
युक्रेनी ड्रोनले रुसको राजधानी मस्काेमा आक्रमण गरेकाे छ। आक्रमणबाट दुई कार्यालय भवनमा क्षति पुगेकाे छ। आक्रमणमा मानवीय क्षति नभएकाे रुसले दाबी गरेकाे छ।
मस्को र क्रिमिया प्रायद्वीपलाई लक्षित गरी युक्रेनी ड्रोन खसालिएको र यसले राजधानीका दुई कार्यालय टावरमा क्षति पुर्याउनुका साथै एउटा अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि उडान अवरुद्ध भएको रुसले जनाएको छ।
मस्कोलाई लक्षित गरी बनाइएको एउटा ड्रोन सहरको बाहिरी इलाकामा खसालेको र अन्य दुई ड्रोनलाई ‘इलेक्ट्रोनिक वारफेयरले दबाएर’ कार्यालयपरिसरमा खसालेको रुसी रक्षा मन्त्रालयले जनाएको छ।
युक्रेनी सीमाबाट करिब पाँच सय किलोमिटर (३१० माइल) टाढा रहेको मस्कोमा यसअघि पनि युक्रेनले ड्रोन आक्रमणकाे प्रयास गरेकाे थियाे।
यस्तै, आइतबार रातभर युक्रेनी ड्रोनले सीमावर्ती क्षेत्र ब्रायन्स्ककाे प्रहरी चौकीमा आक्रमण गरेको छ। आक्रमणमा मानवीय क्षति नभएकाे क्षेत्रीय गभर्नर अलेक्जेन्डर बोगोमाजले बताए।
अलेक्जेन्डरले भनेका छन्, ‘युक्रेनी सेनाले टुब्चेभ्स्की जिल्लामा राति आक्रमण गरेको छ । यस जिल्लाको प्रहरी चौकीमा एउटा ड्रोन ठोक्किएको थियो। आक्रमणबाट झ्याल र छानामा क्षति पुगेको छ, तर कुनै हताहती भने भएको छैन।’