१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o८:१२:oo
Read Time : > 3 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

जेल सजायले इमरान खानको राजनीतिक करिअर अन्त्य गर्ला ?

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:१२:oo

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई स्थानीय अदालतले भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजायको फैसला सुनाएपछि उच्च सुरक्षायुक्त जेलमा बन्दी बनाइएको छ । अदालतले आफ्नो निर्णयमा खानलाई राजनीतिबाट पाँच वर्षका लागि प्रतिबन्ध लगाएको छ, जुन यदि कार्यान्वयन भयो भने खानको राजनीतिक भविष्यकै लागि खतरा हुनेछ । पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेर देशलाई क्रिकेट विश्वकप जिताएका खान त्यसको चार वर्षपछि नै अर्थात् सन् १९९६ मा राजनीतिमा छिरेका थिए, तरिक–ए–इन्साफ (पिटिआई) दल खोलेर । ७० वर्षीय खानलाई अहिले १४ करोड पाकिस्तानी रुपैयाँ अर्थात् ४ लाख ९७ हजार डलरको सरकारी उपहार अवैध रूपमा बेचेको आरोपमा सजाय भएको हो । 

खानले गल्ती अस्वीकार गरेका छन् । उनले ती उपहार आफूले कानुनी रूपमा सरकारी अधिकारीले पाउने उपहार राखिने खजाना–घर अर्थात् तोसाखानाबाट किनेको बताउँदै आएका छन् । उनका वकिलले खानको मुद्दामा निष्पक्ष सुनुवाइ नभएको र मुद्दा राजनीतिक रूपमा प्रेरित भएको आरोप लगाइरहेका छन् । पाकिस्तानमा हाल सबैभन्दा लोकप्रिय नेता मानिने खान गत मे महिनामा पनि गिरफ्तार परेका थिए । त्यस वेला उनको पक्राउको विरोधमा देशभर ठूलो विरोध प्रदर्शन भएको थियो । पक्राउमा सेनाको हात रहेको आशंकामा खानका समर्थकले देशको सेनाको मुख्यालयमा समेत आक्रमण गरेका थिए । पाकिस्तानमा निकै सम्मानित र शक्तिशाली मानिने सेनाकै मुख्यालयमा भएको आक्रमणले धेरैलाई आश्चर्यचकित बनाएको थियो । 

त्यसपछिका दिनमा पिटिआईविरुद्ध राज्य प्रायोजित कारबाही तीव्र बनाइएको यसका कार्यकर्ताले आरोप लगाउँदै आएका छन् । ‘निर्वाचनको केही महिनाअघि तपाईं देशको सबैभन्दा ठूलो पार्टीका नेतालाई पक्राउ गर्न सक्नुहुन्न । यदि तपाईंले मत सर्वेक्षण हेर्नुभयो भने पिटिआईको ७० प्रतिशतको अनुमोदन दर छ । पाकिस्तानमा कुनै अर्को पार्टी यति लोकप्रिय छैन । यहाँ अहिले जे भइरहेछ, त्यो पागलपन हो,’ पक्राउअघि इमरान खानले अल जजिरालाई अन्तर्वार्ता दिँदै भने ।

हिरासतमा रहेमा खानले आगामी निर्वाचनमा उम्मेदवारी दिने सम्भावना समाप्त हुन्छ । फौजदारी अपराधमा दोषी ठहरिएका जो–कोहीलाई पाकिस्तानमा चुनाव लड्न अयोग्य ठहर्‍याइन्छ । पाकिस्तानको संसद् आफ्नो पाँचवर्षे समयावधि पूरा गरेर अब छिटै विघटन हुने सम्भावना छ । 

खानको पुनरागमनको सम्भावना कति ?
इमरान खानले तल्लो अदालतले आफूविरुद्ध गरेको निर्णयविरुद्ध मंगलबार उच्च अदालतमा अपिल गरेको बताएका छन् । पुनरावेदन दिनुअघि नै पिटिआईका सदस्य र खानको कानुनी टोलीका सदस्य बाबर अवानले उक्त फैसलालाई ‘जाली अदालतको हास्यास्पद फैसला’ भएको बताउँदै यो माथिल्लो अदालतबाट उल्टिने दाबी गरे । ‘अहिले खानलाई निष्पक्ष सुनवाइको अधिकार दिइएन । जबकि देशको संविधानले हरेक नागरिकलाई यो अधिकार दिएको छ,’ अवानले अल जजिरालाई भने । तल्लो अदालतले फैसला सुनाउँदा खान उपस्थित थिएनन् । पाकिस्तानी कानुनले खानलाई लागेको आरोपको सुनुवाइ व्यक्तिको अनुपस्थितिमा मुद्दा चलाउने विकल्प प्रदान गरेको छैन । यसले गर्दा उच्च अदालतले तल्लो अदालतको ‘फैसलालाई निलम्बन गर्ने र इमरान खानको चाँडो रिहा हुने’ खानका वकिल अवानले दाबी गरे । 

