१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:५६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘सरकारले राम्रो काम गर्दा भ्रष्टाचारी छटपटिनु, संरक्षक सल्बलाउनु सामान्य’ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:५६:oo

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरुवात गरेको भ्रष्टाचारविरुद्धको अभियानमा कोही निर्दोष नफस्ने र कोही पनि दोषी उम्कन नसक्ने बताएका छन्।

गोरखाको अजिरकोट गाउँपालिका– ३ भच्चेकस्थित भच्चेक आधारभूत अस्पतालको आज उद्घाटन गर्दै उनले वर्तमान सरकार रहुञ्जेलसम्म भ्रष्टाचारविरुद्धको अभियान नरोकिने जानकारी दिए। 

उनले भने, ‘दोषी र अपराधीलाई छोड्ने काम पनि हुँदैन, जुन दिनसम्म सरकार रहन्छ त्यति वेलासम्म सुशासनको अभियानलाई सरकारले अझ प्रभावकारी रूपमा निरन्तर अगाडि बढाउनेछ।’ 

राम्रो काम गर्दा खराब प्रवृत्तिका विरुद्धमा जुध्नुपर्छ भन्ने कुरा आफूहरूले राम्रोसँग बुझेको बताउँदै उनले भने, ‘सरकारले राम्रो काम गर्न थालेपछि नराम्रो काम गर्नेले त्यसलाई सहजै अगाडि बढ्न दिँदैनन्। अहिले दलाल, ठग, भ्रष्टाचारी र तस्कर छटपटियो। तिनका संरक्षक सल्बलायो, सरकारलाई अप्ठ्यारो पार्‍यो भनेर तैँ चुप मै चुप भएर बस्ने पक्षमा सरकार छैन, त्यसरी हामी बस्दैनौँ।’ 

गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनपछि देशमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्ने र आमनागरिकको दैनिक जीवनका आवश्यकता पूरा गर्दै आनन्दले बाँच्न पाउने गरी जनताले नयाँ जीवनको अनुभूति गर्ने खालको समाज रूपान्तरण गर्न चाहेको बताए। 

उनले भने, ‘अब नागरिकले आनन्दले बाँच्न पाइयो, दैनिक जीवनका आवश्यकता पूरा पनि भयो र हामीले नयाँ जीवन पायौैँ भनेर अनुभूति गर्न पाओस्। भ्रष्ट, अपराधी, दलाल र तस्करले भने अब हाम्रा दिन गएछन् भनेर बुझ्ने दिन आओस्, हामी त्यस्तो देश बनाउन चाहन्छौँ।’ 

उनले संघीय सरकारले देशको सामाजिक र आर्थिक क्षेत्रको रूपान्तरणका लागि सुशासन र समृद्धिको अभियानलाई केन्द्रबिन्दु राखेर अघि बढेको बताए। 

गृहमन्त्री श्रेष्ठले मन्त्रीलाई धक्की दिएर, घेराबन्दीमा राखेर गलत प्रवृत्ति बोकेका कसैको पनि सपना पूरा हुन नदिने दाबी गरे। ‘हामी पदका लागि पदमा गएका होइनौँ, देश र जनताको निम्ति काम गर्न गएका हौँ। जुन दिनसम्म पदमा बस्छौँ, देश र जनताका निम्ति समर्पित भएर काम गर्छौँ र यो अभियान विसर्जित गर्दैनौँ, यो अभियानलाई निरन्तर अगाडि बढाउँछौँ।’ रासस