
हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडक पहिरोले अवरुद्ध भएको छ। शनिबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। वर्षाका कारण लमजुङकाे बेँसीसहरदेखि मनाङ पुग्ने सडक अवरुद्ध भएको छ।
बेँसीसहर नगरपालिका– ६ को खरखरे भिर, चनौटे, पुमाखोलालगायतका स्थानमा पहिरो गएर बाटो थुनेको छ भने मर्स्याङ्दी गाउँपालिकाको वडा नम्बर ६ र ७ मा पर्ने बालुवा भन्ने ठाउँमा पहिरोसहित ठूला चट्टान आएर बाटो अवरुद्ध भएको हाे।
बाटो खुलाउने प्रयास गरिए पनि निरन्तरको वर्षाले पहिरो खुलाउन कठिनाइ भएको स्थानीय विष्णु गुरुङले बताए। वर्षायाम तथा हिउँदमा समेत चण्डीस्थानको अक्करखोला, उत्तीसघारी र चिसापानीवरपर झरिरहने पहिरोले बेँसीसहरदेखि खुदीसम्मको यात्रा झनै जोखिम र कष्टपूर्ण बन्ने गरेको छ।
बर्सेनि पहिरोले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन्। विशेषगरी मनाङ र मर्स्याङ्दी गाउँपालिकाका बासिन्दा बेँसीसहर हुँदै विभिन्न स्थानमा जानका लागि यो सडक बन्द हुँदा समस्यामा पर्ने गरेका छन् ।