१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
मुना कुँवर काठमाडाैं
२०८० श्रावण ८ सोमबार ०६:४७:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाली नर्सलाई बेलायतमा चार लाख तलब

योग्यता पुगेका नर्सले २ कात्तिकसम्म आवेदन दिन पाउने, पहिलो चरणमा सयजनाको माग

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
२०८० श्रावण ८ सोमबार ०६:४७:००

बेलायतमा नर्सिङ पेसा गर्न जाने नेपालीले मासिक चार लाख रुपैयाँभन्दा बढी तलब सुविधा पाउने भएका छन् । बेलायतले अस्पताल र घरेलु बिरामी हेरचाका लागि नेपालबाट नर्स लैजाने प्रक्रिया सुरु गरेसँगै सेवा–सुविधाको पनि टुंगो लागेको हो ।

बेलायतस्थित ह्याम्पसायर अस्पताल (एनएचएस फाउन्डेसन ट्रस्ट)ले नेपाली नर्सको माग गर्दै न्यूनतम पारिश्रमिक करिब चार लाख रुपैयाँ तोकेको हो । सो अस्पतालले सुरुवाती चरणमा एक सय नेपाली नर्सको माग गरेको छ । बेलायतको नियमअनुसार अतिरिक्त सेवामा पनि खट्न पाउने भएकाले नेपाली नर्सले चार लाख रुपैयाँभन्दा पनि बढी आम्दानी गर्न सक्नेछन् । 

अस्पतालको मागबमोजिमका नर्स आपूर्ति गर्न वैदेशिक रोजगार विभागले शुक्रबारदेखि आवेदन खुला गरेको छ । योग्यता पुगेका नर्सले आगामी २ कात्तिकसम्ममा आवेदन बुझाउन सक्ने विभागका प्रवक्ता गुरुदत सुवेदीले जानकारी दिए । अगस्ट २०२२ मा नेपाली नर्सले बेलायतमा औपचारिक रूपमा काम गर्न पाउने गरी दुवै देशबीच सरकारीस्तरमै सम्झौता भइसकेको छ । सोही सम्झौताअनुसार बेलायतमा नर्सिङका लागि जाने नेपालीको छनोट प्रक्रिया वैदेशिक रोजगार विभागले गर्न लागेको छ ।

विभागले बेलायतको अस्पतालले तोकेको योग्यताका आधारमा नेपाली श्रमशक्तिको छनोट गर्न लागेको प्रवक्ता सुवेदीले जानकारी दिए । ‘बेलायत र नेपालबीच जिटुजीमार्फत श्रमिक पठाउने सम्झौता भएको छ । त्यसैले श्रमिक छनोट विभागले गर्नेछ,’ उनले भने । फाउन्डेसनका अनुसार बेलायत जाने नर्सले सातामा साढे ३७ घन्टा काम गर्नुपर्नेछ भने वार्षिक २७ दिन बिदा पाउनेछन् । त्यस्तै, बेलायतले सरकारीस्तरमा दिएकोे सार्वजनिक बिदासमेत नेपाली नर्सहरूले उपयोग गर्न पाउनेछन् ।

न्यूनतम तीन वर्षको श्रम सम्झौता गरी बेलायतले नेपाली नर्स लिने टुंगो लागेको छ । त्यस्तै, बेलायत पुगेको पहिलो तीन महिनासम्म नेपाली नर्सलाई निःशुल्क आवास प्रदान गरिनेछ । रोजगारदाताले चाहेमा बेलायतको नियमअनुसार श्रम अवधि लम्बाउन सक्नेछन् । 

बेलायत रोजगारीका लागि पुरुष नर्सले पनि आवेदन दिन पाउनेछन् । ह्याम्पसायर हस्पिटलले रोजगारीमा जानका लागि लैंगिक विभेद नहुने जनाएको छ । त्यस्तै, उमेरको हदबन्दी पनि राखिएको छैन । जुनसुकै उमेर समूहका नर्सले पनि आवेदन दिन पाउँछन् । 

बेलायत जानका लागि विभागले लिने परीक्षामा छनोट भएका नर्सको भिसा शुल्क, आइएलटिएस परीक्षा शुल्क, ओइटी परीक्षा शुल्क, एनएचएस दर्ता शुल्कलगायत रोजगारदाताले शोधभर्ना गरिदिने प्रावधान रहेको विभागले जनाएको छ । नर्सले वैदेशिक रोजगार बोर्डमा कल्याणकारी कोषको शुल्क मात्रै व्यहोर्नुपर्नेछ । तर, छनोट नभएका नर्सको हकमा भने रोजगारदाताले कुनै पनि शुल्क भुक्तानी गर्नेछैन । 

