
एनसेल आजियाटा लिमिटेडले देशका विभिन्न ठाउँमा तीन सय ३८ नयाँ बेस ट्रान्ससिभर स्टेसन (बिटिएस) अर्थात् मोबाइल टावरहरू जडान गरेको छ । कम्पनीले आफ्नो सेवा विस्तार र गुणस्तरलाई थप सुधार गर्दै यी टावरहरू गत आर्थिक वर्ष ०७९/८० मा जडान गरेको हो ।
फोरजी सेवाको पहुँचबाट स्थानीयलाई लाभ प्रदान गर्न पहिलोपटक हिमाली, पहाडी र तराई भेगका ५५ ग्रामीण तथा दुर्गम ठाउँमा सेवा विस्तार गरेको कम्पनीको भनाइ छ । पहिलोपटक फोरजी सेवा विस्तार गरिएका नयाँ स्थानहरूमा रसुवाको उत्तरगया गाउँपालिका, दैलेखको ठाटीकाँध गाउँपालिका, बझाङको दुर्गाथली गाउँपालिका, खोटाङको जन्तेढुंगा गाउँपालिकालगायतका ग्रामीण इलाकाहरूका साथै इनरुवा नगरपालिकाकालगायतका ठाउँहरू पर्ने कम्पनीले जनाएको छ ।
गत आवमा नै एनसेलले आफूले प्रदान गर्दै आएको सेवाको गुणस्तर सुधार र ग्राहकको सेवा अनुभव अभिवृद्धि गर्न दुई सय ८३ नयाँ टावरहरू जडान गरेको दाबी गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एनसेलका लागि सबैभन्दा महत्वपूर्ण पक्ष नेपालभर एउटा राम्रो दूरसञ्चार नेटवर्क निर्माण गर्नु रहेको बताए ।
कम्पनीले डिजिटल नेपालको परिकल्पनामा योगदान गर्न आधारभूत मोबाइल र उच्च गतिको मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा पहुँच सुनिश्चित गर्दै देशका विभिन्न भागका दुर्गम क्षेत्रहरूलाई सेवाले जोडेको उनको भनाइ थियो । उनले भने, ‘गुणस्तरीय आधुनिक सेवाहरू प्रदान गर्दै हाम्रा ग्राहक र साझेदारलाई यसको लाभ प्रदान गर्न हामी निरन्तर काम गरिरहेका छौँ ।’
एनसेलले फोरजी क्षमता अभिवृद्धि गर्दै गत आवमा विभिन्न ६० जिल्लाका झन्डै एक हजार चार सय ५० मोबाइल टावरहरूको स्तरोन्नति पनि गरेको जनाएको छ । यसरी स्तरोन्नति गरिएका टावरहरूमध्ये सात सय ८० भन्दा बढी विभिन्न नगरपालिकामा स्थापना गरिएका टावर रहेको जनाइएको छ । गाउँपालिकास्तरमा जडित चार सय ४० भन्दा बढी टावरहरूको स्तरोन्नति गरिएको उल्लेख छ ।