएको हो। न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले सोमबार उनीसमेत तीनजना प्रतिवादी रहेको मुद्दामा आंशिक ठहर हुने फैसला गरेको हो। 

विशेषका अनुसार ढकालले कुल दुई करोड ८६ लाख ३८ हजार रुपैयाँभन्दा बढी रकम खर्च गरेको, तर वास्तविक आय एक करोड ७ लाख ४६ हजार रुपैयाँ मात्र हुनुपर्ने विशेषको ठहर छ। वास्तविक र वैध आयभन्दा बढी देखिएको डेढ करोडभन्दा बढी रकमलाई बिगो कायम गर्दै विशेषले उक्त रकम जरिवाना तिराउने फैसला गरेको हो।

अख्तियारले भने ढकालले दुई करोड रुपैयाँभन्दा बढी रकम अवैध रूपमा आर्जन गरेको दाबीसहित अभियोगपत्र दायर गरेको थियो। ढकाल २०७० देखि २०७३ पुससम्म विमानस्थलमा कार्यरत थिए। 

यस मुद्दाका प्रतिवादी तथा ढकालकी श्रीमती निरजरा घिमिरे र राममणि लामछिानेलाई जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकोमा उनीहरूका नाममा रहेको सम्पत्ति जफतसमेत हुने भएको छ। ढकालले आर्जन गरेको सम्पत्ति यी दुईजनाका नाममा राखेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी थियो। 

लामिछानेले गैरकानुनी आर्जनमा मतियारको भूमिका खेलेको दाबी अख्तियारको थियो। तर, उनले अनुसन्धानमा यथार्थ व्यहोरा खुलाई सहयोग गरेको भन्दै सजाय छुटको दाबीसहित ३ वैशाख २०७७ मा मुद्दा चलाइएको थियो।  

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २०(१) अनुसार गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको कसुरमा ढकाल दोषी ठहर भएका हुन्। आरोपपत्रमा उल्लेख भएअनुसारकाे सम्पत्तिसमेत जफत हुने फैसलामा जनाइएको छ। 

पुस २०७३ मै दुबईबाट आएको ३३ किलो सुन प्रकरणमा उनीसमेत जोडिएका थिए। उनीसमेतको संलग्नतामा उक्त सुन आएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई नियन्त्रणमा लिएको थियो। 

ढकालले तस्करहरूसँग हिमचिम बढाएर उनीहरूलाई विमानस्थलबाट सुन पास गराउन सहयोग गर्ने गरेका थिए। एक्सरे मेसिनबाट सुन र सुन ल्याउने मान्छे पास गराउन उनले सहयोग गर्ने गरेको दाबी अख्तियारको थियो।

साढे ३३ किलो सुन प्रहरीले बरामद गरेपछि अनुसन्धानका क्रममा ढकाल पनि पक्राउ परेका थिए। जसपछि उनीउपर गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा पनि दायर भएको हो। 

३३ किलो सुन प्रकरणमै जोडिएका अर्का एक रेडियो अपरेटरसमेत गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा यसअघि नै दोषी ठहर भइसकेका छन्। विमानस्थलको भन्सार कार्यालयमा रेडियो अपरेटर पदमा कार्यरत श्यामकृष्ण च्वामु श्रेष्ठलाई गत २४ माघमा विशेषले एक वर्ष तीन महिना कैद तथा २ करोड २८ लाख रुपैयाँभन्दा बढी रकम जरिवाना हुने फैसला गरेको थियो।