
अमेरिकी राजनीतिमा सधैँ चल्ने राजनीतिज्ञको उमेरको बहस पुनः एकपटक तातेको छ । आगामी वर्षको राष्ट्रपतीय निर्वाचनका लागि जो बाइडेनले औपचारिक रूपमा चुनावी अभियान सुरु गरेपछि यो बहसले नयाँ महत्व पाएको छ । अहिले नै ८० वर्षको उमेरमा हिँडिरहेका बाइडेन अमेरिकाको इतिहासका सबैभन्दा वृद्धि राष्ट्रपतिका रूपमा शासन गरिरहेका छन् । त्यस्तै बाइडेनको सबैभन्दा बलियो प्रतिद्वन्द्वी पुनः डोनाल्ड ट्रम्प हुने सम्भावना छ, जो आफैँ ७७ वर्षका हुन् ।
उता अमेरिकी संसद् (कंग्रेस) को माथिल्लो सदन सिनेटमा देशको इतिहासकै सबैभन्दा लामो समय पार्टी नेताको भूमिका निभाइरहेका मिच म्याक्कोनेल हप्तौँको बिरामी बिदापछि केहीअघि काममा फर्किए । ८१ वर्षका म्याक्कोनेल लडेर लागेको चोटका कारण केही हप्ता आराम गर्न बाध्य भएका थिए । पछिल्ला वर्षमै म्याक्कोनेलको यो दोस्रो चोट हो । उता ९० वर्षीया डेमोक्रेटिक सिनेटर डियान फेइनस्टेनको गिर्दो मानसिक क्षमताले डेमोक्रेटिक पार्टीको विधायिकी कार्य र न्यायिक एजेन्डामा असर गरिरहेको छ । उनको लामो अनुपस्थितिले पार्टीको झिनो बहुमतलाई उपयोग गर्न दिइरहेको छैन ।
उल्लेखनीय उदाहरणले पनि अमेरिकी व्यवस्थापिकाले सामना गरिरहेको वृद्ध राजनीतिज्ञको समस्यालाई प्रतिबिम्बित गर्छ । यसैलाई मध्यनजर गर्दै कैयौँ टिप्पणीकार र राजनीतिज्ञले निर्वाचित हुने उच्च पदमा उठ्ने उम्मेदवारको अधिकतम उमेर हद तोक्नुपर्ने माग गरिरहेका छन् । केहीले भने उमेर हद तोक्नेभन्दा पनि वयोवृद्ध उम्मेदवारको मानसिक क्षमता जाँचमा जोड दिनुपर्ने तर्क अघि सारेका छन् ।
रिपब्लिकन पार्टीबाट आगामी वर्षको राष्ट्रपतीय चुनावमा उम्मेदवारी दिएकी निक्की हेलीले भर्खरै फक्स न्युजमा आलेख लेख्दै ७५ वर्षमाथिका राजनीतिज्ञको ‘आधारभूत मानसिक परीक्षा’ लिनुपर्ने तर्क गरेकी छिन् । हेलीको आलेखमा तर्क र राजनीतिक चलाखीको मिश्रण देखिन्छ । (लेखमा उनले डेमोक्रेटिक नेताहरू बाइडेन र फेइनस्टेनको नाम सीधै उल्लेख गरेकी छन् भने उनको पार्टीका नेताहरू ट्रम्प र म्याक्कोनेलको नाम उल्लेख गरेकी छैनन् ।) ५१ वर्षीया पूर्वअमेरिकी राजदूत हेलीको लेखको पहिलो अनुच्छेदमा एउटा यस्तो उपायको उल्लेख गरेकी छन्, जसले वयोवृद्ध राजनीतिज्ञसम्बन्धी जारी बहसको स्थायी समाधान दिन सक्छ । त्यो हो, उम्मेदवारको कार्यकालको सीमा ।
खासमा उम्मेदवारी दिने अधिकतम उमेरको सीमा, वयोवृद्ध उम्मेदवारको मानसिक परीक्षण वा अरू खालका उपयायभन्दा कार्यकालको संख्यामा तोकिने सीमाले बुढो हुँदै गएको अमेरिकी राजनीतिक वर्ग र अमेरिकी राजनीतिका अन्य मुद्दालाई सम्बोधन गर्छ ।
