
पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिस्टहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन्। आइतबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले यस्तो आह्वान गरेका हुन्।
उनले समाजवादी मोर्चा बनाउनु राम्रो भए पनि एक–दुईवटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने दाबी गरे। नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको निर्माण कम्युनिस्ट मोर्चाहरू मिलेर मात्रै सम्भव रहेको बताए।
लोकतान्त्रिक मूल्य, मान्यताको समाजवाद, समृद्ध समाजवादका लागि सबै नेपाली कम्युनिस्टहरू एउटा मोर्चामा आउन जरुरी रहेको बताउँदै उनले समाजवादी मोर्चामा दुई–तीनवटा पार्टी मात्रै नभई नेकपा एमाले, मोहन वैद्यलगायतका अन्य छरिएर रहेका कम्युनिस्ट पार्टीहरू एक हुनुपर्नेमा जोड दिए।
नेता गौतमले पुष्पलालले देखेको सपना साकार पार्न कम्युनिस्ट पार्टीहरू एक भएर शक्ति आर्जन गर्नुपर्ने बताए।