१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २३ मंगलबार
  • Sunday, 11 May, 2025
इम्यानुअल अरक्वेटा
२o८o श्रावण २३ मंगलबार १o:२८:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

अन्तरिक्षमा कसैको मृत्यु भयो भने के हुन्छ ?

अन्तरिक्ष यात्रा सामान्य बन्दै जाँदा बाटोमै यात्रीको मृत्यु हुने सम्भावना पनि बढ्दै छ

Read Time : > 2 मिनेट
इम्यानुअल अरक्वेटा
नयाँ पत्रिका
२o८o श्रावण २३ मंगलबार १o:२८:oo

मानव जातिलाई अन्तरिक्षमा पठाउनु पक्कै पनि एउटा असाधारणरूपले कठिन र खतरनाक काम हो । मानिसले अन्तरिक्षको अन्वेषण सुरुगरेको ६० वर्षयता केवल २० जनाको मात्रै मृत्यु भएको छ, जसमध्ये सन् १९८६ र सन् २००३ मा भएको नासाको अन्तरिक्षयानको दुर्घटनामा १४ जना, सन् १९७१ को सोयुज ११ अभियानमा तीन अन्तरिक्षयात्री र सन् १९६७ मा एपोलो–१ को प्रक्षेपण प्याडमा आगलागी भएर तीनजना अन्तरिक्षयात्रीको मृत्यु भयो ।

मानवयुक्त अन्तरिक्ष उडान कत्तिको जटिल छ भन्ने बुझ्न अहिलेसम्म किन यति थोरै मानिसले मात्र जीवन गुमाएका छन् भन्ने बुझ्नु वास्तवमै महत्वपूर्ण हुन आउँछ । यद्यपि, नासा सन् २०२५ मा चालकदलसहितका यान चन्द्रमामा र अर्को दशकमा मंगलग्रहमा पठाउने योजनामा छ । व्यावसायिक अन्तरिक्ष उडान नियमित भइसकेको छ । अन्तरिक्ष यात्रा सामान्य बन्दै जाँदा अन्तरिक्षमा बाटामै कुनै यात्रीको मृत्यु हुने सम्भावना पनि बढ्दै छ । यसले मनमा एउटा नमीठो, तर अत्यावश्यक प्रश्न उब्जाउँछ : यदि अन्तरिक्षमा कसैको मृत्यु भयो भने त्यो शव के हुन्छ ?

चन्द्रमा र मंगलग्रहमा मृत्यु हुँदा के हुन्छ ?
अन्तरिक्षयात्रीहरूलाई स्वस्थ राख्ने नयाँनयाँ तरिकाहरूको खोज गर्ने एक अन्तरिक्ष चिकित्सकका रूपमा म र ट्रान्सलेसन रिसर्च इन्स्टिच्युट फर स्पेस हेल्थको मेरो टोली अन्तरिक्ष अन्वेषक अन्तरिक्ष अभियानका लागि आवश्यकरूपले स्वस्थ रहन सक्ने कुराको सुनिश्चित गर्न चाहन्छौँ । अन्तरिक्षमा हुने मृत्युलाई आजकाल कसरी व्यवस्थापन गरिन्छ भन्नेबारेमा यहाँ उल्लेख गरिएको छ । 

यदि अन्तरिक्ष अभियानका क्रममा कसैको पृथ्वीको तल्लो कक्षमा मृत्यु भयो भने (जस्तै अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा) चालक दलले उक्त मृत शरीरलाई क्याप्सुलमा राखेर केही घन्टामै पृथ्वीमा फर्काउन सक्छन् । मृत्यु चन्द्रमामा भयो भने पनि चालक दल त्यो शव लिएर केही दिनभित्र पृथ्वी फर्कन सक्छ । नासासँग यस्ता घटनामा के गर्ने भनेर पहिलेबाटै विस्तृत प्रोटोकल रहेका हुन्छन् । यसर्थ, दु्रतरूपमा फर्काइने भएकाले मृतकको शवको संरक्षण नासाको प्रमुख चिन्ता नहुने देखिन्छ । यसको सट्टा पहिलो प्राथमिकता चालक दलका बाँकी सदस्य सुरक्षित रूपमा पृथ्वीमा फर्किने कुराको सुनिश्चितता गर्नु हुन्छ । तर, मंगलग्रहको ३० करोड माइलको यात्राका क्रममा कुनै अन्तरिक्ष यात्रीको मृत्यु भएमा भने अवस्था फरक हुनेछ । त्यस परिदृश्यमा चालक दल शव पृथ्वीमा फिर्ता गर्न फर्किन र पुनः अभियानलाई जारी राख्न सक्षम हुनेछैन । यसको सट्टा, उक्त मृतक अन्तरिक्षयात्रीको शव सम्भवतः मिसनको अन्त्यमा चालक दलसँगै पृथ्वीमा फर्किनेछ, जुन केही वर्षपछि हुन सक्छ ।