कार्यकालको सीमाको उपयोगिताको सबैभन्दा राम्रो उदाहरण अमेरिकामा पहिलेदेखि कार्यान्वयन भइरहेको छ, जुन राष्ट्रपतिको दुई कार्यकाललाई लिन सकिन्छ । तर, यस व्यवस्थाले पनि बूढा नेताहरू बाइडेन र ट्रम्पको उम्मेदवारीलाई रोक्न नसक्नुलाई यसको असफलताको रूपमा हेर्न हुँदैन । बहसमा रहेका ट्रम्प पुनः अर्को कार्यकालका लागि लड्न अयोग्य हुनुपर्ने गम्भीर कारणको तुलनामा उनको उमेर न्यून चासोको विषय हो । जहाँसम्म बाइडेनको कुरा छ, उनका प्रतिद्वन्द्वीले बनाएका झुटा मिमभन्दा पर हेर्ने हो भने उनमा अर्को चार वर्ष शासन गर्न नसक्ने गरी मानसिक र शारीरिक क्षमतामा ह्रास भएको कुनै स्पष्ट संकेत भेटिँदैन ।
वयोवृद्ध कंग्रेस सदस्यहरू आफ्नै उमेर समूहनजिकका मतदाताको समस्यामा बढी केन्द्रित हुन्छन् । जसले युवा मतदाताको प्राथमिकताका थप जल्दाबल्दा मुद्दा ओझेलमा पर्छन् ।
निश्चित रूपमा उमेरसँगै हामी सबैमा विभिन्न प्रकारका ह्रास आउन थाल्छ । तर, व्यक्तिपिच्छे काम गर्नै नसकिने गरी ह्रास आउने उमेरमा भने उलेख्य भिन्नता भेटिन्छ । त्यस्तोमा सबैलाई लागू हुने गरी एउटै अधिकतम उमेर हद रोक्न कठिन हुन्छ । राष्ट्रपतिले दुई कार्यकाल मात्र सेवा गर्न पाउने व्यवस्थाले वृद्ध उम्मेदवारको खतरालाई केही हदसम्म रोक्छ । साथमा उम्मेदवारमध्ये को बढी सक्षम छ भन्ने निर्णयको अधिकार मतदातामा दिइएको छ, त्यो विवेक तिनले प्रयोग गर्न सक्छन् ।
अमेरिकामा राष्ट्रपतिबाहेक अन्य निर्वाचित पदमा कार्यकालको सीमा नहुँदा कैयौँ समस्या आइरहेका छन् । उदाहरणका लागि अमेरिकाको संसद्(कंग्रेस) सदस्यको औसत उमेर ऐतिहासिकस्तरमा माथि पुगेको छ ।वृद्ध कंग्रेसको मुख्य समस्या तिनको घट्दो मानसिक समस्याभन्दा पनि तिनको प्राथमिकताले सिर्जना गर्ने गर्छ । वयोवृद्ध कंग्रेस सदस्यहरू आफ्नै उमेर समूहनजिकका मतदाताको समस्यामा बढी केन्द्रित हुन्छन् । जसले युवा मतदाताको प्राथमिकताका थप जल्दोबल्दो मुद्दाहरू ओजेलमा पर्छन् ।
अहिलेका लागि जलवायु परिवर्तन र सामाजिक सञ्जालको नियम त्यस्तै मुद्दा हो । तथापि केहीले कंग्रेसका सदस्यको औसत उमेर वयोवृद्ध बन्दै गएको अमेरिकी जनसंख्याको बनावटको प्रतिबिम्ब भएको तर्क पनि गर्न सक्छन् । र, राजनीतिज्ञको उमेरमा मात्र केन्द्रित हुँदा थप महत्वपूर्ण अन्य मुद्दा अर्थात् स्थापित नेताको मुद्दा छायामा परेको छ । हामीमध्ये धेरैले महसुस गरेको कुरा हो, अमेरिकामा विद्यमान सांसद पुनः निर्वाचित हुने सम्भावना बढी छ । तर, त्यसको परिणाम भने धेरैलाई थाहा नहुन सक्छ ।
