१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २१ आइतबार
  • Sunday, 11 May, 2025
२o८o श्रावण २१ आइतबार ११:३८:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

आर्थिक संकटले बिमा व्यवसायको वृद्धिमा संकुचन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २१ आइतबार ११:३८:oo

पछिल्लो समय देखिएको आर्थिक संकटका कारण गत आर्थिक वर्ष ०७९/८० मा बिमा व्यवसाय पनि प्रभावित भएको छ । अघिल्ला आर्थिक वर्षहरूमा बिमा व्यवसायको वृद्धिदर दोहोरो अंकमा हुने गरेको थियो । तर, गत आवमा त्यो एकल अंकमा झरेको हो । 

नेपाल बिमा प्राधिकरणका अनुुसार गत आवमा कुल बिमा व्यवसाय २.८५ प्रतिशतले मात्रै बढेको छ । त्यसमा जीवन बिमा व्यवसाय २.६४ प्रतिशत र निर्जीवन बिमा व्यवसाय ३.५८ प्रतिशतले बढेको छ । जबकि, अघिल्लो आव ०७८/७९ मा कुल बिमा व्यवसाय १६.४८ प्रतिशतले बढेको थियो । त्यसमा जीवन बिमामा  १४.६३ र निर्जीवन बिमामा २३.५६ प्रतिशतको व्यावसायिक वृद्धिदर थियो । 

राजुरमण पौडेल, कार्यकारी निर्देशक, नेपाल बिमा प्राधिकरण
अर्थतन्त्र प्रभावित भएपछि बिमा व्यवसायमा पनि त्यसको असर देखिन्छ । पछिल्लो समय देखिएको तरलता अभाव, महँगीलगायतका कारण बिमा व्यवसाय प्रभावित भएको छ । फलस्वरूप गत आवमा बिमा व्यवसायमा उत्साहजनक वृद्धि देखिएन ।

गत आवमा एक खर्ब ८२ अर्ब ८७ करोडबराबरको बिमाशुल्क संकलन भएको थियो । त्यसमा जीवन बिमातर्फ एक खर्ब ४२ अर्ब ३० करोड बिमाशुल्क संकलन भएको छ । निर्जीवनतर्फ भने ४० अर्ब ५७ करोड बिमाशुल्क संकलन भएको छ । अघिल्लो आव ०७८/७९ भने कुल एक खर्ब ७७ अर्ब ८० करोड रुपैयाँ बिमाशुल्क संकलन भएको थियो । त्यसमा जीवन बिमातर्फ एक खर्ब ३८ अर्ब ६४ करोड र निर्जीवन बिमातर्फ ३९ अर्ब १६ करोड रुपैयाँ बिमाशुल्क संकलन भएको थियो । त्यस्तै, ०७७/७८ मा जीवन बिमातर्फ १ खर्ब २० अर्ब ९५ करोड र निर्जीवनतर्फ ३१ अर्ब ७० करोड संकलन भएको थियो ।  

मुख्यतः अर्थतन्त्रमा देखिएको संकटका कारण बिमा व्यवसाय प्रभावित भएको प्राधिकरणका कार्यकारी निर्देशक राजुमरण पौडेल बताउँछन् । ‘अर्थतन्त्र प्रभावित भएपछि बिमा व्यवसायमा पनि त्यसको असर देखिन्छ । पछिल्लो समय देखिएको तरलता अभाव, महँगीलगायतका कारण बिमा व्यवसाय प्रभावित भएको छ,’ उनले भने, ‘फलस्वरूप गत आवमा बिमा व्यवसायमा उत्साहजनक वृद्धि देखिएन ।’

यसरी भयो बिमा व्यवसाय प्रभावित
पछिल्लो समय देखिएको आर्थिक संकट अर्थात् महँगी, आम्दानीमा आएको गिरावटलगायतका कारण उपभोक्ताको क्रयशक्ति घटेको छ । फलस्वरूप आमउपभोक्ताको बिमा गर्ने क्षमता पनि घटेको छ । आफ्नो आर्थिक संकट टार्न बिमित (ग्राहक)ले उल्टै बिमा पोलिसी नवीकरण नगर्ने तथा सरेन्डर गर्ने प्रवृत्ति देखिएको छ । बिमाको नयाँ व्यवसायमा त ह्रास नै आएको छ ।  

ठूला–ठूला रकममा बिमा गर्ने ग्राहकले बैंकबाट नै कर्जा लिएर बिमाशुल्क तिर्ने गर्छन् । तर, पछिल्लो समय बैंकबाट कर्जा प्रवाह नहुँदा ग्राहकले बिमाशुल्क तिर्न सकेका छैनन् । फलस्वरूप जीवन बिमा व्यवसायको वृद्धिदरमा संकुचन आएको कम्पनीहरू बताउँछन् । यस्तै, वस्तु तथा सेवाको माग आएको कमीका कारण अधिकांश व्यवसाय प्रभावित भएका छन् । त्यसले गर्दा व्यावसायिक कम्पनीहरूले आफ्नो व्यवसायको बिमा गर्न सकेका छैनन् । ठूलो अंकमा बिमा शुल्क संकलन हुने निर्माण क्षेत्र नै मन्दीमा जाँदा बिमा व्यवसाय पनि प्रभावित भएको छ । 

नेपाली निर्जीवन बिमा बजारमा मोटर बिमाको हिस्सा ठूलो छ । तर, गत आवमा केही सवारीसाधनको आयातमा प्रतिबन्ध लगाइएपछि अटो क्षेत्रको कारोबार प्रभावित भयो । यसले गर्दा पनि बिमा व्यवसाय नमज्जाले प्रभावित भएको बिमा कम्पनीहरू बताउँछन् । 

यस्तै, बैंकको समग्र कर्जा प्रवाह प्रभावित हुँदा पनि बिमा व्यवसाय प्रभावित भएको कम्पनीहरू बताउँछन् । बैंकबाट कर्जा लिएर गरिने व्यवसाय तथा परियोजनाको पनि बिमा गर्नुपर्छ । तर, पछिल्लो समय तरलता अभावका कारण कर्जा प्रवाह संकुचन हुँदा बिमा व्यवसाय पनि प्रभावित भएको हो ।  

अहिले नेपालमा १४ जीवन र १४ निर्जीवन बिमा कम्पनी छन् । जीवन बिमातर्फ समीक्षा वर्षमा बढी बिमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा छ । उक्त कम्पनीले गत आवमा ३७ अर्ब १६ करोड ६९ लाख बिमाशुल्क संकलन गरेको छ । दोस्रो स्थानमा एलआइसी नेपालले १७ अर्ब ४६ करोड १४ लाख बिमाशुल्क संकलन गरेको छ । तेस्रो स्थानमा रहेको नेसनल लाइफले १६ अर्ब ४१ करोड ६९ लाख संकलन गरेको छ । 

निर्जीवनतर्फ सबैभन्दा बढी बिमाशुल्क संकलन गर्नेमा शिखर इन्स्योरेन्स छ । गत आवमा उक्त कम्पनीले पाँच अर्ब ५२ करोड २१ लाख बिमाशुल्क संकलन गरेको छ । बढी बिमाशुल्क संकलन गर्ने मामलामा सगरमाथा लुम्बिनी इन्स्योरेन्स दोस्रो स्थानमा रहेर चार अर्ब ५५ करोड २३ लाख संकलन गरेको छ ।