यसबीच, उक्त चालक दलले शवलाई अलग्गै च्याम्बर वा शवलाई सुरक्षित राख्ने थैलो (बडी ब्याग)भित्र सुरक्षित राख्नेछ । अन्तरिक्षयानभित्रको एकनासको तापक्रम र आद्र्रताले शवलाई जोगाउन सहयोग गर्नेछ । तर, यी सबै परिदृष्य मृत्यु वातानुकूलित वातावरणमा अर्थात् यान वा अन्तरिक्ष केन्द्रभित्रै भएको अवस्थामा मात्रै लागू हुन्छ । 

तर, यदि कोही व्यक्ति स्पेस सुटको सुरक्षा कवचविनै अन्तरिक्षमा बाहिर निस्क्यो भने के हुन्छ ? त्यस्तो अवस्थामा उक्त अन्तरिक्षयात्रीको तत्कालै मृत्यु हुन्छ । शरीरमा आवश्यक बाह्य चापको अभाव र अन्तरिक्षको खाली स्थानसँगको साक्षात्कारले उक्त अन्तरिक्षयात्रीलाई सास फेर्न असम्भव बनाउँछ । उसको रगत र शरीरका अन्य तरल पदार्थहरू उम्लिनेछन् । स्पेस सुट, अर्थात् अन्तरिक्षमा लगाउने पोसाकविना नै कुनै अन्तरिक्षयात्री चन्द्रमा वा मंगलग्रहमा बाहिर निस्कियो भने के हुन्छ ?

चन्द्रमामा वायुमण्डल छैन भन्दा पनि हुन्छ (भए पनि निकै थोरै हुन्छ) । मंगलग्रहमा पनि वायुमण्डल एकदमै पातलो हुन्छ र त्यहाँ लगभग अक्सिजन हुँदैन । तसर्थ, नतिजा अन्तरिक्षमा एक्सपोज हुँदाजस्तै हुनेछ । अर्थात्, उक्त व्यक्ति निस्सासिने छ र उसको रगत तातोपानीजसरी उम्लिनेछ ।

दाह संस्कारको विषयमा के हुन्छ ?
मानौँ, मंगलग्रहको सतहमा अवतरण गरेपछि कुनै अन्तरिक्षयात्रीको मृत्यु भयो भने त्यस अवस्थामा दाहसंस्कारको अपेक्षा गर्न सकिँदैन । किनभने, त्यहाँ दाहसंस्कारका लागि धेरै ऊर्जा खपत हुनेछ जुन जीवित रहेका चालक दलका अन्य सदस्यहरूलाई अन्य उद्देश्यका लागि आवश्यक हुनेछ । उक्त शवलाई मंगलग्रहकै जमिनमा गाड्ने विचार पनि राम्रो होइन । शवबाट निस्कने ब्याक्टेरिया र अन्य जीवाणुले मंगलग्रहलाई दूषित गर्न सक्छ । यसको सट्टा चालक दलले पृथ्वीमा फर्किने वेलासम्म शव राख्ने विशेष थैलामा उक्त मृत शरीरलाई सुरक्षित राख्नेछ र लिएर फर्किनेछ ।

अन्तरिक्ष अभियानका क्रममा अन्वेषकहरूले मृत शरीरलाई कसरी व्यवस्थापन गर्छन् भन्नेबारे अझै धेरै कुरा अज्ञात नै छ । यो शवलाई के गर्ने भन्ने मात्रै सवाल होइन । चालक दललाई सहयात्रीको मृत्युको सामना गर्न मद्दत गर्नु, पृथ्वीमा रहेका शोकमा परेका परिवारजनलाई सहयोग गर्नु पनि मृतकको शव व्यवस्थापन गर्नुजत्तिकै महत्वपूर्ण हुन्छ । चाहे चन्द्रमा होस् या मंगलग्रह वा हाम्रो सौर्य प्रणालीबाहिरका कुनै ग्रह नै किन नहुन् अन्य जगत्मा उपनिवेश बनाउन यस गम्भीर परिदृश्यबारे योजना र नियमको आवश्यकता हुनेछ ।
– द कन्भर्सेसनबाट