सन् २०२२ को निर्वाचनको स्थितिबारे ‘ब्यालटपेडिया’ले गरेको रिपोर्टिङमा करिब ९८ प्रतिशत कंग्रेस सदस्य पुनः निर्वाचित भएको देखिएको छ । आखिर यति विशाल संख्यामा सांसद कसरी पुनर्निर्वाचित भएर आउँछन् । नयाँलाई भन्दा तिनलाई दुई लाभ बढी हुन्छन् : सांसदका रूपमा धेरैमाझ परिचित नाम हुनु र सांसद भएकाले चुनावका लागि विशाल कोष जम्मा गर्न सक्ने क्षमता हुनु । (पछिल्लो फाइदाले फेरि ठूला दाताको विधायकमाथिको प्रभाव र त्यसबाट तिनले उठाउन सक्ने नाजायज फाइदाको विषय उठाउँछ, जुन बहसको अर्को पाटो हो ।)
संसद्को प्रतिनिधित्व मतदाताको उमेर, आवश्यकता र चासो प्रतिबिम्बित गर्ने गरी बनाउन सांसदको दुई कार्यकालको आवश्यकता हुन्छ । तथापि विधायकहरूको कार्यकाल सीमाले कुशासन र भ्रष्टाचारको समस्या भने समाधान नगर्ने देखिएको छ । अमेरिकाका प्रदेशहरूमा गरिएको अध्ययनले प्रदेश विधायकहरू पुनः निर्वाचित नहुने सम्भावना रहँदा तिनले खर्च र भ्रष्टाचार बढी गर्ने सम्भावना देखाएको छ । यस समस्यालाई सम्बोधन गर्न दुई कार्यकालपछि उम्मेदवारी दिन नपाउने व्यवस्था गर्नुभन्दा सांसदले एक कार्यकालपछि अर्को एकपटक चुनावमा उठ्न नपाउने व्यवस्था गर्न सकिन्छ । यसले ती नेता फेरि चार वर्षपछि चुनाव उठिहाले भने उनी विद्यमान सांसद हँुदाको लाभबाट वञ्चित हुन्छन् र प्रतिस्पर्धीबीचको आधार समान रहन्छ ।
कार्यकालको सीमाको कार्यान्वयनका कैयौँ कठिनाइ आइपर्नेछन् । पहिलो त सांसदको कार्यकाल सीमा तोक्ने क्षेत्राधिकार तिनै विधायकको काँधमा छ, जसले वर्तमान अवस्थाबाट सबैभन्दा बढी फाइदा उठाइरहेका छन् । त्यसैले उनीहरूको चाहना त यथास्थिति टिकाइराख्नुमा हुन्छ । विधायकहरूले कार्यकाल सीमा तोक्ने कानुन बनाइहाले भने पनि तिनले ‘कानुन कार्यान्वयन भएपछि यस्तो व्यवस्था हुनेछ’ भन्ने बुँदा राख्न चाहनेछन् । यसले उनीहरूलाई थप कार्यकालका लागि छुट दिनेछ । अर्थात् विधायक आफूपछि आउने उम्मेदवारमाथि सीमा तोक्ने कानुन लगाउन खोज्नेछन् । तर, त्यसो भए पनि वर्तमान कंग्रेसले युवा मतदाताका लागि एक सुधारिएको प्रणालीको विरासत छाड्नेछन् ।
सुझबुझपूर्ण कार्यकालमाथिको सीमाले वासिंटनका कैयौँ समस्या सम्बोधन गर्न सघाउँछ । र, यस्तो ठूला राजनीतिक सुधार कहिल्यै पनि सहज हुँदैन । अझ त्यस्ता सुधारको कार्यान्वयन थप कठिन हुन्छ, जुन सुधारको कार्यान्वयन गर्नुपर्ने अधिकार यथास्थितिबाट फाइदा लिइरहेका समूहको हुन्छ । तथापि नागरिकप्रति उत्तरदायी विधायकले वर्तमान र भविष्यका भावी मतदाताप्रतिको तिनको जिम्मेवारी महसुस गरेर सुधारका लागि दबाब दिनुपर्छ । र, मतदाताले पनि सुधारको लागि दबाब सिर्जना गर्नुपर्छ ।
अल जजिराबाट