१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ५ शुक्रबार
  • Monday, 01 July, 2024
२o८o श्रावण ५ शुक्रबार १o:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

रैथाने आलु प्रवर्द्धन गर्दै मालिका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ५ शुक्रबार १o:३o:oo

गुल्मीको मालिका गाउँपालिकाले स्थानीय रैथाने आलु प्रवर्द्धन सुरु गरेको छ । बिहीबारदेखि मालिका गाउँपालिका–४ को अर्खाबांगमा उत्पादन हुने रैथाने आलुलाई ब्रान्ड, लेबल र प्याकेजिङ गरेर बजारमा ल्याइएको हो । 

जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले स्थानीय उत्पादनको प्रवर्द्धनमा मालिका गाउँपालिकाले देखाएको सक्रियता प्रशंसनीय भएको बताउँदै दीर्घकालीन योजना आवश्यक रहेको बताए । जिल्लासहित बुटवलका बजारहरूका घर–घरबाट लामो समय आलु बिक्री हुने गरेको भए पनि पालिकाले व्यवस्थित रूपमा प्रवर्द्धन गर्न थालेको मालिका गाउँपालिकाका उपप्रमुख उपेन्द्र अर्यालले बताए । तम्घासमा तोकिएका पसल र हाटबजार तथा बुटवलको हाटबजारसँगै काठमाडौंबाट समेत आलु बिक्रीको व्यवस्थापन गरिएको अर्यालले जानकारी दिए ।

‘मालिकाको पहिचान रैथाने र अर्गानिक आलुको उत्पादन’ भन्ने नारा राखेर पाँच केजी, १० केजी र २० केजीका बोरामा प्याकेजिङ गरिएको छ । आलु प्रवद्र्धनको अभियान र क्रियाकलापमा स्थानीय किसानहरू नै उत्साहित भएकाले दीर्घकालीन रूपमा काम अगाडि बढ्ने मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए । किसानको उत्साह, आवश्यकता र मागका आधारमा उत्पादन, भण्डारण र बजार व्यावस्थापनको काममा पालिकाले काम गर्ने खनालको भनाइ छ ।  

कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले भने, ‘लेकको चिसो हावापानीमा फल्ने आलु आफैँमा स्वादिष्ट छ । केही वर्षभित्र आलुको संरक्षण नगरे बाहिरको आलुले रैथाने आलु विस्थापन हुने भएकाले पालिकाले सही समयमा रचनात्मक कामको सुरुवात गरेको छ ।’ रैथाने सेतो आलु एक वर्ष लगाएपछि वर्षौँ फल्ने र हावापानीको हिसाबले अर्खबाङ ज्यादै महत्वपूर्ण भएकाले किसानको उत्साहलाई मर्न दिन नहुनेमा भण्डारीले जोड दिए । 

मालिका गाउँपालिकाको वडा नं ३ र ४ लाई समेटेर आलु पकेट क्षेत्र विस्तार गरिएको छ । कृषि ज्ञानकेन्द्रले लामो समयदेखि किसानलाई बिउमा अनुदान र प्राविधिक सहयोग दिंँदै आएको कृषि ज्ञानकेन्द्र प्रमुख भण्डारीले बताए । मालिकाको करिब ६ सय ६० रोपनी आलु पकेट क्षेत्रमा तीन सय टनभन्दा धेरै आलु उत्पादन भएको छ । गाउँपालिकाको समृद्धिको आधार नै कृषि भएकाले आफूहरू सधैँ कृषकको पक्षमा रहेको मालिका गाउँपालिका प्रमुख देवीराम अर्यालले बताए । 

ad
ad
ad
ad