
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक क्षेत्रको संरक्षणमा निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन । गृह जिल्ला बाग्लुङ नगरपालिका–४, कुँडुलेमा रहेको शालिग्राम संग्रहालयमा रहेको औषधालयको उद्घाटन गर्दै ढकालले धार्मिक, पर्यटकीय क्षेत्रमा निजी क्षेत्रको पनि सहकार्य गर्ने बताएका हुन् ।
स्व. श्रीधर आचार्यको ८४औँ जन्मजयन्तीको अवसरमा शालिग्राम संग्रहालयपरिसरमा औषधालयको स्थापना गरिएको हो । ढकालले स्वामी कमलनयन आचार्यको सक्रियतामा स्थापना गरिएको शालिग्राम संग्रहालय र सर्वसिद्धिधाम पञ्चकोटले यस क्षेत्रको महिमा बढाएको बताए । ‘कालीगण्डकीमा मात्र पाइने शालिग्रामको दर्शन गर्न यहीँ आउनुपर्नेछ । यसको महिमा पनि उत्तिकै बढी छ,’ उनले भने, ‘संग्रहालयले धार्मिक पर्यटक भित्र्याउनुका साथै यहाँको व्यापार–व्यवसायमा पनि थप टेवा दिएको छ ।’
मुक्तिनाथ पिठाधीश्वर कमलनयन आचार्यको कल्पनामा तयार भएको सर्वसिद्धिधाम पञ्चकोटको संरचना निर्माणका लागि आर्थिक सहयोग गर्नुभएका ढकालले आफ्नो जन्मस्थल, परम्परा, संस्कृति र वैदिक सनातन धर्मको संरक्षण एवं संवद्र्धनमा आफू लागिरहने बताए । ढकालले शालिग्राम संग्रहालय भएको यस क्षेत्रको धार्मिक पर्यटनको हिसाबले महत्वपूर्ण यसलाई अझै विकास गर्न सबैले हातेमालो गर्नुपर्ने बताए ।
श्रीधराचार्य शालिग्राम संग्रहालय पछिल्लो समय पञ्चकोट, गलेश्वर तथा मुक्तिनाथ जाने हिन्दू धर्मावलम्बीहरूको संगमस्थलका रूपमा विकास भइरहेको छ । मुक्तिनाथ वेदविद्याश्रमसमेत सञ्चालनमा रहेको सोही स्थानमा त्यहाँका स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गर्न औषधालय स्थापना गरिएको स्वामी कमलनयन आचार्यले जानकारी दिए । औषधालयमा दैनिक शालिग्राम संग्रहालय र मन्दिरको दर्शन गर्न आउने दर्शनार्थी र स्थानीयले सेवा लिनेछन् ।