
इरानको उत्तरपश्चिम क्षेत्रमा गत वर्ष एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा पाँचजनालाई बुधबार मृत्युदण्ड दिइएको इरानको न्यायपालिकाले जनाएको छ।
‘मे २०२२ मा मारान्ड सहरमा एक महिलालाई अपहरण गरी बलात्कार गर्ने पाँचजनालाई मृत्युदण्ड दिइएको छ,’ न्यायपालिकाको मिजान अनलाइनले घोषणा गरेको छ।
पूर्वी अजरबैजान प्रान्तमा भएको सामूहिक बलात्कारको चार दिनपछि पक्राउ परेका ती व्यक्ति अन्य अपराधमा पनि संलग्न रहेको मिजानले बताएको छ।
गत महिना पनि इरानले नक्कली कस्मेटिक सर्जरी क्लिनिकमा उपचारको प्रलोभन देखाएर अर्धचेत अवस्थामा बलात्कार गरेको अभियोगमा तीनजनालाई मृत्युदण्ड दिएको थियो।
उनीहरूलाई सन् २०२१ को अन्त्यतिर दक्षिणी प्रान्त होर्मोज्गानमा यौन दुर्व्यवहारका थुप्रै घटनामा सहभागी रहेको अभियोगमा दोषी ठहर गरिएको मिजानले जनाएको छ।
मानव अधिकारवादी समूह एमनेस्टी इन्टरनेसनलका अनुसार इरानले एकाधबाहेक अन्य मुलुकको तुलनामा बढी मानिसलाई मृत्युदण्ड दिने गरेको छ। इरानमा गत वर्ष कम्तीमा पाँच सय ८२ जनालाई फाँसी दिइएको थियो।
एमनेस्टीका अनुसार इरानका अधिकारीहरूले ‘सबै अपराधका लागि मृत्युदण्डको संख्या’मा उल्लेखनीय वृद्धि गरेका छन् र सन् २०२३ मा अहिलेसम्म कम्तीमा दुई सय ८२ जनालाई मृत्युदण्ड दिइएको छ। यो संख्या गत वर्षको जुन महिनाको सुरुमा मृत्युदण्ड दिइएकाहरूको संख्याभन्दा झन्डै दोब्बर हो।