नर्सलाई यस्ता सुविधा हुनेछन्
बेलायतले नेपाली नर्सलाई ‘सहायक स्वास्थ्य हेरचाहकर्मी’को दर्जा दिने भएको छ । छनोट भई बेलायत पुगेका यस्ता नर्सले आठ महिनाभित्र स्वास्थ्यसँग सम्बन्धित व्यावहारिक वस्तुपरक परीक्षा (ओएससिई) उत्तीर्ण गर्नुपर्नेछ । नर्सले यस्तो परीक्षा तीनपटकसम्म दिन पाउनेछन् । परीक्षा उत्तीर्ण नगरेमा सहायकका रूपमा काम गर्नुपर्नेछ । परीक्षा उतीर्ण गरेपछि बेलायतको नर्सिड एन्ड मिडवाइफरी काउन्सिल (एनएचएस)मा पनि दर्ता हुनुपर्नेछ । यसरी एनएचएसमा दर्ता भएका नर्सले सबै सेवा–सुविधा पाउनेछन् । साथै, पेन्सनको सुविधा पनि पाउनेछन् । त्यस्तै, नर्स र आश्रित परिवारका सदस्यलाई सार्वजनिक स्वास्थ्य सेवामा पहुँचको सुविधा हुनेछ । साथै, नर्सका चारदेखि १८ वर्षसम्मका छोराछोरीका लागि निःशुल्क शिक्षासमेत उपलब्ध हुनेछ ।

 यस्तो छ मापदण्ड
आवेदन दिने नर्स अंग्रेजीमा दख्खल भएको हुनुपर्नेछ । इन्टरनेसनल इंग्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आइएलटिएस) परीक्षा दिएका नर्सले औसतमा ७ स्कोर ल्याउनुपर्ने हुन्छ । बोल्ने, पढ्ने र सुन्ने क्षमतामा पनि अनिवार्य ७–७ अंक ल्याएको हुनुपर्नेछ । अंग्रेजी लेखनमा भने ६.५ अंक ल्याए उत्तीर्ण हुन सकिन्छ । अकुपेसन इंग्लिस टेस्ट (ओइटी) परीक्षा दिएका नर्सको हकमा भने औसतमा बी ग्रेड ल्याए पनि मान्यता पाउनेछन् । तर, पढ्ने, बोल्ने र सुन्ने क्षमतामा भने अनिवार्य बी ग्रेड हुनैपर्छ । अंग्रेजी लेखनमा भने ‘सी’ ग्रेड भए पनि मान्यता पाउनेछन् ।

आवेदन दिनका लागि नेपाली नागरिकता र पासपोर्ट भएको हुनुपर्नेछ । स्टाफ नर्स, बिएससी नर्सिड,  बिएन गरेका नर्सले आवेदन दिन पाउनेछन् । त्यस्तै, आवेदकले नेपाल सरकारबाट आधिकारिकता प्राप्त विश्वविद्यालयबाट नर्सिङमा मास्टर्स गरेको र नर्सिड काउन्सिलबाट लाइसेन्स भएको हुनुपर्ने मापदण्ड छ  ।

आवेदन दिँदाको अवधिमा नेपाल सरकाबाट अनुमतिप्राप्त हस्पिटलमा कम्तीमा दुई वर्षको कार्यानुभवसमेत हुनुपर्नेछ । तर, आपराधिक पृष्ठभूमि भएका तथा बेलायतमा गैरकानुनी रूपमा काम गरिरहेका नर्सले आवेदन दिन पाउनेछैनन् । 
इच्छुक आवेदकले वैदेशिक रोजगार विभागको बेवसाइटमा राखिएको फाराम भर्नुपर्नेछ । प्राप्त आवेदनमाथि विभागले भेरिफाई गर्नेछ । योग्यता पुगेका आवेदनलाई विभागले छनोट गरी अन्तर्वार्ताका लागि बोलाउनेछ । विभागको अन्तवार्तामा छनोट भएका नर्स बेलायतमा रोजगारीका लागि जान सक्नेछन् ।