हिरासतमा रहेमा खानले आगामी निर्वाचनमा उम्मेदवारी दिने सम्भावना समाप्त हुन्छ । फौजदारी अपराधमा दोषी ठहरिएका जो–कोहीलाई पाकिस्तानमा चुनाव लड्न अयोग्य ठहर्‍याइन्छ । पाकिस्तानको संसद् आफ्नो पाँचवर्षे समयावधि पूरा गरेर अब छिटै विघटन हुने सम्भावना छ । यसअघि नोभेम्बरको मध्यमा आमचुनाव हुने भनिएको थियो । तर, भर्खरै जनगणनाको नतिजा सार्वजनिक भएपछि पाकिस्तानी कानुनअनुसार निर्वाचन क्षेत्रहरूको पुनः चित्रण गर्नुपर्ने भएकाले निर्वाचन केही महिना पर धकेलिन सक्छ ।

यदि खानले माथिल्लो अदालतमा गरेको पुनरावेदन असफल भयो भने यस फैसलाअनुसार खान पाँच वर्षपछि मात्र राजनीतिमा फर्कन सक्छन् । यद्यपि, यो मुद्दा खानले अदालतमा सामना गरिरहेका करिब १५० मध्ये एक हो, जसमा भ्रष्टाचार र हत्याको प्रयाससम्मका आरोप समावेश छन् । खानले आफूमाथि लगाइएका मुद्दा खासमा उनलाई चुनाव लड्नबाट रोक्नकै लागि ल्याइएका आरोप लगाउँदै आएका छन् ।

किन लोकप्रिय छन् इमरान खान ?
खानको राजनीतिक आगमनले पुराना दल र तिनका बूढा राजनीतिकज्ञमाझ नयाँ अनुहारको आगमनको रूपमा हेरिएको थियो । उनको भ्रष्टाचारमुक्त राजनीति गर्ने वाचाले पुरानो राजनीतिक दलबाट वाक्क भइसकेका निराश युवा मतदातालाई आकर्षित गर्‍यो । यही आकर्षणको बलमा उनले सन् २०१८ मा ठूलो जनमत हासिल गरे र प्रधानमन्त्री बने । त्यति वेला उनलाई शक्तिशाली सैन्य प्रतिष्ठानको पनि साथ–समर्थन रहेको धेरैको विश्वास गरिन्छ । खानले उनका भाषणमा रुढिवादी इस्लामको समर्थन गर्छन् भने पश्चिमको (अझ विशेष अमेरिकाको) विरोध गर्छन् । यसले पाकिस्तानी समाजको प्रभावशाली रुढिवादी तप्कालाई उनीतर्फ तानेको थियो । 

खानको परोपकारले पनि उनलाई धेरै प्रशंसक हासिल गरायो । उनले आफ्नो र अभियानमार्फत संकलित रकमले ‘सौकत खान मेमोरियल क्यान्सर अस्पताल’ र अनुसन्धान केन्द्रको स्थापना गरे । लाहोर र पेसावरमा रहेका ती क्यान्सर केन्द्रले अधिकांश बिरामीलाई निःशुल्क क्यान्सर उपचार प्रदान गर्दै आएको छ । उनको कार्यकालमा, पाकिस्तानमा दक्षिण एसियाकै सबैभन्दा कम कोभिड–१९ दर दर्ता भयो । र, त्यही समय उनको सरकारले ल्याएको गरिबी–उन्मूलन कार्यक्रमले महामारीले ल्याएको आर्थिक कठिनाइलाई कम गर्न मद्दत गरेको थियो ।

गत अप्रिलमा इमरान खानका केही सत्ता–साझेदार दल र उनकै पार्टीका केही सांसदले साथ छाडे । जसले गर्दा उनीविरुद्ध दायर अविश्वासको प्रस्ताव पारित भयो र उनी सत्ताच्युत भए । त्यसयता खानले देशको सेनाले आफ्नो सरकार ढलाउन भूमिका खेलेको दाबी गर्दै आएका छन् । सेनाले यस आरोप खण्डन गर्दै आएको छ । सरकारबाट बाहिरिएपछि खानको लोकप्रियता थप बढेको छ । नोभेम्बर २०२२ मा भएको एक चुनावी र्‍यालीमा उनीमाथि गोली हानिएपछि उनको समर्थन थप चुलियो । त्यस वेला उनको खुट्टामा गोली लागेको थियो । खानले पछि यो घटना देशका सैन्य प्रमुखले उनको हत्या गर्ने षड्यन्त्रमा घटाएको आरोप लगाए । तथापि उनले यस आरोप प्रमाणित गर्ने खालको कुनै प्रमाण पेस गरेका छैनन् ।

खानले सन् १९९६ मा राजनीतिमा प्रवेश गर्नुअघि देशमा उनको छवि एक ‘प्लेब्वाई’ क्रिकेटरको रूपमा थियो । तर, उनले सो छवि पखाल्ने मात्र होइन, दशकौँसम्म पाकिस्तानी राजनीतिमा प्रभुत्व जमाउँदै आएका दुई स्थापित राजनीतिक दल (पाकिस्तान मुस्लिम लिग(नवाज) र पाकिस्तान पिपुल्स पार्टी)को वंशवादविरुद्ध नयाँ विकल्प निर्माण गरे । खानले आफूलाई देशमा लामो समयदेखि चलिरहेको भ्रष्टाचारलाई सम्बोधन गर्न सक्ने राजनीतिज्ञको रूपमा प्रस्तुत गर्न सफल भएका छन् । पाकिस्तानी राजनीतिमा छोटो समयमै उलेख्य प्रभाव पार्न सफल खानको आगामी राजनीति भने अहिले अन्योलमा परेको छ । 
– अल जजिराबाट

ad
ad