
बालिका ६ महिनाकी गर्भवती भएको थाहा भएपछि मात्रै घटना बाहिरिएको प्रहरीको भनाइ छ
हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिकामा नौजना युवाले १५ वर्षीया बालिकामाथि बलात्कार गरेको घटना छ महिनापछि बाहिरिएको छ। बलात्कार भएकाे छ महिनापछि परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएसँगै घटना बाहिरिएको हो।
वडा नं ६ बस्ने बालिकामाथि स्थानीय युवाहरूले पटक-पटक बलात्कार गरेको किटानी जाहेरी परिवारबाट जिल्ला प्रहरी कार्यालयमा आएपछि संलग्न नाैजनामध्ये तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए।
पक्राउ परेका तीनमध्ये दुईजनालाई जुम्लाबाट र एकजनालाई गाउँबाटै नियन्त्रणमा लिइएको हो। ६ जना युवा फरार छन्।फरार रहेकाहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ। फरार भएका युवालाई पक्राउ गर्न सजिलो होस् भनेर नियन्त्रणमा लिइएका युवाहरूको परिचय प्रहरीले गोप्य राखेको छ।
बलात्कार भएकी बालिकाको पेटमा छ महिनाको गर्भ रहेको खुलेको छ। गर्भवती भएकी नाबालिकालाई हेरचाह केन्द्रमा स्थानान्तरण गर्नका लागि कर्णाली प्रदेश सुर्खेतमा समन्वय भइरहेको प्रहरीले जनाएको छ।
पीडित बालिकाको परिवार निम्नवर्गको भएकाले गाउँमै घटना मिलाउन दबाब दिइएको थियाे। पछि बालिका गर्भवती भएको थाहा भएपछि मात्रै घटना बाहिरिएको प्रहरीको भनाइ छ। बलात्कृत बालिका कक्षा ७ मा अध्ययनरत छिन्।