१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १६ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण १६ मंगलबार १o:१९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चार वर्षपछि सबै सवारीसाधन सहभागी हुने गरी नाडा अटो सो हुने : सहभागीलाई लक्की ड्रमार्फत स्टल निर्धारण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण १६ मंगलबार १o:१९:oo

भदौ अन्तिम साता आयोजना हुन लागेको नाडा अटो एक्स्पोमा ८२ वटा स्टल रहने भएका छन् । आयोजक संस्था नाडा अटोमोबाइल एसोसिएसनले एक्स्पोमा स्टल निर्धारणका लागि आइतबार ‘लटरी ड्र’ सम्पन्न गरेको छ । नाडा अटो एक्स्पोको १५औँ  संस्करण २६–३१ भदौसम्म काठमाडौंको भृकुटीमण्डपपरिसरमा आयोजना हुँदै छ ।

नाडा अटो एक्स्पोमा सहभागी हुने सबै कम्पनीले समान अवसर प्राप्त गरून् भन्ने उद्देश्यसहित लटरी ड्रमार्फत स्टलहरू वितरण गर्दै आएको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले बताए । स्टल बुकिङका लागि नाडाले पहिल्यै सार्वजनिक आह्वान गरेको थियो ।

एक्स्पोमा विभिन्न ब्रान्ड र मोडेलका सवारीसाधन र त्यसमा प्रयोग हुने टायर, टयुब, लुब्रिकेन्ट्स, स्पेयर पार्टस्, एसेसरिज, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणलगायतका स्टलहरू रहने बताइएको छ । जसमध्ये १७ वटा चारपांगे्र सवारीसाधन, २३ वटा दुईपांगे्र, ६ वटा कमर्सियल भेहिकल, पाँचवटा बैंक तथा वित्तीय संस्थाहरू र ३१ वटा स्पेयर पार्टस्, टायर लुब्रिकेन्ट्स, कम्पोनेन्ट तथा एसेसरिजका स्टल रहनेछन् । कोभिड महामारीपछि गत वर्ष नाडाले नाडा इभी एक्स्पो–२०२२ आयोजना गरेको थियो । सबै प्रकारका सवारीसाधन प्रदर्शनीमा राख्ने गरी चार वर्षपछि एक्स्पो आयोजना हुन लागेको हो । नाडा अटो एक्स्पोे २०२०, २०२१ र २०२२  कोभिड महामारीलगायत विभिन्न कारणले आयोजना हुन सकेन । 

यस वर्ष विगतमा भन्दा पनि उत्साहजनक रूपमा अटोमोबाइल कम्पनीहरू सहभागी हुन लागेको एक्स्पो संयोजक अनुपकुमार बरालले बताए । ‘सवारीसाधनको बिक्री ह्वात्तै घटेको अवस्थामा पनि ८२ वटा कम्पनी सहभागी हुनु भनेको धेरै राम्रो हो,’ उनले भने, ‘एक्स्पोपछि अटोमोबाइल बजार बिस्तारै सुधार हुँदै जाने आशा व्यवसायीमा छ, एक्स्पोमा हुन लागेको उल्लेख्य सहभागिताले नाडा पनि उत्साहित भएको छ ।’

चार वर्षपछि हुन लागेको एक्स्पोमा नयाँ–नयाँ कम्पनी र मोडेलहरू प्रदर्शनीमा अवलोकन गर्न पाइनेछ । अटो व्यवसायीहरू पनि नयाँ मोडेल सार्वजनिक गर्न उपयुक्त समयको पर्खाइमा छन् । चार वर्षको बीचमा धेरै नयाँ कम्पनी थपिएका छन्, जसमा विद्युतीय सवारीसाधनका ब्रान्ड बढी छन् । पछिल्लो समय ग्राहकको रोजाइ विद्युतीय सवारीसाधनमा देखिन्छ । सरकार तथा राष्ट्र बैंकले पनि विद्युतीय सवारीसाधनको बिक्री बढाउने नीति अंगीकार गरेको छ । यसपटकको अटो एक्स्पोमा विद्युतीय सवारीसाधनले धेरैको ध्यान तान्ने अनुमान छ । एक्स्पोमा धेरै कम्पनी विद्युतीय गाडी सार्वजनिक गर्ने तयारीमा छन् । 

एक्स्पोमा सवारीसाधनका पुराना चल्तीका ब्रान्डदेखि नयाँ भित्रिएका ब्रान्डको पनि सहभागिता रहनेछ । गत वर्ष असहज परिस्थितिकै बीच आयोजना गरिएको नाडा इभी एक्स्पोमै विद्युतीय सवारीसाधनको उल्लेख्य सहभागिता थियो । अहिले बजारमा २०–३० लाखदेखि तीन करोडभन्दा बढी मूल्यसम्मका विद्युतीय सवारीसाधन बिक्री हुन थालेका छन् । 

विभिन्न कारणले विगतमा सुस्ताएको अटोमोबाइल व्यवसाय अब केही चलायमान हुने अपेक्षा व्यवसायीको छ । एक्स्पोमा सहभागी हुने कम्पनीहरूले आफ्ना नयाँ मोडेलका सवारीसाधनको बिक्रीका लागि विभिन्न छुट सुविधासहितका प्याकेज ल्याउने नाडाले जनाएको छ । यस वर्षको प्रदर्शनी विगतका प्रदर्शनीहरूभन्दा थप भव्य, व्यवस्थित र बृहत् रूपमा आयोजना हुने अपेक्षा नाडाको छ, जहाँ एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २० अर्बभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।