१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
तस्बिर : सिन्ह्वा
२०८० श्रावण २८ आइतबार १३:३४:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

म्यानमारमा बाढीका कारण ४५ हजारभन्दा बढी मानिस विस्थापित

Read Time : < 1 मिनेट
२०८० श्रावण २८ आइतबार १३:३४:००

म्यानमारमा भीषण वर्षापछि आएको बाढीका कारण हालसम्म ४५ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । शुक्रबारबाट भीषण वर्षापछि नदीमा आएको बाढीका कारण देशभर ४५ हजारभन्दा बढी मानिस विस्थापित भएका हुन् ।

यहाँको सामाजिक कल्याण, राहत र पुनर्वास मन्त्रालयअन्तर्गतको विपत् व्यवस्थापन विभागका निर्देशक डाउ ले श्वे सिन ओले हालसम्म सान राज्यका तीन र राखिन राज्यका दुई गरी पाँचजनाको मृत्यु भएको बताए। मनसुनको समयमा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र र प्रदेशमा काचिन, केइन, बागो, मगवे, मोन र राखाइन पर्दछन्।

विपत् व्यवस्थापन विभागले बाढीपीडितलाई सहयोग गर्न देशभर एक सय नाैवटा आश्रयस्थल स्थापना गरेको छ । अधिकांश आश्रयस्थल मोन, केइन र रखाइन राज्यका साथै बागो क्षेत्रमा अवस्थित रहेको उनको भनाइ छ । राखिन राज्यले बाढी र बढ्दो नदीको सतहका कारण दुई हजार १४६ घरपरिवारबाट १० हजारभन्दा बढी मानिसलाई आश्रयस्थलमा पुर्‍याएको बताइएको छ ।

साथै सडक सञ्जालबाट जोडिएका विभिन्न स्थानको सम्बन्धविच्छेद भएको बताइएको छ । त्यस्तै, लगातारको भारी वर्षाका कारण बाढी आएपछि बागो क्षेत्रमा दुई हजार नाै सय ७३ घरपरिवारका १२ हजार चार सय ६१ जना आश्रयस्थलमा सर्न बाध्य भएका छन् ।

मौसम विज्ञान तथा जलविज्ञान विभागका निर्देशक यु ह्ला तुनका अनुसार अहिले भइरहेको भीषण वर्षाका कारण नदीको सतह बढेको हो । म्यानमारको मौसम एजेन्सीले शुक्रबार जारी गरेको अगस्टको १० दिने पछिल्लो पूर्वानुमानअनुसार अगस्ट ११ देखि २० सम्म देशका विभिन्न भागमा अय्यरवाडी नदी र चिन्दविनलगायतका नदीको बहाव बढ्ने अनुमान गरिएको छ। सिन्ह्वा/न्युज एजेन्सी नेपाल